रिबन

तीन महिनामा सबै नेपालीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन कति सम्भव ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार खोप कार्यक्रमको उद्‌घाटन गर्दै तीन महिनाभित्र सबै नेपालीलाई कोभिडविरुद्धको खोप निःशुल्क उपलब्ध गराइने बताए । प्रधानमन्त्रीको सो घोषणासँगै उनी निकट नेता कार्यकर्ता र पत्रकारले बढाइचढाइ समाचार बनाए ।

प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने बताए पनि सरकारद्वारा गठित विज्ञ समूहका संयोजकले नेपालीहरूलाई कोरोनाभाइरसको खोप दिन कम्तीमा एक वर्षको समय चाहिने बताएका छन्।

चरणबद्ध रूपमा खोपहरू प्राप्त हुने भएकाले नियमित रूपमा खोप अभियान चलाउँदा पनि अहिले भनिएको नेपालको जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने उनको भनाइ छ।

विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले बीबीसी नेपाली सेवासँग भनेका छन्, ‘अहिलेसम्म सरकारले भारतबाटै खरिद गर्ने लक्ष्य लिइरहेको छ। तर यदि त्यो तत्कालै सम्भव भएन भने हामीले कोभिड १९ विरुद्धको खोपसम्बन्धी अभियान कोभ्याक्सबाट हाम्रो जनसङ्ख्याको २० प्रतिशतका लागि खोप कुर्नुपर्छ। मार्च अप्रिल महिनासम्म त्यो खोप आउने उनीहरूले भनेका छन् ।’

एक व्यक्तिले दुई मात्रा लगाउनुपर्ने अक्सफर्ड एस्ट्राजेनेकाको भारतमा उत्पादित कोभिशील्ड खोप पहिलो खेपमा चार लाख ३० हजार जनालाई दिइने अधिकारीहरूले बताइसकेका छन्। खोप अभियानको पहिलो दिन अग्रपङ्क्तिमा कार्यरत नौ हजार जनलाई खोप दिइएको थियो।

प्रधानमन्त्री ओलीले भने जस्तै तीन महिनामा बाँकी जनसङ्ख्याका लागि पनि खोप उपलब्ध गराउनु चुनौतीपूर्ण हुनसक्ने देखिन्छ। स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञ तथा अधिकारीहरू खोप प्राप्तिको विषय विश्वको सबैभन्दा ठूलो खोप उत्पादक देश भारतसँग भइरहेका कूटनीतिक छलफलले निर्धारण गर्ने धारणा व्यक्त गर्छन्।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यसै महिना नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन दिल्ली जानुअघि नै नेपालले भारतलाई पत्र लेख्दै नेपालको जनसङ्ख्याको २० प्रतिशतलाई आवश्यक खोप खरिद गर्न सहयोग गर्न अनुरोध गरेको थियो। उक्त खोप खरिदको सम्झौता हुने या नहुने यकिन नभएपनि प्रयास भइरहेको आफूले बुझेको डा. उप्रेतीले जानकारी दिए।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप विश्वकै सर्वाधिक ठूलो खोप निर्माता कम्पनी सीरम इन्स्टिट्यूटले भारतमा उत्पादन गरिरहेको छ। केही समय पहिले त्यसका अधिकारीसँग दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले छलफल गरेका विवरण आएका थिए।

गरिब तथा मध्यम आय भएका देशमा खोपको सहज पहुँच पुर्‍याउने प्रयास गरिरहेको कोभ्याक्सले सीरम इन्स्टिट्यूटसँगको सम्झौताअनुसार १० करोड खोपको मात्रा प्राप्त गर्ने सम्झौतालाई कार्यान्वयन गर्न लागिएको पनि उल्लेख गरेको छ।

गत साता कोभ्याक्स अभियानले डब्ल्यूएचओले अक्सफोर्ड एस्ट्राजेनेकाको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिए सन् २०२१ को पहिलो चौमासिकमा आफ्नो अभियानमा आबद्ध कतिपय देशलाई खोप उपलब्ध गराउन थालिने जनाएको थियो।

कोभिड १९ विरुद्धको खोप प्राप्त गर्न गरिब देशहरूलाई सकस परिरहेको विवरणहरू आइरहेका बेला खोप अभियानको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले आगामी तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने बताएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *