फिचर

नेपालमा जलपक्षीको सङ्ख्यामा कमी

काठमाडौँ । नेपालमा गत पुस १८ देखि यही माघ ५ गते (जनवरी २ देखि १८) सम्म गरिएको जलपक्षी गणनाको प्रारम्भिक तथ्याङ्कअनुसार यस वर्ष जल पक्षीहरुको सङ्ख्या कम देखिएको छ ।


सिमसार क्षेत्रका सूचकका रुपमा हेरिने जलपक्षीहरुका प्रजाति र सङ्ख्यामा गिरावट आउनु चिन्ताको विषय भएकाले बेलैमा संरक्षणका कदम चाल्नुपर्ने विज्ञहरुको सुझाव छ । सन् २०२१ को गणनामा कोशी नदीमा ६२ प्रजातिका १९ हजार ५४४ जलपक्षीको रेकर्ड भएको छ । कोशी पक्षी समाजका अध्यक्ष सञ्जीव आचार्यका अनुसार कोशीमा सन् २०१९ मा ५८ प्रजातिका २१ हजार ७४४ र २०२० मा ६१ प्रजातिका १६ हजार १२ जलपक्षीको रेकर्ड गरिएको थियो ।

यसैगरी जगदीशपुर रामसार क्षेत्रमा पनि गत वर्ष १५ हजार ४९६ को सङ्ख्यामा रेकर्ड भएका पानी चरा यस वर्ष १२ हजार ४७६ मात्र गणना भएको नेपाल पक्षी संरक्षण सङ्घका जीव विज्ञ देउबहादुर रानाले बताए । चितवनमा पनि यस वर्ष जल चराको प्रजाति सङ्ख्या कम देखिएको बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले बताए । कर्णाली नदी र बढैया ताल क्षेत्रमा पनि चराको सङ्ख्या विगतभन्दा कम देखिएको बर्दिया नेचर क्लबका अध्यक्ष राम शाहीले बताए ।

यस वर्षको गणनामा पोखरा उपत्यकाका लागि नयाँ प्रजाति मण्डारिन हाँस, कोशीका लागि नयाँ प्रजाति पहेलो ठुंडे कल हाँस, बर्जु तालमा नेपालका लागि दुर्लभ बैकालगैरी र जगदीशपुरमा पनि नेपालका लागि दुर्लभ थोप्ला चुच्चे नादुन हाँस अभिलेख भएको नेपाल पक्षी संरक्षण सङ्घका संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए ।

हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अद्यावधिक गर्न जलपक्षीको गणना गरिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पक्षी संरक्षण सङ्घ, हिमाली प्रकृति र स्थानीयस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको समन्वयमा गरिएको गणनाको विश्वव्यापीरुपमा समन्वय वेटल्यान्ड इन्टरनेशनल संस्थाले गरेको थियो ।

यस क्षेत्रका विज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय स्वयंसेवीलगायत गरी ३०० भन्दा बढी जनशक्ति संलग्न रहेको गणनामा यस वर्ष कोभिड–१९ को सङ्क्रमण अझै कायम रहेकाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर गणना गरिएको आयोजक संस्थाले जनाएका छन् । सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपक्षी भनिन्छ । नेपालमा १०० भन्दा बढी प्रजातिका जलपक्षी रहेको र त्यसमध्ये अधिकांश पाहुना चरा रहेको बताइन्छ ।

यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए । मुलुकभरका पाँच दर्जनभन्दा बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गणना गरिएको उनले बताए ।

वेटल्यान्ड इन्टरनेशनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपक्षी गणना हुने भएकाले विश्वभरकै जलपक्षीको सङ्ख्या आङ्कलन हुने बताइन्छ । नेपालका सिमसार क्षेत्रमा यतिबेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामा आउले, सुडसुडियलगायत प्रजातिका चरा बढी देखिन्छन् । सन् १९८७ देखि नेपालमा पनि हुँदै आएको यो गणनामा जलपक्षीका प्रजाति, तिनको सङ्ख्या, सङ्कट र बासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिन्छ । गणनापछि मुुलुकभरबाट प्राप्त तथ्याङ्क सङ्कलन गरी प्रतिवेदन तयार गरेर विभागलाई बुझाइने राष्ट्रिय संयोजक डा बरालले बताए ।

सङ्घका अनुसार नेपालमा ८८६ भन्दा बढी प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये १५० भन्दा बढी हिउँदमा र ६० भन्दा बढी चरा गर्मीयाममा नेपाल आउने पाहुना चरा हुन् । खासगरी उत्तरी धु्रवमा हिमपातको शुरुआतसँगै अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा वर्षेनी करीब १५० प्रजातिका चरा उत्तरी मुलुक रुस, किर्गिजस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गर्दछन् । यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक पानी चरा सिमसार क्षेत्रमा नै आफ्नो समय व्यतीत गर्दछन् । पाहुना चराको दिगो संरक्षण, तिनको आहार, बासस्थान र उडान मार्गको सुरक्षा साथै आश्रयस्थलका लागि मुलुकका सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्नु आवश्यक रहेको सङ्घका संरक्षण अधिकृत भुसालले बताए ।

चराको बसाइँसराइ मौसमअनुसार फरकफरक हुन्छ । हिउँदेयामको बसाइँसराइ सबैभन्दा लामो दूरीको हुन्छ । ग्रीष्मयामको बसाइँसराइ तुलनात्मकरूपमा कम दूरीको हुन्छ । हिउँदेयाममा तराईका तालतलैयामा बाहिरबाट आएका हाँस प्रजातिका चरा बढी देखिन्छन् ।

चराकोे हिउँदेयामको बराइँसराइ असोजको शुरुदेखि माघसम्म हुने गर्छ । हिउँदे आगन्तुक चराले अधिकांश समय कोशीटप्पु, बिसहजारी ताल, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा व्यतीत गर्छन् ।

सिमसार क्षेत्रको सङ्कुचन तथा विनाश, उडान मार्गमा हुने अवरोध, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता कारणले जलपक्षीको संरक्षणमा चुनौती थपिएको संरक्षणविद्हरुको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *