मुख्य समाचार

संखुवासभाका १० वटै पालिकामा सरकारविरुद्धको प्रदर्शनमा व्यापक सहभागीता



संखुवासभा । नेपाली काँग्रेसले आज देशैभरका ७५३ वटै पालिकामा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय निर्देशन अनुसार कांग्रेसले संखुवासभाको चैनपुर सहित १० वटै पालिकामा विरोध प्रर्दशन एवं कोणसभा गरेको हो ।

चैनपुरको जिरोप्वाइन्टबाट सुुरु भएको विरोध र्यालीले बजारको विभिन्न स्थानमा कोण सभा गर्दै टुडिखेल अगाडी पुगेर समापन गरेको थियो । कोणसभालाई नेपाली काँग्रेसका नेता तथा कार्यकताहरुले सरकारविरुद्ध कडा अभिव्यक्ति दिएका थिए ।

चैनपुर नगर सभापति राजेन्द्र बहादुर राउतको अध्यक्षतामा सम्पन्न विरोध सभालाई संबोधनका क्रममा प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्र ,लोकतान्त्रिक मूल्य, मान्यता र संविधान प्रतिकुलकार्यको विरुद्धमा काँग्रेस सडकमा आउन बाध्य भएको पूर्व खानेपानी तथा सरसफाई मन्त्री दीपक खड्काले बताए । के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम, भ्रष्टाचार, कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनमा असफल रहेको समेत पूर्व मन्त्री खड्काले बताए ।

सम्बोधनको क्रममा नेपाली काँग्रेस जिल्ला पार्टी सभापति दिपनकुमार श्रेष्ठ, महासमिति सदस्य शंकरमान कँडेल, अन्जना लिंथेप, पवर्तारोही मिङमा शेर्पा लगायत नेताहरुले विरोध सभालाई संबोधन गरेका थिए ।

यसैगरी जिल्लाको विभिन्न पालिकाहरुमा समेत विरोधसभा सम्पन्न भएको नेपाली काँग्रेस पार्टीकार्यालयले जनाएको छ । खाँदवारी नगरपालिकामा नेपाली काँग्रेसका नेता तथा महासमिति सदस्य महेश थपलिया, हरीश्वर थापा, अनन्त गौलीलगायतको नेताहरुले विरोध सभालाई सम्बोधन गरेका थिए । यसै गरी पाँचखपन, धर्मदेवी, मादी नगरपालिका , सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिकालगायत १० स्थानीय पालिकाहरुले एक साथ विरोध सभा गरेको नेपाली काँग्रेस पार्टी कार्यालय संखुवासभाले जनाएको ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने, मुलुकलाई अस्थिरता, अनिश्चितता,असफलतातर्फ लैजाने षडयन्त्रमूलक प्रतिवादतमा देशभर चरणबद्ध आन्दोलनको घोषणा गरे सँगै नेपाली काँग्रेस विरोधसभा तथा आन्दोलनमा होमिएको जनाएको छ । नेपाली काँग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरी एउटै निर्णय र प्रष्ट धारणाका साथ नेपाली काँग्रेस एक मतका साथ आन्दोलनको मैदानमा उत्रिने समेत पार्टीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट