रिबन

छोराछोरीको डेब्युमा शिव श्रेष्ठ र करिश्मा मानन्धरबीच झगडा

काठमाडौं । दस महिनापछि आज (माघ १ गते) देखि नेपाली सिनेमा हल खुला भएका छन् । आजदेखि दर्शकले नयाँ नयाँ सिनेमा हलमा गएर हेर्न पाउने भएका छन् ।

बन्द सिनेमा हल खुलाउन अभिनेता शिव श्रेष्ठ निकै कुदाकुद गरे । कारण थियो उनका छोराको डेब्यु । यससँगै अभिनेत्री करिश्मा मानन्धरकी छोरीले पनि ठूलो पर्दामा डेब्यु गर्दैछिन् । ‘एउटा यस्तो प्रेमकहानी’ चलचित्रमार्फत शक्ति श्रेष्ठ र कविता मानन्धर डेब्यु गर्न लागेका हुन् ।

तर, आफ्ना छोराछोरीको डेब्युमा खुसी हुनुपर्ने बेला अभिनेता शिव श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरबीच लफडा भएको छ । यही लफडाका कारण आफूले खेलेको चलचित्र रिलिज नहुँदै करिश्माकी छोरी कविता अमेरिका पुगेकी थिइन् । र, डेढ वर्षपछि फर्केकी छन् ।

कविताका बाबु विनोद मानन्धरका अनुसार चलचित्रको पूरा सुटिङ भएको थिएन । डबिङ पनि गरेको छैन । टुक्राटुक्रामा सुटिङ गरिएको थियो । उनी भन्छन्, ‘डबिङ कसलाई गराएको हो थाहा छैन । मेरी छोरीलाई आफैँ डेब्यु गराउने सुरमा थिएँ । अहिले त चलचित्र नै नगर्ने भन्छिन् ।’ आधा सुटिङ गरेर अमेरिका फिरेकी कविता सुटिङका लागि नेपालमा आएको र यसबीचमा डेढ वर्ष पनि बितिसकेको विनोदको भनाइ छ ।

चलचित्रमा कविता र शक्तिको अलवा शिव श्रेष्ठ, प्र्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, निरन खड्कालगायत कलाकारको अभिनय रहेको छ ।

करिश्माले यस्तो कोरोना महामारीका बेला चलचित्र रिलिज नगर्न आग्रह गर्दा अभिनेता शिव श्रेष्ठले ‘तिम्री छोरी यस्ती मोटी छ, कसले डेब्यु गराउँथ्यो होला’ भनेपछि मनमुटाव सुरु भएको सिने क्षेत्रमा चर्चा छ । बुझिएअनुसार ‘एउटा यस्तो प्रेमकहानी’ दुई भागमा निर्माण भइरहेको छ । चलचित्रको निर्देशन दिपेश सापकोटाले गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *