फिचर

अमेरिकी राजदूत सक्रिय भएपछि चिनियाँ राजदूत यान्छी गुमनाम

काठमाडौँ । पछिल्लो समय चिनियाँ राजदूत होउ यान्छीको नेपालमा सक्रियता निकै बढ्दै गएको थियो । खासगरी नेकपाका नेताको घरघर जाने र मिल्न दबाब दिने अनि बालुवाटार र शीतलनिवासमा उनी हरेक साता पुगिरहन्थिन् । तर, जति गर्दा पनि नेकपा विभाजन रोक्न नसकेपछि अहिले उनी सेलाएकी छन् ।

यतिबेला नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीको सक्रियता बढेको छ । अमेरिकामा सत्ता परिवर्तन भएसँगै बेरीले नयाँ सरकारको सन्देश दिन पनि आफ्नो सक्रियता बढाएका छन् ।
गत शुक्रबार बेरीले बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनको सन्देश सुनाए ।

नयाँ राष्ट्रपतिले पद सम्हालेपछिको अमेरिकाका फेरिँदा प्राथमिकता र सहकार्यका विषयमा जानकारी गराउन राजदूत बेरी बालुवाटार पुगेका थिए । उनले अमेरिका र नेपालबीच पहिलेकै जस्तो सहकार्य हुने र नेपाल पहिलो प्राथमिकतामा परेको जानकारी दिएका थिए ।

राजदूत बेरीले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । कांग्रेस सभापति देउवासँगको भेटपछि अमेरिकी राजदूत बेरीले ट्वीट गर्दै अमेरिकामा नयाँ राष्ट्रपति आएपछिका विश्व प्राथमिकताका बारेमा छलफल गर्ने सिलसिलामा नेपाली सरकार र शिर्ष नेतृत्वसँगको भेटघाट हुने क्रम चलिरहेको बताएका छन् ।

प्रचण्डसँगको भेटमा प्रजातन्त्रलाई सुदृढ गर्ने, जलवायु परिवर्तनविरुद्ध लड्ने र विश्वभर महिला र बालिकाको मानव अधिकारलाई संरक्षण गर्ने अमेरिकी प्रतिवद्धता ब्यक्त गरेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *