शिक्षा / स्वास्थ्य

भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन् । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

भारतले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप खोप उपलब्ध गराउँदैछ । महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसेल्सलाई अनुदानमा खोप दिने भएको हो ।

भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड र एस्ट्राजेनेकाको कोभिशिल्ड खोप नेपालले पाउने भएको हो । खोपको पहिलो मात्रा बिहीबार नै काठमाडौ आइपुग्ने भएको छ ।

नेपालले झण्डै ६० लाख मानिसहरूका लागि कोभिशिल्ड खोप भारतबाट किन्ने प्रक्रिया अघि बढाएको छ । भारत सरकारसँग नेपालले तीन प्रतिशत जनसंख्यालाई पुग्ने खोप माग गरेको छ ।

नेपालले फ्रन्टलाइनमा काम गर्ने र ७० वर्ष माथिका १२ लाख जनसंख्यालाई पुग्ने खोप मागेको हो । पहिलो चरणमा आउने खोप कोरोना विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्स, नर्स तथा अन्य स्वास्थ्यकर्मी लगायत सुरक्षाकर्मीहरुलाई दिइने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *