खेलकुद

‘पल्सर स्पोर्टस् अवार्ड’ आज

काठमाडौँ । सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ वितरण आज हुँदैछ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा अपरान्ह साढे ४ बजे सुरु हुनेछ ।

अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् ।

‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केट बलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका छन् । यस्तै वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् ।

यसैगरी वर्ष महिलातर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् । वर्ष युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बू मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन परेका छन् ।

यस्तै वर्ष प्रशिक्षकतर्फ उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्की मनोनयनमा परेका छन् ।

वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही रु ५० हजारसहित पुरस्कृत गरिने छ । वर्षको उत्कृष्ट खेलाडी युवा, महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट टोली, पिपल्स च्वाइस् र एसियन जर्नालिस्ट अफ द इएर अवार्ड प्रदान गरिने छ ।

पिपल्स च्वाइस् अवार्ड, स्पेशल र लाइभ टाइम एचिभमेन्टबाहेक अरू अवार्ड अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा प्रदान गरिने छ ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट सोमबार राति १२ बजेसम्म गरिएका भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका पत्रकारको भोट तथा राष्ट्रिय सङ्घका मुख्य प्रशिक्षकको भोटका आधारमा हुने छ । सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था भएकाले सिमित व्यक्तिको उपस्थितिमा सो अवार्ड कार्यक्रम भर्चुअलमार्फत हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *