कला/साहित्य

युनेस्को अन्तरराष्ट्रिय साक्षरता पुरस्कार हस्तान्तरण

काठमाडौँ । ज्येष्ठ नागरिकको शिक्षाका लागि योगदान दिने ‘एजिङ नेपाल’ संस्थाले प्राप्त गरेको युनेस्को अन्तरराष्ट्रिय साक्षरता पुरस्कार आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले हस्तान्तरण गरेका छन् ।


मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पुरस्कारको तक्मा सो संस्थाका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई हस्तान्तरण गरे । युनेस्को काठमाडौँका प्रमुख क्रिष्टिने म्यानहर्टले पुरस्कारको प्रमाणपत्र प्रदान गरे ।

संस्था २० हजार अमेरिकी डलर (करीब रु २३ लाख ३२ हजार) राशिको अन्तरराष्ट्रियस्तरको पुरस्कार प्राप्त गर्न सफल भएको छ । कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त संस्थाले प्राप्त गरेको पुरस्कारबाट नेपालको नाम विश्वभर थप चिनिएको बताउँदै बधाई दिए । उनले नयाँ ढङ्गबाट ज्येष्ठ नागरिकको शिक्षाका लागि के गर्न सकिन्छ भन्नेबारेमा विज्ञको सुझावका आधारमा कार्यक्रम तय गरिने जानकारी दिए ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विश्वभरकार ७६ संस्थाको प्रतिस्पर्धामा श्रेष्ठ भई एजिङ नेपालले पुरस्कार पाउनु मुलुकका लागि गौरवको विषय भएको बताए । सम्मानित व्यक्तित्व गौतमले ज्येष्ठ नागरिकका आधुनिक सूचना प्रविधि समेतको उपयोग गर्नसक्ने गरी साक्षरता दिने नीतिगत व्यवस्थाका लागि आग्रह गरे ।

मन्त्रालय अन्तर्गत रहेको युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारीले ‘युनेस्को किङ सिजोङ साक्षरता पुरस्कार २०२०’ नामको सो पुरस्कार गत अन्तरराष्ट्रिय साक्षरता दिवसमा युनेस्को मुख्यालय, पेरिसले भर्चुअल रुपमा घोषणा गरी पुरस्कार राशि २० हजार अमेरिकी डलर पठाइसकेको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट