राजनीति

जनतातर्फ फर्केर झुटा गफ गर्दैमा मुलुक सम्वृद्ध हुँदैन: सहमहामन्त्री डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जनतालाई झुक्याएर सत्तामा पुगेका कम्युनिष्टहरुले देश तहशनहस बनाएको आरोप लगाएका छन् । कम्युनिष्ट सरकारका क्रियाकलावको विरुद्धमा ललितपुर महानगर, कागेश्वरी मनोहरा नगरपालिका र टोखा नगर समितिले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले भने, ‘कम्युनिष्ट सरकारका कारण तीन वर्षमा मुलुकले ठूलो क्षति व्यहोरेको छ ।’

कम्युनिष्ट सरकारले तीन वर्षमा व्यवस्था र जनविरोधी काम मात्र गरको डा. महतले आरोप लगाए । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा देशका उपप्रधानमन्त्रीको नेतृत्वमा व्यापक भ्रष्टाचार भएको डा. महतको भनाइ थियो ।

नेकपाभित्रको झगडा नक्कली हो, डा. महतले भने, ‘सत्ताका लागि भएको आन्तरिक शक्ति संघर्षले मुलुकको संविधान र लोकतन्त्रमाथि नै खतरा पैदा भएको छ । कम्युनिष्टको दुई झुन्ड कुर्सी नछोड्ने र कुर्सी चाहिनेबीचको द्वन्दले प्रतिनिधिसभा विघटन भएको हो ।’

नेपाली कांग्रेस ललितपुर महानगरद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै सहमहामन्त्री डा. प्रकाशशरण महत ।

कांग्रेसलाई सर्वोच्च अदालतको फैसला मान्य हुने डा. महतले बताए । यदि सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई सदर गरे नेपाली कांग्रेस चुनावमा जान तयार रहेको बताए । सर्वोच्च अदालतले विघटनलाई मान्यता दिए छ महिनाभित्र चुनाव भएर मुलुकले सांसद पाउनुपर्ने संवैधानिक व्यवस्था भएको डा.महतले स्पष्ट पारे ।

निर्धारित मितिमा चुनावको सुनिश्चितता नभए मुलुकमा आन्दोलनको आधिवेहरी सिर्जना गरेर प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्ने डा. महतले चेतावनी दिए ।

जनतातर्फ फर्केर सुखी नेपाली सम्वृृद्ध मुलुकको नारा लगाउँदैमा मुलुकमा सम्वृद्धि नआउने डा. महतको तर्क थियो । सञ्चारमाध्यममा राष्ट्रियताको कुरा गर्दैमा राष्ट्रियता बलियो नहुने तर्क डा. महतको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट