खेलकुद

पीएम कप क्रिकेटः बागमतीको लगातार दोस्रो जित

काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनले पराजित गर्दै बागमतीले लगातार दोस्रो जित निकालेको हो ।

बागमतीले दिएको ३ सय रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २१ ओभरमा अलआउट हुँदै १ सय १९ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका नारायण जोशीले अविजित रहदै सर्वाधिक ४४ रन बनाए । यस्तै अर्जुन साउदले ३१ रन जोड्दा किरण ठगुन्नाले २४ रन बनाए । सुदूरपश्चिमका ६ ब्याट्सम्यान सुन्य रनमा आउट भए । बागमतीका रामनरेश गिरिले ४ विकेट लिए । नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, विपिन आचार्य र तिलक भण्डारीले १र१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो । बागमतीका लागि पृथु बास्कोटाले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आदील खानले ६३ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन जोडे । पारस खड्का २० र इशान पाण्डेले १७ रन बनाए । सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए । भोजराज भट्ट र सन्तोष भट्टले २/२ विकेट लिए ।

जितसंगै बागमतीले २ खेलमा ४ अंक जोडेको छ । बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *