प्रदेश नं. १

व्यावसायिकरण हुँदै अम्लिसोको डाँठ

इलाम । अम्लिसो के का लागि प्रयोग हुन्छ ? झट्ट सोध्दा उत्तर आउँछ, घाँसका लागि । घाँसका लागि उपयुक्त मानिने अम्लिसो गाईवस्तुका लागि उपयुक्त मानिन्छ । यसको अनेक क्षेत्रमा प्रयोग हुने गरेको छ । पूर्वी पहाडी क्षेत्रमा घर बढार्न अम्लिसोकै कुचो बढी प्रयोग हुन्छ ।

यति मात्र होइन, अम्लिसोको डाँठ दाउरामा समेत प्रयोग हुन्छ । दाउरा नभएका बेला अम्लिसोका डाँठलाई दाउरामा प्रयोग गर्न सकिन्छ । अम्लिसोको कुचो बढार्नका लागि विदेश निर्यात हुन्छ । इलाममा यस्तो ठाउँ छ, जहाँबाट बढार्नका लागि अम्लिसोको डाँठ बिक्छ । सुन्दा अचम्म लाग्छ, कही वर्षअघिसम्म यही डाँठबाट कागज बनाइन्थ्यो । पछिल्लो समय कागज बनाइएको छैन । यही डाँठसहित कुचो बेचेर यहाँ किसानले गुजारा गर्छन् । इलामको रोङ गाउँपालिका किसानले अहिले अम्लिसोको फेददेखि टुप्पोसम्मको भाग कुनै न कुनैरूपमा प्रयोग गर्छन् ।

डाँठ बेच्नका लागि करिब दुईदेखि अढाइ फिट बनाउनुपर्छ । उपयुक्त नापको भएपछि मुठो पारेको डाँठ यहाँका किसानले घरबाटै बिक्छ । यसको मूल्य किसानले प्रतिकिलो रु पाँचदेखि रु १० सम्म पर्छ । “धेरै लागत पर्दैन । गाईवस्तुले खाएको भागबाहेक फ्याँक्ने भाग बिक्छ ।” व्यवसायी जीवनहरि भट्टराईले भन्छन्, “धेरै पहिलोदेखि यसरी बिक्न थालेको हो ।” यसको खास प्रयोग चाहिँ कुचोको बीचमा राख्नका लागि हो । कुचोको मुठा आकर्षक देखाउन व्यवसायीले डाँठ किन्ने गर्छन् । कुचो मात्र राख्न आकर्षण मुठो नहुने र धेरै कुचो खपत हुने भएकाले व्यवसायीले किसानबाट डाँठ किन्छन् ।

यो डाँठसमेत हालेपछि आकर्षण मूल्यमा कुचो बिक्ने गरेको व्यवसायी भट्टराईको भनाइ छ । अहिले यो क्षेत्रको अम्लिसोको कुनै भाग पनि खेर जाँदैन । झापाको नजिकको गाउँपालिका भएकाले पनि किसानलाई बजारको समस्या छैन । उनकाअनुसार कुचोको माग भारतबाट समेत आउने गर्दछ । झापास्थित धुलाबारी, काँकडभिट्टामा खपत हुन्छ भने भारतसमेत जाने गर्छ । प्रतिकिलोको दरमा बिक्री हुनेभन्दा यसरी कुचो बनाउँदा धेरै आम्दानी हुन्छ । “कुचो बनाएर बेच्दा धेरै मूल्यमा बिक्छ ।”

डाँठबाट कागज बनाउँदा अझै बढी बजार मूल्य
कुनैबेला झापामा अम्लिसोको डाँठबाट कागज बन्थ्यो । त्यसबेला किसानसहित व्यवसायीले पनि यसबाट राम्रो मूल्य पाउँथे । समयान्तरमा उद्योग बन्द भयो । अहिले नेपालभर यस्तो उद्योग छैन । विगतमा जस्तो मूल्य किसान र व्यवसायीले पाएका छैनन् । यदि स्थानीयस्तरमै उद्योग निर्माण भए किसानले उल्लेख्य मूल्य पाउने व्यवसायी भट्टराईको भनाइ छ ।

उद्योग बनाउन धेरै रकम खर्चिनुपर्ने भए पनि रोजगार दिने र स्थानीय बस्तु खपत हुने भएकाले यतापट्टि राज्यको ध्यान जानुपर्ने उनको भनाइ छ । विगतमा यसबारेमा छलफल भए पनि पछिल्लो समय खासै चासो नभएको रोङ– ५ का वडाध्यक्ष युवराज राईको भनाइ छ । त्यतिबेला कागज मात्रै होइन, डाँठबाटै कार्टुनसमेत बन्थ्यो । अम्लिसोको डाँठ बहुउपयोगी भएकाले हारालुछ बिक्री हुन्थ्यो । हुन त अम्लिसो कृषिजन्य सामग्रीमध्ये पनि हेपिएको वस्तुमा पर्छ । अलैँची, अदुवा, चियालाई जति सरकारले प्रवर्द्धनका कार्यक्रम ल्याएको छ, त्यति प्रोत्साहनका कार्यक्रम अम्लिसोका लागि छैन ।

व्यवसायी भट्टराईका अनुसार निजी क्षेत्रबाट समेत अम्लिसोको लागि खासै प्रयास नभएका हुन् । अन्य कृषिजन्य पदार्थका संघ÷महासंघ बनेपछि किसान, श्रमिक वा व्यवसायीको यसतर्फ ध्यान गएको छैन । उस्तै कृषिजन्य पदार्थ चिया र अलैँचीमा वर्षेनी प्रोत्साहनका कार्यक्रम आउँदा अम्लिसोका लागि रकम नै छुट्टिदैन । “यसका लागि किसान, व्यवसायी एकजुट हुन नसकेर हो ।”

व्यवसायी भट्टराईले भने, “सरकारले उद्योग बनाइदिए नै पनि धेरै प्रगति हुन्छ ।” जिल्लामा त अन्य कृषिजन्य पदार्थमा अम्लिसो घाँस वा पशुजन्य पदार्थमा पर्छ । गाईबस्तुमा प्रयोग हुने भएकाले यसलाई पशुजन्य पदार्थमा राखिएको छ । किसानले धेरै उत्पादन गरेका बेला कम र कम उत्पादन गरेका बेला बढी मूल्य हुने गरेको छ । बजार मूल्यको अस्थिरताका कारणले पनि धेरै किसानले अम्सिलो विस्थापन गरेर वैकल्पिक खेती गर्न थालेका छन् ।

“भाउको त टुङ्गै हुँदैन । कहिले आउँछ, कहिले आउँदैन”, कुचो किसान मातृका घिमिरेले भने । कुचोको बिक्रीसमेत अन्य वस्तुको जस्तो सहज हुँदैन । काँचो टिपेमा यसको भुँवा झरेर घट्ने सम्भावना बढी हुन्छ । यसैले किसानले टिप्ने बेलामा सचेत नभएमा उपयुक्त दाम नपाउन सक्छन् ।

घिमिरेका अनुसार तयारी चिया, अलैँची जस्ता पदार्थ एक वर्षको उत्पादन अर्को वर्ष बेच्दा मिल्छ । कुचो उत्पादन भएकै वर्ष बेचिसक्नुपर्छ । सोही वर्ष नबिके अर्को वर्ष गुणस्तरहीन हुन्छ । पछिल्ला वर्षमा भारतकै ग्रामीण भेगमा अम्लिसो उत्पादन हुन थालेपछि नेपाली कुचोको माग घट्न थालेको छ । नेपालबाट जाने कृषिजन्य वस्तु नाका छिराउन भारतले अनेक समस्या दिन्छ । कुचोको गुणस्तर खस्किनाले कम मूल्यमा बिक्री हुने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *