सुदुरपश्चिम प्रदेश

‘बडघरका भलमन्सा’ चुन्ने चटारोमा थारु समुदाय

धनगढी । धनगढी उपमहानगरपालिकास्थित भादा गाउँका ३३ वर्षीय सन्तबहादुर चौधरीले गाउँको थारु समुदायमा ‘भलमन्सा’ को जिम्मेवारीमा रहेर काम गरेको ११ वर्ष पुगेको छ। एघार वर्षअघि थारु समुदायले आफ्नै शैलीमा गरेको मतदानको प्रक्रियाबाट उनले आफ्ना प्रतिस्पर्धी तीन जनालाई ५७ मतले पराजित गर्दै भलमन्सा पदमा विजयी भएका थिए।

निर्वाचित भएपछि वर्षेनी गरेको कामको मूल्याङ्कनका आधारमा गाउँवासीले उनलाई भलमन्साको जिम्मेवारी दिँदै आएका छन्। भादा गाउँ थारु समुदायको नमूनाको गाउँ पनि हो। शतप्रतिशत घरधुरी थारु समुदाय रहेको यो गाउँमा भादा होम स्टे (भादा गाउँ घरवास कार्यक्रम) सञ्चालन हुँदै आएकामा पछिल्लो पटक कोरोनाको कहरका कारण यो कार्यक्रम भने प्रभावित भइरहेको छ।

‘यस वर्ष पनि भलमन्सा छनोटका बारेमा भेला गर्ने तयारी भइरहेको छ’, पदको जिम्मेवारी बहन गरेबापत् पारिश्रमिकको रुपमा खाद्यान्न पाइरहेका उनले भने, ‘गाउँवासीको भेलाले गर्ने निर्णय आफूले मान्नै पर्ने हुन्छ।’

घरमा भाइहरुबीच अंशबण्डा हुँदा बढेको घरायसी जिम्मेवारीका कारण कैलालीको हसुलिया गाउँका भलमन्सा रामबहादुर चौधरीले तीन वर्षअघि नै गाउँको भलमन्साको जिम्मेवारी छोडेका थिए।

हाल भलमन्साको जिम्मेवारीमा रहेका भोला चौधरी पुनः उक्त पदमा बस्ने नबस्ने टुङ्गो माघ ३ गते हुने भेलाबाट लाग्ने उनले बताए। पदमा बसेर काम गर्न नसक्नेलाई भने पदमुक्त गरेर अर्को व्यक्तिलाई भलमन्साको जिम्मेवारी दिइने गरिन्छ। कतिपयले स्वेच्छाले पनि यो जिम्मेवारीबाट अलग हुने गर्छन्।
थारू समुदायमा मुख्य व्यक्तिको रुपमा रहने भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया अथवा गोला (चिट्ठा) प्रक्रिया अपनाएर प्रजातान्त्रिक ढङ्गले छनौट गर्ने गरिन्छ।

माघ महिना शुरु हुन लागेसँगै यतिवेला कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने चौधरी थारु समुदायमा ‘माघी’ अर्थात् माघे सङ्क्रान्ति पर्वको रौनक देखिँदा गाउँको मुख्य व्यक्ति ‘भलमन्सा’ को पदमा कस्तो व्यक्तिलाई छनौट गर्ने भन्ने विषयले प्राथमिकता पाउन थालेको छ।

कोरोनाको जोखिम हुनसक्ने भन्दै कतिपय बस्तीमा यस्तो भेला गर्न भने केही असहज भइरहेको बताइएको छ। माघी यो समुदायमा नयाँ वर्ष आरम्भका रुपमा उल्लासपूर्वक मनाउने गरिन्छ। माघीको पहिलो दिन हरेक घरमा सुँगुर र बंगुरको मासुको जोहो गर्नैपर्ने हुन्छ। थारु समुदायको खानाका परिकार ढिकरी, अन्डी भात खाने र नाचगान गरी रमाइलो गर्ने चलन छ।

पुरै वडाको हकमा निर्वाचित जनप्रतिनिधिको भूमिका रहने गरेको भए पनि समुदायको गाउँ टोलको हकमा भने बढी भूमिका परम्परागरुपमा गाउँको रेखदेख गर्नु पर्ने जिम्मेवारीमा रहने भलमन्साको हुने गरेको बताइन्छ।

माघीको रौनकसँगै आवश्यकताअनुसार ‘बडघर’ बैठकहरु बस्ने गरेका छन्। यस्ता बैठकमा वर्षदिनमा गाउँ टोलमा भलमन्साको नेतृत्वमा भएका कामको बारेमा आपसमा छलफल, विश्लेषण, गुनासो समेत हुनेगर्छ।

माघको पहिलो हप्ताभित्र अथवा ढिलोमा दुई हप्ताभित्रमा वर्षभरि भलमन्साको नेतृत्वमा गाउँमा भए गरेका कामको समीक्षा गर्ने, हिसाव किताव गर्ने र चुक्ता गर्ने, नयाँ खाता सञ्चालन गर्ने जस्ता काम पनि गरिन्छ। गाउँको मुख्य व्यक्तिको रुपमा भलमन्साका अलावा गुरुवा, चिराकी, चौकिदार, अघरियाजस्ता पदमा समेत विभिन्न व्यक्तिको छनोट गर्ने गरिन्छ।

‘गुरुवा’ (वैद्यको काम गर्ने) ले मानिस, गाईवस्तु र अन्न बालीमा देखिने रोगको समस्या समाधान गर्ने जिम्मेवारी वहन गर्नु पर्ने हुन्छ। ‘चिराकी’ ले देवस्थल र घरमा हुने शुभकार्यमा बत्ती बालेर पूजाको काम गर्छ। चौकिदारले आफ्नो गाउँठाउँमा कुनै कामका लागि भेला बोलाउनु परेमा गाउँका मान्छेलाई हाँक गर्ने (बोलाउने) काम र अघरियाले भलमन्साको सहायकको रुपमा काम गर्नु पर्ने परम्परा छ।

गाउँको भलमन्सा पदमा चुनिने व्यक्तिको घरलाई यो समुदायमा ‘बडघर’ को रुपमा चिन्ने गरिन्छ। बडघरले लाए अह्राएका कामहरु गाउँका अन्य सदस्यले मान्नुपर्ने हुन्छ। यस्तो प्रचलनका कारण नै गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने सदियौँदेखिको प्रचलन थारु गाउँमा रहने गरेको छ।

यस्तो परम्पराले गाउँको एकता र सामूहिकताको विकास हुने मात्र नभइ गाउँमा अनुशासन कायम गर्नमा टेवा पुग्ने गरेको थारु बुद्धिजीवी प्रभातकुमार चौधरी बताउनुहुन्छ। थारु गाउँमा सदियौँदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको बेग्लै महत्व र सम्मान हुने गरेको बताइन्छ। कामको मूल्याङ्कनका आधारमा निजलाई पुनः सोही पदको जिम्मेवारी प्रदान गर्ने गरिन्छ।

समग्र गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, विजुली बत्तीको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःख सुखमा सामूहिक सहयोग गर्ने गराउने जस्ता काम गाउँको नेतृत्वकर्ता (भलमन्सा) ले गर्ने गर्दछन्। भलमन्साको आदेशमा गाउँका यावत काम गर्नुपर्नेलाई ‘बेगारी’ जाने भनिन्छ। बेगारी जान नसक्नेले जरिवानासमेत तिर्नुपर्ने हुन्छ।

भलमन्सालगायतका पदमा काम गर्दै आएका व्यक्तिको ‘घर फाटे’ मा (अंशबण्डा भएमा) निजलाई सकभर उक्त पदको जिम्मेवारीबाट मुक्त गरिन्छ। अंशबण्डा भएर अलग घर बनाएर बस्नुपर्ने अवस्थामा निजले भलमन्सा र आफ्नो घरकोसमेत गरेर दोहोरो जिम्मेवारी बहन गर्न नसक्ने हुँदा भलमन्सा पदबाट मुक्त गर्ने गरिन्छ।

भलमन्सा पदको जिम्मेवारी वहन गर्ने अधिकांशले स्वयंसेवीका रुपमा काम गर्ने गरेका छन्। कतिपय गाउँमा भने यो पदमा बसेर काम गर्नेलाई समुदायको निर्णयअनुसार पारिश्रमिकको रुपमा खाद्यान्न उपलब्ध गराउने गरिन्छ। पछिल्ला वर्षमा समुदायमा रहेको सकारात्मक अभ्यास, परम्परा र संस्कृतिको संरक्षणका कामलाई अगाडि बढाउन टेवा पुर्याइरहेको यो प्रजातान्त्रिक पद्दति बडघर प्रथालाई जीवन्त राख्नुपर्ने आवाज उठ्न थालेको छ।

थारु संस्कृतिका जानकार अशोक चौधरीले भने, ‘समुदायको कलासंस्कृति, रितीरिवाज जस्ता विशिष्ट पक्षको संरक्षण गर्न र समुदायको पहिचान जोगाउनकै लागि भए पनि यो प्रथा जीवन्त राख्न जरुरी छ।’

यो समुदायमा परम्परादेखि चल्दै आएको सामाजिक न्याय प्रणालीहरुमा सासाना झैझगडा मेलमिलाप गराउने, अंशबण्डा लेनदेनका कुरा साँध सधिँयारको विवाद जस्ता विवादलाई भलमन्साले समुदायको रोहवरमा सामाजिक न्याय निसाफ न्यायोचितरुपमा गर्दै आएकाले यो प्रथालाई राज्यले कानूनी मान्यता दिई संरक्षण गर्नुपर्ने माग पनि उठ्ने गरेको छ।

कतिपय बस्तीमा निर्वाचित जनप्रतिनिधिभन्दा बडघर प्रथालाई समुदायले बढी विश्वास गर्ने भएको अवस्थामा यसलाई कानूनी मान्यता दिनुपर्ने आवाज उठ्ने गरेको हो। यो प्रथाले समुदायमा रहेको सामाजिक तथा सांस्कृतिक कार्यहरुको संयोजन गर्नुका साथै व्यवस्थापनको अगुवाई पनि गर्दै आएको छ।

भलमन्सा बडघर, गुरुवा, चिराकी, अघरिया जस्ता प्रथा सदियौंदेखि एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको पनि देखिन्छ। तर कतिपय वस्तीमा भने यो प्रथाको पुस्तान्तरण गर्न केही समस्या लाग्ने गरेको छ। यो प्रथा समाज र गाउँप्रति उत्तरदायी हुँदाहुँदै पनि यसलाई जीवन्त राख्ने कार्यमा युवापुस्ता मौन देखिँदा पुस्तान्तरण गर्न समस्या हुन सक्ने बताइन्छ।

यसका लागि नयाँ पुस्तालाई अभिप्रेरित गर्नुपर्ने उनीहरुको भनाइ छ। कतिपय अवस्थामा गोला प्रथा (चिट्ठा) द्वारासमेत भलमन्सा चुन्ने परिपाटी रहीआएकोले कतिपय गाउँमा असक्षम व्यक्ति पनि भलमन्सामा चुनिने हुनसक्छ। यस्तो अवस्थामा संस्थागत रुपमा बडघर बिघटन भई सर्वसाधारणमा यसप्रतिको अभिरुचि घट्नसक्ने चुनौतीसमेत रहेको बताइन्छ।

मौखिकरुपमा चल्दै आएको बडघर प्रथाको नीतिनियमलाई अन्य समुदायका व्यक्तिले नमान्ने प्रवृत्ति देखिँदा पनि यो प्रथालाई अनुशासित बनाउन गाह्रो परेको जनाइएको छ। थारु समुदायको परम्परागत चलन संस्कृति तथा परम्परागत वस्तुहरुको संरक्षण जस्ता कामलाई बचाइराख्न बडघरको ठूलो भूमिका हुने गरेको बडघर भलमन्सा महासंघका केन्द्रीय उपाध्यक्ष धिरेन्द्र डगौराले बताए।

जिल्ला र समुदायपिच्छे प्रत्येक समुदायमा आ–आफ्नो उप थरहरुसँगै लवाइखवाइ र वेषभूषामा केही फरक हुने गरेको पाइन्छ। विवाह, अंशबण्डा, सांस्कृतिक समारोहको आयोजन, जनश्रमदानमा आधारित विकासका कामका लागि बडघरविना सहज पनि देखिँदैन। थारू अगुवाहरु बडघर प्रथाले यो समुदायलाई संगठित गर्ने, सामाजिक सद्भाव कायम गराउने, समुदायको विकासमा नेतृत्व लिने भएकोले यस प्रथाको सबलीकरण र प्रवद्र्धन गर्न जरुरी देख्छन्।

आफ्नो कार्यक्षेत्रभित्र उत्पन्न हुने झैझगडा अंशबण्डा जग्गाको साँध सीमाना, पानी कुलो,लेनदेनको विवादका विषयमा पीडित पक्षले लिखित वा मौखिक रुपमा आग्रह गरेपछि भलमन्साले बैठक गरी पीडित र पीडक पक्षको जीत जीतको सिद्धान्तअनुसार मिलापत्र गराइदिने परम्परा छ।

पश्चिम नेपालको दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुर जिल्लामा यो समुदायको बसोवास रहेको छ। पूर्वी तराइका कतिपय जिल्लामा पनि यो समुदायको बसोवास रहे पनि रहनसहन, भेषभूषा, प्रचलन जिल्ला र ठाउँअनुसार केही फरक देखिन्छ।

जनप्रतिनिधि नहुँदाको विगतको अवस्थामा समेत थारु गाउँमा विकासका योजना बनाउन, जनसहभागिता जुटाउन गाउँको न्याय निसाफ छिन्ने कार्य गर्नेलगायतका कामको विवाद मिलाउने कार्यमा कुनै वाधा अवरोध सिर्जना भएको थिएन। परम्परातरुपमा भलमन्सा चुन्ने र गाउँको नेतृत्व सुम्पने कार्यले थारु गाउँमा जनप्रतिनिधि हुनु अथवा नहुनुले त्यती ठूलो असर नपर्ने गरेको बताइन्छ।

बडघरको शुरुआत कसरी भयो भन्नेबारेमा ऐतिहासिक तथ्य नभए पनि कविला युगदेखि यो प्रणाली अस्तित्वमा रहेको अनुमान गरिएको थारु अगुवाको भनाई छ। कञ्चनपुरको सिमलफाँटका थारु अगुवा धनबहादुर चौधरी परापूर्वकालमा हुनेखाने परिवारलाई बडघर भन्ने गरिएको बताए।

‘परापूर्वकालमा गाउँको सबैभन्दा धनी परिवारको अधीनमा रहेर अन्य गाउँका व्यक्तिहरुले समाजमा आइपर्ने काम गर्नुपर्ने चलन थियो’, उनले भने, ‘बदलिँदो परिवेशअनुरुप समाजमा नीति निर्माण र अनुशासन कायम गर्नका लागि यो समुदायले एकजना नेतृत्वकर्ताको महसुस गरे अनुसार बडघर (भलमन्सा) नियुक्त गर्ने चलन शुरु भएको हो।’

बडघर प्रथामा पुरुष मात्रै चयन भई काम गर्दै आएकोमा कतिपय बस्तीमा पछिल्ला वर्षमा महिलालाई पनि यो पदको जिम्मेवारी दिने गरिएको पाइन्छ। महिलाको उपस्थितिले लैङ्गिक विभेद गर्ने प्रवृत्तिको अन्त्य भई समाजमा सामूहिक भावनाको विकास र अपनत्व भावनाको विकास हुने विश्वास गरिएको छ।

विसं २०६८को जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्यामध्ये यो समुदायको जनसङ्ख्या सात प्रतिशत अर्थात् १७ लाख ३७ हजार ४७० रहेको छ। थारु उत्थान मञ्च कैलालीले सङ्कलन गरेको तथ्याङकअनुसार दाङमा २९१, बाँकेमा ४३, बर्दियामा ३४१, कैलालीमा ६०१ र कञ्चनपुरमा २१७ गरी बडघरको सङ्ख्या एक हजार ४९३ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट