
अरुले हिंडेको बाटोमा
भेट्ने अरुलाई हो
आँफूलाई भेट्नेछौ
तिम्ले नयाँ बाटो हिंड्दा ।
पुरानो बाटो हिनताबोधमा टुँगिन्छ
र त, घरिघरि घुर्की लाउँछन्
नयाँ बाटोसँग
तिम्ले नयाँ बाटो हिंड्दा ।
छेउछाउकाहरु
खतरा महसूस गर्छन्
र निन्दाको पासो थाप्छन्
तिम्ले नयाँ बाटो हिंड्दा ।
डुब्नु के नयाँ कुरा भो र ?
बाँचे समुन्द्रमा
भेटिने, नयाँ नयाँ टापू हो
तिम्ले नयाँ बाटो हिंड्दा ।
भन्नेले आत्महत्या भनुन
एकदिन तिमी मेरो ‘महानायक’ हुनेछौ
तिम्ले नयाँ बाटो खन्दा