धर्म/सस्कृति

प्रचारप्रसार नहुँदा ओझेलमा खाँडादेवी मन्दिर

बनेपा । प्रचारप्रसारका अभावमा ओझेलमा खाँडादेवी मन्दिर मानिस मनोकांक्षा पूरा गर्नका लागि विभिन्न शक्तिपीठमा भाकल गर्ने र दर्शनका लागि जाने गर्दछन् । जसले सोचेको कुरा पूरा हुने र मनोकांक्षालाई पूर्णता दिने आशाका साथ शक्ति पीठमा जाने गरिन्छ । काभ्रेपलाञ्चोकको विकट कोसीपारिस्थित चौरी देउराली गाउँपालिका–२ दूतिमा रहेको खाँडादेवी मन्दिर जहाँ दर्शन गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

स्थानीय बासिन्दा देव हादुर प्रधानका अनुसार सो मन्दिरमा पूजा र दर्शन गर्नका लागि टाढाटाढाबाट दर्शनार्थी खाँडादेवी मन्दिर पुग्ने गरिन्छ । पहिला पहिला पैदल हिँडेरै आउने गरेको भए पनि पछिल्लो समयमा सडक सञ्जालले जोडेको कारण भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै गएको उनको भनाइ छ । सडक सञ्जालले जोडेपछि भक्तजनहरु पछिल्लो समयमा गाडी नै ‘रिजर्भ’ गरेर मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् ।

अर्का स्थानीय बासिन्दा मीन बहादुर प्रधानका अनुसार वर्षको दुई पटक त स्थानीय बासिन्दाले पूजाआजा गर्नुका साथै दसैँमा पाँच दिनसम्म मेला लाग्ने गरेको बताए । विशेषगरि दसैँको बेलामा मेलासमेत लाग्ने गरेको मन्दिरमा पूजा र दर्शनका लागि भक्तजन आउने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

परेवा, भाले र पाठी ल्याएर पूजा गर्ने गरेको भाकल पूरा हुने जनविश्वासका कारण खाँडादेवी मन्दिरको दर्शन गर्न आउने गरेको दर्शनार्थी बताउँछन् । मन्दिरमा दर्शन गर्नका लागि रामेछाप जिल्लाको दोरम्बा र काभ्रेपलाञ्चोक जिल्लाको कोसीपारी क्षेत्रका बासिन्दा, काठमाडौं, ललितपुर, भक्तपुर तथा अन्य जिल्लाका भक्तजन मन्दिरमा दर्शन गर्न आउने गरेको भए पनि प्रचारप्रसार र यातायातको सुविधा नभएका कारण अझ धेरै मानिस आउन नसकेको चौरी देउराली गाउँपालिका–५ का वडाध्यक्ष राज कुमार गौतमले बताए ।

“प्रचारप्रसारको कमीका कारण यहाँका महिमा र शक्ति पीठबारे जानकारी नभएका कारण भक्तजन आउन सकिरहेका छैनन्”, उनले भने, “यसअघि पहिलादेखि नै आउने र उहाँबाट थाहा पाउने मात्रै मन्दिर दर्शनमा आउने गरेको पाएका छौं ।” महत्वपूर्ण शक्तिपीठ भए पनि ओझेलमा परेको दूर्गम ठाउँ भएकाले त्यसको लागि सडक सञ्जालको व्यवस्थापन र मन्दिरलाई थप व्यवस्थित गराउन गाउँपालिका लागिरहेको गौतमले बताए ।

त्यसरी महत्वपूर्ण मानिएको शक्ति पीठमा विसं २०७२ मा गएको भूकम्पले क्षति पुर्याएपछि मन्दिर पुनर्निर्माणका कामसमेत भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र पर्ने प्रसिद्ध मन्दिरलाई थप व्यवस्थित गर्नको लागि गाउँपालिकाको पहलमा पुरातत्व विभागबाट रु २० लाख बजेट विनियोजन गरी पुरातात्विक ढङ्गले पुनर्निर्माणको प्रक्रिया अगाडि बढिसकेको वडाध्यक्ष राज कुमार गौतमले जानकारी दिए ।

गाउँपालिकाले रु दश लाख बजेटको व्यवस्थापन गरी मर्मत गरिरहेको उनले बताए । धार्मिक पर्यटनको हिसाबले पनि अत्यन्तै सम्भावना बोकेको ठाउँ भएकाले पनि त्यसको तप विकास र प्रवर्द्धनको काममा गाउँपालिकाले योजना बनाएर अगाडि बढ्ने योजना बनाइरहेको र थप बजेटको व्यवस्थापन गर्ने गाउँपालिकाले जनाएको छ ।

त्यससँगै पर्यटन पदमार्ग निर्माण गर्नको लागि प्रदेश सरकारबाट रु ३० लाख बजेट विनियोजन गरिसकेको त्यसमा पालिकाले पनि थप सहयोग गर्ने भएको उनले बताए । मन्दिरसम्म जानका लागि बाटोको सहजता बनाउन र शौचालयको व्यवस्थापन गर्न गाउँपालिकाले तत्काल कार्य अगाडि बढाउने तयारीमा रहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *