समाचार

सिटी हल निर्माणको काम तीव्र गतिमा

चितवन । भरतपुर महानगरपालिकाले गौरवको आयोजनाका रुपमा लिएको सिटी हल निर्माणको काम तीव्र रुपमा अघि बढाइएको छ । वडा नं १० स्थित वाइपास सडकसँगै चार बिघा चार कठ्ठा जमीनमा सिटी हल निर्माणको काम भइरहेको छ ।

महानगरपालिकाले तेस्रो प्रयासपछि जग्गा प्राप्त गरी योजना अघि बढाएसँगै आज यहाँ स्थलगत रुपमा पत्रकार सम्मेलनको आयोजना गरी योजनाका बारेमा जानकारी गराइएको हो । सघन शहरी भवन निर्माण आयोजना चितवनले बोलपत्र आह्वान गरी आयोजना अघि बढाएको हो ।

अत्याधुनिक यो सिटी हल नेपालकै नमूना सुविधा सम्पन्न बनाउन लागिएको छ । गत मङ्सिर महिनामा ठेकेदार कम्पनीसँग सम्झौता भई काम तीव्र गतिमा अघि बढाइएको हो । हाल सिटी हलका लागि जगमा ग्रावेल राख्ने र रडको काम भइरहेको छ । त्यसमा दैनिक ५० जनाभन्दा बढी मजदुर परिचालन गरिएका छन् । आयोजना स्थलमा नै रेडिमिक्स जडान गरी कामलाई अघि बढाइँदैछ ।

महानगर प्रमुख रेनु दाहालले पत्रकार सम्मेलनमा शिवनगर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटी हल निर्माण गर्ने गृहकार्य सफल नभएपछि यस ठाउँलाई चयन गरेर काम अघि बढेको बताइन्। वडा नं १४ को शिवनगरमा ग्रामीण क्षेत्र भएकाले उपयुक्त नहुने परामर्शपछि क्यान्सर अस्पतालको जमीन छनोट गरिएको थियो ।

सम्पूर्ण प्रक्रिया पूरा गरेर मन्त्री परिषद्मा पुगेपछि निर्णय हुन नसकेसँगै हालको ठाउँ चयन गरिएको उनले जानकारी दिइन्। जिल्ला समन्वय समितिको नाममा रहेको जग्गा महानगरपालिकाको नाममा ल्याएर निर्माण अघि बढाइएको हो ।

उनले ठेकेदार कम्पनीलाई आवश्यक सहयोग गर्न महानगर तयार रहेको भन्दै निर्धारित समयमा गुणस्तरमा सम्झौता नगरी काम गर्न अनुरोध गरिन् । उनले ठेकेदार कम्पनी र आयोजनाका प्राविधिकको सक्रियताका कारण काम तीव्र रुपमा अघि बढेको बताए ।

जग्गाको अन्तिम टुङ्गो लागेपछि बजेटको सुनिश्तता, गुरुयोजना, विस्तृत अध्ययन प्रतिवेदन, बोलपत्र प्रक्रियालगायत सम्पूर्ण प्रक्रिया पु–याएर निर्माणको कामका लागि ठेकेदार कम्पनीसँगै सम्झौता गरेर काम अघि बढाउन लामो समय लागेको थियो । सभागृह निर्माणका लागि इण्डो सगुन रौताहा जेभी रुपन्दही र सघन शहरी भवन निर्माण आयोजना चितवनबीच सम्झौता भएको छ । बोलपत्र रकम मूल्य अभिवृद्धि कर बाहेक रु एक अर्ब छ करोड रहेकामा रु ७७ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो ।

सिटी हलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधा सम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । दुई वटा भ-याङ र दुई वटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक छ हजार ५०० वर्ग मिटरमा हुने उनको भनाइ छ ।

जुन क्षेत्रफल एक बिघाको हुनेछ । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अति विशिष्ट कक्ष, फुड ल्याण्ड, बगैंचा, २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ रहने उनले बताइन्। अन्तर्राष्ट्रियस्तरको आकर्षक सिटी हल बन्ने अर्याल बताउँछन् । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको सो सिटी हल देशकै नमूना हुने अर्यालको भनाइ छ ।

हालसम्म यति सुविधा सम्पन्न र सुन्दर सभागृह नेपालमा नरहेको प्राविधिक बताउँछन् । ठेकेदार कम्पनीका तर्फबाट आधिकारिक प्रतिनिधि सहदेव खड्काले सम्झौता भएको मितिबाट २७ महिनाभित्रमा काम सक्ने गरी सम्झौता भएको भए पनि निर्धारित समयअघि नै काम सम्पन्न गर्ने बताए ।

सिटी हल बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिने छ । मध्य नेपालमा पर्ने चितवनमा अधिकांश सङ्घ सङ्गठन, दलले कार्यक्रम आयोजना गर्ने इच्छा भएर पनि ठूलो हलको अभावमा राजधानी केन्द्रित हुनुपर्ने बाध्यता सिटी हल निर्माणसँगै हट्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट