समाचार

दाम चढाउनेकै फूर्ति बढी, न्यायलयको हूर्मत नलेऊः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको हुर्मत लिने काम नगर्न पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायापालिकाको हुर्मत नलिन प्रचण्डलाई चेतावनी दिएका हुन् ।

‘स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तअनुसारको मर्यादित न्यायापालिका जहाँबाट न्याय पाउँछौं भन्ने जनताले विश्वास लिएका छन् त्यो न्यायापालिकाको मर्यादामाथि हमला गर्ने काम गरिरहेका छन्’,उनले भने, ‘ निर्वाचन आयोगमाथि हमला गरिरहेका छन् । निर्वाचन नगर्न र तयारी नगर्न भन्दै हमला गरिरहेका छन् । को लोकतन्त्र विरोधी रहेछ भन्नुस् त ।’ प्रधानमन्त्री ओलीले आफूले गरेका कामलाई लिएर राष्ट्रपतिलाई विवादमा ल्याउने काम भएको भन्दै असन्तुष्टी जनाएका छन् । उनले आफूले गरेका कामबारेमा बहस गर्न तयार रहेको बताए ।

‘कानून मिलेन भने प्रधानमन्त्रीको कमजोरी हो राष्ट्रपतिको होइन । म जवाफ दिन तयार छु । बहस गर्न तयार छु । मैले गरेका कामहरु जनता र लोकतन्त्रको पक्षमा छन ’, उनले भने । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा गएर सूर्य चिन्ह चाहियो, अदालतले यस्तो गर्नुपर्यो उस्तो गर्नुपर्यो भन्दै धम्क्याएको आरोप लगाएका हुन् ।

‘संविधानको धारा ७६ (७) र धारा ८५ अनुसार सिफारिस गरिएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सिफारिस गरिएको छ । अनि त्यति पनि नपढी कुदेका छन्’, प्रधानमन्त्री ओलीले भने । संसद् विघटन भएपछि राष्ट्रपतिको मर्यादामाथि हमला भएको समेत बताए । हिजो नक्कली राजालाई दाम चढाउनेले गणतन्त्र माथि हमला गरेको ओलीको आरोप थियो । ‘दरबार हत्याकाण्ड पछि खोजेर ल्याएको नक्कली राजालाई दाम चढाएको होइन ? अहिले फेरि गणतन्त्रमाथि हमला ?’, प्रधानमन्त्री ओलीले भने ।

‘अदालतप्रति सम्मान छ । तर, हामीले भनेजसरी फैसला आएन भने सडकबाट संसद् पुनस्थापना गर्छौ । यो भनेको न्यायलयमाथि हमला होइन ?’, प्रधानमन्त्री ओलीले भने । निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगलाई हुल बाँधेर काम नगर्न धम्की दिएको ओलीले बताए । माधव नेपाल प्रचण्डको कार्यकर्ता नै भएको ओलीको भनाइ थियो । पार्टी, सत्ता र देश कब्जा गर्छु भनेर पार्टी एकता गरेको उनले आरोप लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट