ताजा समाचार

बुधबार नौ हजारले लगाए खोप

काठमाडौं। कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ बुधबार देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिए ।

आज भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । प्रवक्ता प्रा. डा. गौतमका अनुसार प्रदेश नं १ मा एक हजार २५५ जना, प्रदेश नं २ मा ७२६ जना, वाग्मती प्रदेशमा दुई हजार ६९४ जना, गण्डकी प्रदेशमा एक हजार ८४३ जना, लुम्बिनी प्रदेशमा ७३३ जना, कर्णाली प्रदेशमा ७५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन् ।

सरकारले चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ । यही माघ ८ गते भारत सरकारले १० लाख मात्रा खोप नेपाललाई अनुदानमा दिएको थियो । खोप अभियान शुभारम्भमा सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको प्रवक्ता गौतमले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट