समाचार

प्रदेश १ मा कांग्रेस आफैंले सरकार बनाउने, बुढानिलकण्ठमा छलफल

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश १ मा आफ्नै नेतृत्वमा सरकार बनाउने भएको छ । कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले मंगलबार विज्ञप्ति जारी गरी कांग्रेस नेतृत्वमा सरकार बनाउने दललाई सहयोग गर्न सकिने स्पष्ट पारेका छन् ।

प्रदेश १ को यस्तो निर्णय आएलगत्तै कांग्रेस नेतृत्वले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्तावबारे निर्णय गर्न छलफलमा जुटेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका कांग्रेस नेताहरु बुढानिलकण्ठस्थित देउवा निवासमा छलफलमा जुटेका हुन् ।

पार्टीका शीर्ष नेतासहितका नेताहरुले प्रदेश १ बाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यसँग छलफल गरिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

नेकपा विभाजन भएपछि नेकपाको प्रचण्ड–नेपाल समूहका प्रदेश सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेका छन् । अविश्वासको प्रस्ताव पास हुने या नहुने भन्नेमा कांग्रेसको निर्णय निर्णायक देखिन्छ । आज दिउँसो २ बजे प्रदेश १ को प्रदेश सभा बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्री राईलाई बोल्न नदिने पक्षमा प्रचण्ड–माधव समूह लागिपरेको छ । ओली समूह भने निलम्बित सांसदलाई प्रदेश सभामा प्रवेश नदिने रणनीतिमा लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट