
काठमाडौं । रुसले कोरोना भाइरसविरुद्धको खोप नेपाललाई दिन तयार भएको छ । रुसले दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार भएको हो । रुसको विदेश मन्त्रालयले स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको जनाएको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले उल्लेख गरेको छ ।
रुसले विकास गरेको स्पुतनिक–भी खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको बताइएको छ । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोज १० अमेरिकी डलर तोकिएको छ ।
यो खोप रुस, बेलारुस, अर्जेन्टिनालगायतका देशमा दिन थालिसकिएको छ । ५० भन्दा बढी मुलुकले यसको डेढ अर्ब डोज माग गरिसकेका रुसले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आजै खोप अभियानका लागि सहयोग गर्न आह्वान गरेको थियो । गोरखापत्रमा सूचना प्रकाशित गरेर मन्त्रालयले यस्तो आह्वान गरेको थियो ।