समाचार

प्रदेश सभामुख भण्डारीले बचाइदिए शेरधन राईको पद

काठमाडौं । प्रदेश १ प्रदेश सभा बैठक तीन मिनेट बसेर स्थगित भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका कारण आजको बैठकप्रति धेरैले चासो देखाएका थिए ।
तर, प्रदेश सभामुख प्रदीप भण्डारीले सभा नै अनिश्चितकालका लागि स्थगित गरिदिएपछि मुख्यमन्त्री राईको जागिर जोगिएको छ ।

अविश्वास प्रस्तावमा आजै प्रक्रिया अघि बढ्ने प्रचण्ड–माधव नेपाल समूहको तयारी थियो । तर, अनिश्चितकालका लागि बैठक स्थगित भएपछि यो विषय ओझेलमा परेको छ ।

बुधबार दिउँसो बसेको प्रदेश १ को प्रदेशसभा हिउँदे अधिवेशन प्रदेश प्रमुखले पठाएको पत्र बाचनसँगै स्थगित भएको छ । प्रदेश सभा सभामुख प्रदीप भण्डारीले प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले अधिवेशन सुरूबारे पठाएको पत्र बाचन गरेलगत्तै तीन मिनेट बसेर बैठक स्थगित भएको हो ।

बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढे लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि संसद बैठक स्थगित गर्ने सहमति भएको थियो ।
मुख्यमन्त्री शेरधन राई प्रधानमन्त्री केपी ओली पक्षका हुन् । त्यसैले प्रचण्ड–माधव नेपाल पक्षले उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।

उसले नेपाली कांग्रेसको सहयोगमा मुख्यमन्त्री राईलाई हटाएर अर्कै मुख्यमन्त्री बनाउने तयारी गरेसँगै प्रदेश १ को राजनीति तरंगित बनेको थियो । तर, ओली पक्षका सभामुख भण्डारीले राईको पद केही समयका लागि जोगाइदिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट