मुख्य समाचार

यसकारण पौडेल भेट्न बोहोराटार पुगेका थिए देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हत्तपत्त कसैको निवासमा जाँदैनन् । उनी विरलै आफन्त र दलका नेताको घर पुग्छन् । विदेशी कूटनीतिदेखि आफ्नो पार्टी र विपक्षी पार्टीका नेतालाई बुढानिलकण्ठस्थित निवासमै भेट्ने गर्छन् ।

तर, सोमबार दिउँसो एकाएक कांग्रेस सभापति देउवा पार्टीका नेता रामचन्द्र पौडेललाई भेट्न बोहोराटारस्थित उनको निवासमा पुगे । पार्टीमा विवाद देखिरहेका बेला देउवा पौडेललाई भेट्न जानु नै आफैंमा एउटा समाचार थियो । त्यसमा पनि पौडेलकै निवासमा पुगेपछि मिडियादेखि सामाजिक सञ्जालमा यो समाचार भाइरल बन्यो ।

सोमबार कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएको थियो । तर, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूकी आमाको निधन भएकाले हिजो बोलाइएको बैठक बसेन । त्यसपछि देउवा पौडेललाई भेट्न बोहोराटार पुगेका हुन् ।

नेपाली कांग्रेसभित्र अहिले प्रधानमन्त्री केपी ओलीले गरेका संसद् विघटनलाई लिएर दुईथरी मत छ । संस्थापन पक्ष सडक आन्दोलनसँगै निर्वाचनको तयारीमा लाग्नुपर्ने र इतर पक्ष पहिले असंवैधानिक कदम सच्चाएर अनि निर्वाचनमा जानुपर्ने पक्षमा छ । देउवा र पौडेलबीच ओलीले गरेका कदमको विषयमा पनि छलफल भएको थियो ।

तर, खासगरी दुई नेताबीच पार्टीका तीन जिल्लामा देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको बुढानिलकण्ठ स्रोतले बतायो । नेपाली कांग्रेसमा क्रियाशील सदस्यको विषयमा सिन्धुपाल्चोक, बारा र सप्तरी जिल्लाको विवाद टुंगिएको छैन । बारा र सप्तरीमा उपसभापति विजयकुमार गच्छदार पक्षका फोरम लोकतान्त्रिकका कार्यकर्तालाई क्रियाशील सदस्यता वितरणमा समस्या देखिएको छ । दुवै जिल्लाका सभापति संस्थापन देउवा पक्ष भएकाले इतर पक्षले विवाद खडा गरेको बताइन्छ ।

यिनै विषयमा छलफल गर्न र जिल्लामा देखिएको विवाद टुंगो लगाउन देउवा र पौडेलबीच डेढ घन्टा कुराकानी भएको कांग्रेसका एक नेताले बताए ।

तर, बाहिर भने ओलीको कदममा देउवाले पौडेललाई ‘न्यूट्रल’ बस्न आग्रह गरेको प्रचार गराइएको छ । पार्टीका दुई शीर्ष नेताबीचको भेटवार्तालाई कांग्रेसलाई नै खुइल्याउने गरी पक्ष विपक्षमा समाचार आएपछि धेरैले राम्रो मानेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट