रिबन

इन्फ्रास्ट्रक्चर बैंकको सेयर बाँडफाँट, अधिकतम ६० कित्तासम्म पाए

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो आइपिओको शुक्रबार बाँडफाँट भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपिओ भर्ने सबैले सेयर प्राप्त गरेका छन् ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार १० देखि ५० कित्तासम्म माग गर्ने सबैले मागबमोजिम सेयर पाएका छन् । बढी पाउनेले ६० कित्तासम्म सेयर पाएका छन् । कोही पनि खाली हात फर्कनु परेन ।

१० देखि ५० कित्तासम्म माग गर्ने सबै आवेदकलाई माग बमोजिम शेयर बाँडफाँट गर्दा १ करोड १२ लाख १९ हजार ८० कित्ता बाँडफाँट भएको छ । ६० कित्तादेखि दुई लाखसम्म माग गर्ने सम्पूर्ण आवेदकहरुमा ५० कित्ताका दरले पाँच करोड ९७ लाख २०० कित्ता सेयर बाँडफाँट गरिएको छ ।
यसरी बाँडफाँटपछि बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर ६० देखि दुई लाख कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी थप दश कित्ताका दरले चार लाख ९२ हजार ७२ जनालाई सेयर बाँडफाँट गरिएको छ ।

इन्फ्रा बैंकको आईपीओमा १४ लाख ८१ हजार २८४ जनाको आवेदन परेको थियो । कुल आवेदकमध्ये ६ हजार २७६ जनाको आवेदन रद्द भएको र योग्य आवेदक १४ लाख ७५ हजार ८ जनालाई बाँडफाँटमा सहभागी गराइएको थियो ।

कम्पनीले आठ अर्ब बराबरको आठ करोड कित्तामध्ये सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । अधिकत पूँजी ४० अर्ब र जारी पूँजी २० अर्ब रहेको कम्पनीको हाल चुक्तापूँजी १२ अर्ब रहेको छ । आईपीओ पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *