फिचर

नबोल्ने व्यक्तिलाई बोली दिने तीर्थस्थल लाटी बाराही

गण्डकी । आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् । तनहुँको भिमाद नगरपालिका वडा नम्बर ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ ।

उमेर पुगेर पनि नबोल्ने बालबालिकालाई उक्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली आउने जनविश्वासका कारण पछिल्ला केही वर्षयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लाबाट यहाँ दर्शनार्थी पुग्ने गरेका छन् । नबोल्ने बालबालिकाका लागि बोली दिने प्राचीन जनविश्वासका आधारमा बालबच्चा लिएर भाकल एवं सामान्य पूजाका लागि दर्शनार्थी आउने गरेको स्थानीयवासी विष्णु खनालले बताए ।

मन्दिरको स्थापना कहिले भयो भन्ने यकीन तथ्य अझै फेला नपरेको बताउँदै उनले आफूहरूले बाल्यकालमा उक्त स्थानमा सामान्य मौलो एवं शिला मात्रै देखेको अनुभव सुनाए । उनकाअनुसार पछिल्लो समयमा महिला जागरण आमा समूहले लाटी बाराहीको मन्दिर निर्माण गर्दै यस स्थानलाई व्यवस्थित बनाउने प्रयास गरेको छ । खरखरे पहरोका बेंसीमा रहेको मन्दिर परिसरमा मौलो गाडिएको स्थानमा बेलाबेलामा लहरी छुट्नु यहाँको विशिष्टता हो । आमा समूहको सक्रियतामा १५ वर्ष अघि मन्दिर निर्माण गरिएको आमा समूहकी सदस्य शारदा खनालले जानकारी दिइन् ।

उनकाअनुसार प्रत्येक वर्षको बडादसैँ र वैशाख पूर्णिमामा मन्दिरमा विशेष पूजाआजा गर्ने गरिएको छ । नबोल्ने बालबालिकालाई बोल्ने शक्ति प्रदान गर्ने विश्वासका कारण प्राचीन कालदेखि नै लाटी बाराहीको गरिमा र महत्व बढेको स्थानीय समाजसेवी विश्वनाथ खनाल बताउँछन् । “बोली फुट्न नसकेका बालबालिकाको बोली आउने जनविश्वाससँगै ठाउँ ठाउँबाट बालबच्चा लिएर आउने गरेको यस तीर्थस्थलको खासै प्रचार भने हुन सकेको छैन”, उनले भने । यस्ता तीर्थस्थलको प्रचारप्रसार सँगै समग्र भावरलगायत क्याङ्दी फाँटको समृद्धि र विकासका सम्भावनालाई पनि उजागर गर्न सकिने उहाँको तर्क छ । मोटरेवल पुलको अभावमा लाटी बाराही तीर्थस्थलसहित यहाँको उब्जाउयोग्य भावर, वैद्यपानी, अरौँदीलगायत समग्र क्याङ्दी फाँट विकासमा पछि परेको नेपाली कांग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि चूडामणि खनालले बताए ।

पाँच वर्षयता क्याङ्दी फाँटलाई जोड्ने गरी शुक्लागण्डकी नगरपालिका–७ र भिमाद नगरपालिका–८ भावर जोड्ने पक्की पुल निर्माण गर्न लागिए पनि काम कछुवाको गतिमा भइरहेको उनले बताए । खनालका अनुसार फराकिला समथर फाँटका कारण व्यावसायिक कृषिको प्रचूर सम्भावना भएर पनि पुलकै अभावमा यहाँका हरेक सम्भावना खेर गइरहेका छन् ।

लाटी बाराही मन्दिरको महत्वका साथै प्राचीनकालमा वैद्यले यहीको पानीलाई औषधिका रुपमा लिने गरेको र विभिन्न स्वास्थ्य समस्या पनि यहाँको पानी पिएपछि सञ्चो हुने जनविश्वासका कारण ठाउँको नाम वैद्यपानी भएको स्थानीयवासी बताउँछन् । माछापालनसहित तरकारी तथा फलफूलखेतीका धेरै सम्भावना रहेर पनि पुलको अभावमा यहाँका कृषिजन्य उत्पादनले सहजरुपमा बजार पाउन नसकेको उनीहरूको गुनासो छ ।

सुरुमा यस क्षेत्रमा बस्ती विकास नहुँदा अरौँदी नामका जोगीले भट्टी सञ्चालन गरेका र उनैका नामबाट यो ठाउँलाई अरौँदीभट्टीका रुपमा लिने गरिएको पाइन्छ । निर्माणाधीन पुल सम्पन्न गर्दै यस क्षेत्रमा बजारीकरण, कृषिको व्यवसायीकरणका साथै पर्यटकीय रुपमा महत्वपूर्ण यहाँका सिद्ध गुफा, लाटी बराही जस्ता स्थलको प्रवर्द्धन र विकास गर्नु आवश्यक रहेको ढोरफिर्दीका युवा प्रकाश भट्टराईले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *