रिबन

देउवालाई प्रधानमन्त्री बनाउने निष्कर्षमा प्रचण्ड किन पुगे ?

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिगमन लादेपछि उनको कदमलाई विफल बनाउन कांग्रेसलाई नै सरकारको नेतृत्व दिन सकिने प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएपछि नेपालको राजनीतिमा अर्को तरंग सिर्जना भएको छ ।

अहिले प्रतिनिधिसभा भंग भएको अवस्था छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी बहस चलिरहेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएमा मात्र यही संसद्ले अर्को सरकार बनाउन सक्नेछ । तर, सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएन भने के गर्ने भन्ने विषयमा प्रचण्डले केही बताएका छैनन् ।

नेपाली कांग्रेसमा पहिले प्रतिनिधिसभा पुनःस्थापना गरेर यदि सरकार बनाउन नसकिने अवस्था भए मात्र निर्वाचनमा जानुपर्ने मत बलियो छ । यदि वैशाखमै चुनाव हुने अवस्था आए अहिलेको आन्दोलन के गर्ने भन्ने विषयमा कांग्रेसभित्र बहस जारी छ ।

तर, ओलीको प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेकपाको अर्को समूहले देउवालाई प्रधानमन्त्री बनाएर अघि जान सकिने प्रस्ताव गरेपछि अब कसरी अघि बढ्ने भन्नेमा केही दिनमै छलफल सुरु हुने कांग्रेसका एक नेताले बताए । उनका अनुसार नेपालको इतिहासमा कम्युनिस्ट प्रधानमन्त्रीले अहिलेसम्म निर्वाचन गराएको इतिहास नभएकाले ओलीले गराउने चुनावमा भाग लिने कि नलिने भन्ने तीव्र बहस चलेको छ ।

निर्वाचनअघि कांग्रेस र माओवादीको संयुक्त सरकार थियो । प्रधानमन्त्री कांग्रेस सभापति देउवा थिए । तर, कांग्रेससँग सरकारमा रहेकै बेला माओवादीले एमालेसँग सहकार्य गरे ‘वाम एकता’ गरेपछि देउवा प्रचण्डसँग असन्तुष्ट बनेका थिए । तर, तीन वर्षअघिकै सहकार्यलाई निरन्तरता दिन आफू तयार रहेको र अब स्थानीय तह, प्रदेश र संघीय सरकारसम्म लामो समयका लागि सहकार्य गर्ने प्रचण्डको प्रस्तावपछि कांग्रेस सभापति देउवाले पार्टी नेताहरूसँग छलफल प्रक्रिया अघि बढाएका छन् ।

प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव गर्ने उद्देश्यले नभई अनिश्चितकालीन समयसम्म सरकार चलाउने नियतका साथ प्रतिनिधिसभा विघटन गरेको निष्कर्षमा आमकांग्रेसीजन पुगेका छन् । यो विषयमा प्रस्ट हुन नागरिक समाजले पनि कांग्रेसलाई दबाब दिइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट