
काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी र कर्णाली विजयी भएका छन् ।
मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले प्रदेश-२ लाई ७७ रनले हराउँदै सुखद सुरुवात गरेको हो भने कर्णालीले पनि गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको हो ।
कीर्तिपुरमा लुम्बिनीले दिएको २ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश-२ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८० रन मात्र बनाउन सक्यो ।
प्रदेश-२ का विवेक यादवले ५१ रनको अर्धशतकीय इनिङ्स खेलपनि टोलीको हार टार्न सकेनन् । यस्तै सुधिर चौधरीले ४२ रन जोड्दा महबुब आलमले ३१ रन बनाए ।
त्यस्तै हरिशंकर साहले २२ रन जोड्नु बाहेक प्रदेश-२ का अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए । बिक्रम भुसाल र दिपेन्द्र रावतले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।
लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान दिदा सौरभले ५६ रन बनाए ।
यस्तै बिक्रम भुसालले ३६ रन बनाए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडे ।
प्रदेश-२ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट लिए ।
मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा कर्णालीले राष्ट्रिय प्रतियोगितामा जित निकालेको यो पहिलो खेल हो ।
गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
कर्णालीको जितमा हिमान्सु शाहीले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विपिन रावलले ४९ रन जोड्दा राज शाहले ३२ रन बनाए । हेमन्त ओली २९ रनमा आउट भए ।
गण्डकीका विपिन खत्रीले ४ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४ रन बनाएको थियो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । अर्जुन कुमालले ४६ रन जोड्दा कप्तान विपिन खत्रीले ३२ रन बनाए ।
विशाल पौडेलले १५ रन जोडे भने दिनेश बुढामगर १० रनमा आउट भए ।
कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए । यस्तै अनुज चुनरा र दिवन पुनले २/२ विकेट लिए ।
जितसंगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ । यस्तै, समूह ‘बी’ को लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ ।