फिचर

कालिगण्डकी करिडोरले फेरेको मुहार

बलेवा । दुई वर्ष पहिलासम्म बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्ती सडक सञ्जालविहीन थियो । जिल्ला सदरमुकाम बागलुङ बजारबाट दक्षिण जोडिएको सडक कुश्मीशेरा बजार हुँदै बरेङतर्फ लाग्छ । जिल्लाको दक्षिण क्षेत्रको समेत दक्षिणमा पर्ने छिस्तीमा कुनै सडक सञ्जाल पुगेको थिएन । विकासका पूर्वाधारमा प्रमुख मानिने कच्ची सडकसमेत नभएकाले यहाँका सर्वसाधारण समस्यामा थिए ।

छिस्तीका प्रकाश पौडेल अहिले बुलेरो पिकअप भ्यान चढेर घरमै पुग्छन् । सडक सञ्जाल नभएका कारण यातायातका साधन प्रयोग गर्न उनलाई यसअघि पर्वतको फलेवास वा जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजार पुग्नुपर्ने बाध्यता थियो । विसं २०७५ मा कालिगण्डकी करिडोरको बागलुङ खण्डमा सामान्य मार्ग खोल्ने काम सकिएपछि छिस्तीले पहिलोपटक सडक देखेको हो ।

साविकका गाउँ विकास समिति हुने बेला कृषि सडक नाम दिइएको सडक छिमेकी गाविस जैदीमा पुगेर रोकिएको थियो । अहिले जैदी जैमिनी नगरपालिकाको वडा नम्बर ७ कायम भएको छ । स्थानीय सडक नाम दिइएको सडकसमेत जैदीकै व्यार्थलामा पुगेको थियो । करिडोर पुगेपछि छिस्तीमा पहिलो पटक सडकको पहुँच मात्रै विस्तार भएन, यहाँका बस्तीबस्तीमा सडक पुर्याउने लहर चल्यो । दुई वर्षका अवधिमा वडाका सबै बस्ती सडक सञ्जालसँग जोडिएको वडाअध्यक्ष विजय अधिकारीले बताए ।

साविकका गाउँ विकास समिति हुने बेला छिस्ती बागलुङका ५९ गाविसमध्ये तेस्रो ठूलो गाविस हो । संघीय संरचना लागु भएपछि पनि नगरपालिकाको एउटा मात्रै वडा कायम भएको छ । करिडोरले सदरमुकाम र पालिका मुकामसँग जोडिएपछि अहिले छिस्तीका गाउँमा पुग्ने दर्जनौँ सडक बनेका छन् । “ठाउँठाउँबाट कच्ची ट्रयाक खोलेर करिडोरसँग सडक जोडिएको छ, अहिले सडकको समस्या रहेन”, स्थानीयवासी प्रकाशले भने, “हामीलाई सडक देख्न राष्ट्रिय गौरवकै आयोजना आउनुपर्यो ।”

करिडोरको सामान्य मार्ग खुलेपछि छिस्तीमा मात्रै नभइ जैमिनीका वडा नम्बर ५, ६ ७ र ८ मा पुग्ने दर्जनभन्दा बढी सडक करिडोरसँग जोडिएका छन् । राष्ट्रिय गौरवको आयोजना भएकाले करिडोरसँग नगरपालिकाको ठूलो अपेक्षा रहेको नगर प्रमुख इन्द्रराज पौडेलले बताए । करिडोरसँग जोडेर गाउँका सडकको विकास गरिइरहेको उनले बताए । अहिले नेपाली सेनाको निर्माण कार्यदलले करिडोर स्तरोन्नतिको काम गरिरहेको छ ।

जैमिनी नगरपालिकाले बाह्रै महिना चल्ने गरी साना वडामा एक र ठूला वडामा दुई सडकलाई दिगो सडक मानेको छ । सोहीअनुसार स्तरोन्नति भइरहेको करिडोरमा जोडेर नगरपालिकाले पाँच दिगो सडक निर्माण गरेको छ । “करिडोर नभएको भए मूल सडकसमेत हाम्रो जिम्मेवारी हुन्थ्यो,” नगर प्रमुख पौडेल भन्छन्, “मूल सडक भएकाले दिगो सडकका लागि मात्रै हाम्रो ध्यान केन्द्रित भएको छ ।” वर्षा याममा पछिल्लो पटक छिस्ती पुगेको कृषि र स्थानीय सडक बिग्रिँदासमेत करिडोरले भर नकाटेको स्थानीयवासीको भनाइ छ ।

करिडोर बनेपछि जैमिनीले पालिका मुकामलाई जिल्ला सदरमुकामसँग जोड्ने मूल सडकसमेत यसैलाई मानेको छ । संघीय सरकारसँग साझेदारी गरेर कालीगण्डकी करिडोरको जैमिनी घाटदेखि पालिका मुकाम कुश्मीशेरा बजारसम्म नयाँ सडक बनाइएको छ । समपूरक अनुदानमा साझेदारी गरेर नगरले सो सडक कालोपत्रेको कामसमेत थालेको नगर उपप्रमुख लीला रानाले बताइन् ।“यो हाम्रो आर्थिक उन्नतिको मार्ग हो, पर्यटन र व्यवसायका लागि करिडोरसँग जोडेर पूर्वाधार विकासका काम भइरहेका छन्”, उनले भनिन्, “आर्थिक गतिविधि सञ्चालन र त्यसबाट लिन सकिने उपलब्धि यो सडकसँग जोडिएको छ ।” करिडोरसँग जोडिएका बस्ती तथा सहायक सडक आसपासमा कृषि उद्यमको सम्भावना नगरपालिकाले देखेको छ । “दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्रीको सम्भावना देखेका छौँ, हाम्रा किसानले सोहीअनुसारको तयारी थाल्नुभएको छ”, नगर प्रमुख पौडेल भने, “कोरला र त्रिवेणी जोड्ने सडकले बजारीकरणमा सहज बनाउँछ ।” करिडोर सञ्चालनमा आएपछि जैदीको न्वारमा ससानो बजार विस्तार भएको छ । वडा नम्बर १ कुश्मीशेराको जैमिनीघाट र वडा नम्बर ८ को छिस्तीमा समेत बजार विस्तार भएको पौडेलले बताए ।

करिडोरले बागलुङ नगरपालिका खण्डमा समेत ठूलो प्रभाव पारेको छ । बागलुङ – १४ नारायणस्थानस्थित बलेवा विमानस्थलको सञ्चालनमा करिडोर लाइफलाइनका रुपमा रहेको स्थानीयवासी भरत पौडेल बताउँछन् । “यो सडक पक्की हुँदा विमानस्थल र यहाँको व्यापार व्यवसायमा ठूलो सहयोग गर्छ”, भरत भन्छन्, “ट्रयाक खुल्दा मात्रै यहाँको मुहार फेरिएको महसस भएको छ ।” कालीगण्डकी नदीमाथि बलेवा र कुश्मा जोड्ने गरी निर्माण भएका लामा र अग्ला झोलुङ्गे पुल, बञ्जी जम्प तथा बलेवा क्षेत्रमा रहेका पर्यटकीयस्थलको विकास तथा प्रचारमा सो सडकले सहयोग गर्ने स्थानीयवासी बताउँछन् ।

करिडोर सञ्चालनमा आएपछि सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोरला पुग्न सहज भएको छ । यद्यपि यो सडकको कयौँ स्थानमा थप स्तरोन्नतिको काम चलिरहेको छ । यो सडक हुँदै भारतीय पर्यटक कालीगण्डकी किनारैकिनार भएर मुक्तिनाथ र चिनियाँ पर्यटक सोही मार्ग हुँदै लुम्बिनी पुग्ने भएकाले आसपासका क्षेत्रमा व्यापार व्यवसाय र उद्यमको विकास हुने बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्री बताउँछन् । भारतको सुनौली नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने ३ सय ४५ किलोमिटर दूरीको करिडोर अहिलेसम्मकै छोटो मार्ग भएको करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराई बताउँछन् । कालीगण्डकी करिडोर मुख्य सडक सञ्जाल बनेपछि जैमिनी–८ छिस्ती, ७ जैदी, ६ अर्जेवा, ५ बिनामारे, १ कुश्मिशेरा, बागलुङ–१४ नारायणस्थान, १२ अमलाचौर, १० भकुण्डे र १३ पैयुँपाटालगायत दर्जनभन्दा बढी क्षेत्र सुगमसमेत भएका छन् ।

करिडोरका कारण यहाँको दिनचर्या नै फेरिएको छ । पुर्खौँदेखि भारतसँग जोडिएका बजारबाट लुगाफाटो, नुनतेललगायत दैनिक उपभोग्य वस्तु ल्याएर गुजारा चलाउनेहरूले अहिले व्यावसायिक सोच बनाउन थालेका छन् । “सडक छेउको व्यापार राम्रै हुन्छ, पहिले बाउबाजे नुन लिन बटौली (बुटवल) जान्थे, अहिले बुटवल जानेलाई खाजा खुवाउन पाइएको छ”, जैदिममा कोरिडोर छेवैमा होटल व्यवसाय गर्ने तमसम थापाले भने ।

करिडोरलाई व्यापारिक मार्गका रूपमा विकास गरेर विभिन्न ठाउँमा बस्ती बसाई बागलुङलाई व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने स्थानीयवासीको बुझाइ छ । जिल्लाका पुराना बजारभन्दा करिडोर छेवैमा रहेका नयाँ बस्ती र सडक आसपास बढी व्यापार हुन थालेको व्यापारी बताउँछन् । करिब ४३५ किमी दूरीको करिडोर नेपालको आर्थिक–सामाजिक विकासको मेरुदण्ड हुने देखिन्छ । विसं २०३९ देखि साधारण मार्ग खोल्न थालिए पनि लामो समय त्यत्तिकै अल्झिएको करिडोरको बागलुङ खण्डको काम रु ५० करोड खर्चेर नेपाली सेनाले सकेको हो । अहिले दोस्रो चरणको स्तरोन्नतिको काम चलिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *