धर्म/सस्कृति

आज नुवाकोटको तारुकामा गोरु जुधाइ जात्रा

नुवाकाेट । नेपालमा लोकतन्त्र प्राप्तिपछि हरेक जातीय ,भाषिक र भेगीय समूहमा आएको जागरणका कारण आफ्नो मौलिक परम्परा र आचरण व्यवहारहरुको पहिचान गरी आफ्नै खाले जीवन शैलीको स्थापना गर्ने अभ्यास सर्वत्र व्याप्त छ ।

कुनै पनि स्थान वा जाति कला, साहित्य,संगित, आचरण ,व्यवहार ,बौद्धिकता आदि वा यसलाई मौलिक पहिचान दिनसक्ने विशेषता नै संस्कृति हो । नुवाकोट जिल्ला ऐतिहासिक धरोहर मात्र नभएर जातीय , भाषिक र सांस्कृतिक विविधता भएको जिल्ला हो । यिनै विविधताभित्र रहेका मौलिक परम्परा ,कलाकृति,चालचलन र जीवन शैली नै हाम्रा आकर्षणका केन्द्रहरु हुन् । हाम्रा पहिचानका रुपमा रहेका भाषा ,साहित्य,संस्कृति र मौलिक परम्पराहरुको संरक्षण र उत्थानका निम्ति लेखक / अन्वेषकहरुको योगदान उच्च मान्नु पर्छ ।

नुवाकोटका विविध सांस्कृतिक परम्परामध्ये गोरु जुधाइ जात्रा एक हो । हजारौं दर्शकहरुको बीच यो जात्रा सम्पन्न हुने गरेको छ । मावला आएका आफ्ना भान्जा बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका निम्ति माघे संक्रान्तिका दिन गोरु जुधाएर थालनी गरिएको परम्परा निरन्तर रूपमा मनोरञ्जन , भेटघाट र मित्रता नवीकरण गर्ने अवसरका रुपमा विकासित हुँदै आएको छ । पहिले पहिले तारुकाको विभिन्न स्थानमा गोरु जुधाउने गरिन्थ्यो तर २०६२ बाट एकै ठाउँमा अर्थात् चन्दनीको कटर बोटमा नियमित रुपमा गोरु जुधाइ जात्रा सञ्चालन गर्दै आएको छ ।

तारुकेली किसानहरु माघे संक्रान्तिमा जुधाउनकै निम्ति बर्ष भरि बहर गोरुलाई अण्डा , मकै, चामल, भटमास ,कोदो , मास ,खोलेजस्ता पोसिलो खाद्यान्न खुवाएर विशेष स्याहारपूर्वक पाल्दाेरहेछन् । प्रतियोगितामा पुरस्कृत हुनका निम्ति नभएर आफ्नो सांस्कृतिक परम्पराको जगेर्नाका निम्ति आफ्नो परम्परा लाई मौलिक पहिचान दिँदै पशु जुधाइको आनन्द लिन यहाँका बासिन्दाहरु गोरु जुधाउन आउँदा रहेछन् । बारीको ठूलो पाटोमा एकपछि अर्को हल गर्दै गोरुहरु जुधाइन्छ । हारजितको निर्णय पश्चात् विजेता घोषण गरी पुरस्कृतसमेत गरिने भएकोले यस कार्यक्रमलाई अरु रोमाञ्चक बनाएको प्रत्याभूति हुन्छ ।

गोरु जुधाइको प्रत्यक्ष अवलोकन गरी भरपुर मनोरन्जन प्राप्त गर्न नुवाकोट ,धादिङ ,रसुवा,ललितपुर ,भक्तपुर र काठमाडौबाट हजारौ दर्शकहरुको उपस्थिति रहन जान्छ । यस्तो विशिष्ट सांस्कृतिक महत्त्व बोकेको गोरु जुधाइ जात्रालाई राष्ट्रिय स्तरसम्म परिचित गराउन सकेमा विदेशी टेलिभिजन च्यानलमा “बुल फाइट “हेरेर मनोरञ्जन लिने लाखौ सहरिया दर्शकहरु गोरु जुधाइको प्रत्यक्ष अवलोकन गर्न यसतर्फ आकर्षित हुने र नुवाकोट जिल्लालाई पर्यटन केन्द्रको रुपमा विकसित गर्न मद्दत पुग्ने कुरा निश्चित नै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *