कला/साहित्य

नेपालीमाथि हिन्दी फिल्मको सुरु भो विभेद


काठमाडौं । कोरोना महामारीका कारण दस महिनासम्म सिनेमाका गतिविधि ठप्प रहे । यति लामो समयसम्म आफ्नो रोजीरोटी बन्द हुँदा चलचित्रकर्मी बेरोजगार बने । केही ऋण र सापटी खोज्दै नयाँ पेसामा लागे भने कतिपय विदेशतिर भासिए । नयाँदेखि स्थापित कलाकारसम्म म्युजिक भिडियो अभिनयमा लागे ।

चलचित्र विकास बोर्ड, निर्माता संघ तथा चलचित्र संघको पटक पटकको पहलपछि सरकारले मनोरञ्जन क्षेत्र पनि खुला गरिदियो । त्यसपछि सिनेमा हल पनि खुला भए । तर, जुन दिनदेखि सिनेमा हल खुले र नयाँ नेपाली सिनेमा रिलिज गरियो, त्यसै दिनदेखि हिन्दी फिल्मले नेपाली सिनेमाथि विभेद गर्न थाले । यो सबै काम वितरक र सिनेमा हल व्यवसायीका कारण सम्भव भइरहेका छन् ।

पहिले रोइकराई गरेर सिनेमा हल खुलाउन नेपाली चलचित्रकर्मी, निर्मातालाई प्रयोग गरेका वितरक र हल व्यवसायी अहिले तिनै चलचित्रकर्मीको सिनेमा आफ्नो हलमा चलाउन अस्वीकार गरेका छन् । हिन्दी फिल्म चलाएबापत धेरै कमिसन र नाफा कमाउने भएकाले पनि उनीहरूले नेपाली चलचित्र रिलिज गर्न नमानेका हुन् ।

यसको सिकार बनेका छन् अभिनेता शिव श्रेष्ठ । शिवले आफ्नो छोरा शक्ति श्रेष्ठलाई डेब्यु गराउन बन्द सिनेमा हल सञ्चालन गर्न मन्त्रीदेखि प्रधानमन्त्रीसम्म गुहारे । जसै मन्त्रिपरिषद् बैठकले सिनेमा हल खुला गरिदियो, अहिले तिनै शिव श्रेष्ठले बनाएको चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’ चलचित्र हलमा रिलिज गर्न व्यवसायी मानेनन् । उपत्यका बाहिर धेरै हलमा नेपाली चलचित्रको सर्भर जडान नभएको भन्दै हिन्दी फिल्म ‘मास्टर’ रिलिज गरे । जसका कारण केही हलमा लागेको ‘एउटा यस्तो प्रेमकहानी’ चलचित्रले दर्शक नै पाएन ।

कोरोना महामारीका बेला डुबेका नेपाली चलचित्रकर्मीलाई माथि उकास्नु सबैको कर्तव्य र दायित्व हो । तर, मान्छे नेपाली बाँकी सबै विदेशी माफियाकै कब्जामा नेपाली चलचित्र उद्योग परेकाले पनि हिन्दी फिल्मको विभेदको सिकार नेपाली चलचित्र उद्योग परेको निर्माता सुशील पोखरेल बताउँछन् । उनी हल व्यवसायीको विदेशी फिल्म ताक्ने प्रवृत्ति र नेपाली चलचित्रलाई त्यति प्राथमिकता नदिने गरेकै कारण चलचित्रमैत्री वातावरण नभएको बताउँछन् ।

माघ १ गतेदेखि हल खुला भएपछि आफ्नो छोराको रजतपटमा ‘इन्ट्री’ धमाकेदार हुने अपेक्षा शिव श्रेष्ठले गरेका थिए । तर, हिन्दी फिल्मका वितरक र हल व्यवसायीको कोपभाजनमा शिव श्रेष्ठ परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट