खेलकुद

प्रधानमन्त्री कप : गण्डकीको पहिलो जित, प्रदेश एक २ विकेटले पराजित

काठमाडौं । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ ।

गण्डकीले प्रदेश नम्बर १ लाई दुई विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले गण्डकीसामु जितका लागि १ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य गण्डकीले ३७ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीका लागि प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले ६८ बलमा ३५ रन बनाए । यस क्रममा उनले पाँच चौका हिर्काए । यस्तै दीपक डुम्रेले ९४ बलमा चार चौकासहित ३५ रनको योगदान दिए । यस्तै अभिषेक थापाले अविजित रहँदै १३ रन बनाए ।

बलिङतर्फ प्रदेश १ का लागि शुभाङ्कर उराव र मिनास थापाले दुई–दुई तथा दीपेश कँडेल र हेमन्त राईले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७.४ ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र बनायो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ३१ बल खेल्दै एक छक्का र एक चौकाको मद्दतमा २४ रन बनाए । यस्तै मिनास थापाले ३४ बलमा चार चौकासहित २२ तथा शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाए ।

बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवास भण्डारी र विशाल पौडेलले चार÷चार तथा विपीन खत्रीले दुई विकेट लिए ।

विशाल पौडेलको ह्याट्रिक
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश १ विरुद्धको खेलमा गण्डकी प्रदेशका विशाल पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उनले आफ्नो सातौँ ओभर तथा प्रतियोगिताको २८औँ ओभरमा प्रदेश १ का तीन खेलाडीलाई लगातार पेभेलियन फर्काए । पौडेलले खेलको २८औँ ओभरको दोस्रो बलमा राजन मगरलाई चार रनमा, तेस्रो बलमा मनोज तामाङलाई शून्यमा तथा चौथो बलमा हेमन्त राईलाई पनि शून्य स्कोरमै पेभेलियन फर्काए ।

जारी चौथो संस्करणको प्रधानमन्त्री कपमा उनी ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । पौडेलले ६.४ ओभर बलिङ गर्दै २५ रन खर्चेर चार विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *