रिबन

कांग्रेसले भन्यो, ओली कदमविरुद्ध सर्वसम्मत निर्णयका साथ आन्दोलनमा

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सर्वसम्मत निर्णयका साथ सडक आन्दोलनमा गएको जनाएको छ ।

कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी संसद् विघटनविरुद्ध पार्टी आन्दोलनमा रहेको स्पष्ट पारेका छन् ।

केही सञ्चारमाध्यममा आएका समाचारले गलत सन्देश दिएको भन्दै कांग्रेसले विज्ञप्ति जारी गरी भ्रम हटाउने प्रयास गरेको हो । ‘संसद् विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म गरिएका प्रदर्शनहरु सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न गरिएका हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ कांग्रेसको विज्ञप्ति

संसद् विघटनविरुद्ध आन्दोलनमा छ नेपाली कांग्रेस
संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमविरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा छ । कतिपय सञ्चारमाध्यममा नेपाली कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेकोे भ्रमपूर्ण समाचार प्रकाशित भएको हुंदा त्यसलाई स्पष्ट गर्न यो प्रेस नोट प्रकाशित गरिएको छ ।
संसद् विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्र देखि वडा तहसम्म गरिएका प्रदर्शनहरु सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न गरिएका हुन् । माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नु भएर बैठकले सर्वसम्मतिले नै पारित गरेको छ । आन्दोलनका आगामी कार्यक्रम निम्नानुसार रहेका छन्–
माघ १९ गते सोमबार
भ्रातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने ।
माघ २४ गते शनिबार
शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लाहरुमा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने ।
फागुन ३ गते सोमबार
नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने ।
(जिल्ला कार्यसमिति एवं भ्रातृ र शुभेच्छुक संस्थाहरूले यी कार्यक्रमलाई असर नपर्ने गरि अन्य कार्यक्रम समेत आयोजना गर्नसक्ने छन् )
अघिल्ला प्रदर्शनहरुमा रहेकोे ब्यापक सहभागिताले संसद विघटन विरुद्ध नेपाली जनताको भावनालाई अभिब्यक्त गरेको छ । आन्दोलनका आगामी कार्यक्रमहरुमा अझै व्यापक सहभागिता जुटाउन सिंगो पार्टी सम्पूर्ण एकताका साथ मैदानमा रहेको छ ।

जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट