शिक्षा / स्वास्थ्य

गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयमा निःशुल्क पुस्तक

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका १६ सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएको छ । समाजसेवीत्रय दीप कुमार भण्डारी, डा. लक्ष्मण आचार्य र धनप्रसाद लामिछानेको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको हो ।

हस्तान्तरणका अवसरमा समाजसेवीत्रयले एक स्वरमा सानै कक्षाबाट पठनपाठन संस्कृति सुरु गरिए मात्र त्यसको दीर्घकालीन प्रभाव पर्ने धारणा राखे । करिब रु छ लाखको लागतमा कक्षा ३ सम्मका विद्यार्थीका लागि कक्षाकोठामा नै राख्ने गरी जीवनोपयोगी पुस्तक उपलब्ध गराइएको समाजसेवी भण्डारीले बताए । विज्ञबाट छानिएका पुस्तकको अध्ययनसँगै स–साना विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।

शिक्षाविद्समेत रहेका डा. आचार्यले विद्यार्थीमा पठन संस्कृति बढाउनका लागि शिक्षक शिक्षिकाको इमान्दार प्रयास उत्तिकै जरुरी रहेको बताए । विद्यार्थीको स्तरअनुसारको पुस्तक पढ्न दिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसकेको आचार्यको भनाइ थियो । अर्का समाजसेवी लामिछानेले शैक्षिकस्तरको अभिवृद्धिबिना समृद्ध समाजको परिकल्पना गर्नै नसकिने बताए ।

नगरपालिकामा मंगलबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्यलगायतले विद्यार्थीमा पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । सामुदायिक विद्यालयबाट सुरु गरिएको अभियान फलदायी हुनेमा आफूहरु आशावादी रहेको समाजसेवीत्रयको विश्वास छ । सहयोगी मन सामुदायिक अध्ययन केन्द्रको संयोजकत्वमा भएको कार्यक्रम नगरपालिकाले आयोजना गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *