राजनीति

ओलीलाई पार्टीबाट निष्काशन गर्ने माधव-प्रचण्ड समूहकाे तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा माधव–प्रचण्ड समूहले पार्टीबाटै निष्काशन गर्ने तयारी गरेको छ । सो समूहले ओलीलाई पार्टीबाट निष्काशन गर्नका लागि स्थायी कमिटी बैठक बोलाएको छ । यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ ।

पार्टीको अनुशासन र विधि विधानविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधिएकोेमा उनले उक्त स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निस्कासन गर्न लागिएको सो समूहका एक शीर्ष नेताले जानकारी दिए । पार्टी विधानमा कुनै पनि सदस्यलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने व्यवस्था छ । ओलीलाई स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्यबाट हटाउने तयारी नेपाल–दाहाल समूहको थियो ।

विधानको व्यवस्थाअनुसार माघ ३ गते नै कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको थियो । यसअघि पुस ७ गते बसेको नेपाल–दाहाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टीको अध्यक्षबाट हटाएर सो पदमा माधवकुमार नेपाललाई चयन गरेको थियो । नेकपाको अन्तरिम विधानको धारा ५६ मा अनुशासनको कारबाही प्रक्रियाबारे उल्लेख छ । सो धाराको (क) मा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय उल्लंघन गरेको, पार्टीप्रति निष्ठा र विश्वास नरहेको, गोपनीयता भंग गरेको अवस्थामा कारबाही गर्ने व्यवस्था छ । यसबाहेक केन्द्र तथा प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको कुनै पनि जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत काम गरेमा अनुशासनको कारबाही गर्न सकिने विधानमा उल्लेख छ। सोही धाराको (ख) मा अनुशासनात्मक कारबाही र कारबाही प्रक्रियाबारे व्यवस्था छ।

धारा ५६ (क) मा उल्लिखित क्रियाकलाप गरेबापत त्यसको प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित कमिटीले आलोचना गर्ने वा लिखित रूपमा आत्मालोचना गराउने वा चेतावनी दिने वा पद वा सदस्यताबाट निलम्बन वा निष्कासन गर्नेसम्मको कारबाही गर्न सकिने व्यवस्थाअन्तर्गत ओलीलाई स्पष्टीकरण सोधिने बताइएको छ । यसअघिको बैठकले ओली समूहमा रहेका महासचिव विष्णु पौडेललाई जिम्मेवारीबाट हटाउने निर्णय पनि गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट