फिचर

च्वाडी स्कुललाई सम्झँदा

मेरो मूल घर धादिङ जिल्लाको ढोला, वरभञ्ज्याङ हो । यद्यपि, म धादिङे चाहिँ होइन, नुवाकोटे नै हुँ । २०२७ सालतिर मेरा पिताजी सपरिवार धादिङबाट बसाइँ सरी नुवाकोटको बट्टार आएछन् । मेरा दुई दाजु र एक दिदी थिइन् । पिता धादिङमा भएका जायजेथा आफ्ना भान्जा पर्नेलाई सुम्पिएर बसाइँ हिँडेका रहेछन् । पिताजीले जसोतसो दुःख गरेर पछि बट्टारमा घर बनाएछन् । २०३१ असार २४ गते बट्टारकै घरमा मेरो जन्म भएको रे । बालापन सम्झिँदा अहिले पनि रोमाञ्चित हुन्छु म ।
जब म ५ वर्षको भएँ, तब पिताले मलाई घरनजिकैको भीमसेन प्राथमिक विद्यालयमा नाम लेखाइदिए । सुरू–सुरूमा विद्यालयमा पढ्न जान डराउँथेँ म । बहुत रुन्थेँ, कराउँथेँ । पिता–माताले सम्झाई बुझाई विद्यालयसम्म पुर्याएर छाडिदिन्थे । पछि विस्तारै बानी लाग्यो । त्यसपछि त पछि विद्यालयमै रमाइलो लाग्न थाल्यो । विद्यालय पढ्दाका मिल्ने साथी थिए नवीन्द्रमान श्रेष्ठ, देवनारायण चित्रकार, धुव्रलाल श्रेष्ठ, धनबहादुर श्रेष्ठ आदि ।

विद्यालयको भवन पुरानो र जीर्ण थियो । भित्ता तथा भुइँ लिपपोत नगरिएका फुंग रङ उडेका थिए । कक्षाकोठामा बस्नका लागि डेस्कबेञ्चको व्यवस्था कहाँ हुनु ! हामी आफैले घरबाटै लगेका बोराका चकटी नै हाम्रा डेस्कबेन्च थिए । हाम्रा गुरुहरू थिए– भीमसेन अर्याल, विजयमानसिंह डंगोल, वासुदेव बानियाँ आदि ।

दुई समूहमा विभाजन भएर सिनेमामा जस्तै एकआपसमा डाइलग मार्दै भिड्न थाल्यौँ । ढुंगा हानाहान गर्न थाल्यौँ । त्यस क्रममा साथी धनबहादुरको टाउकोमा ढुंगाले लाग्यो ।

विद्यालय हाताभित्र रातामाटाका थुप्रै ढिस्काहरू थिए । वर्षाको भेलले रातो माटो बगाएर ठूल्ठूला भड्खालो बनाउँथ्यो । हामी हाफछुट्टीको समयका साथै खाली भएको समयमा दौडदै एक खोल्साबाट हाम फाली अर्काे खोल्साको किनारमा पुग्दथ्यौँ । यसो गर्नु ज्यादै रमाइलो लाग्थ्यो । कहिले त गृहकार्य नै नगरी खोल्साभित्र लुकेर घण्टौँ समय पनि बिताउँथ्यौँ ।
रमाइलो विद्यालयमा कहिलेकाहीँ नरमाइलो पनि हुन्थ्यो । विद्यार्थीहरू काम्ने र रुने गर्दथे एकाएक कहिलेकाहीँ । नजिकै सेनाको तालिम केन्द्र थियो । मरेका सेनालाई त्यहीँ दबाइने गरेकाले मृतकको आत्माले त्यसरी सताएको हो भन्ने जनविश्वास थियो । त्यो बेला सार्है डर लाग्थ्यो रमाइलो विद्यालयमा ।

एकदिनको कुरा हो । हामी दुई कक्षामा पढ्थ्यौँ । एकजना अनन्य मित्र श्यामलाल श्रेष्ठ बेस्सरी काम्न थाले । रून कराउन थाले । उनलाई लामो समयसम्म ठीक भएन । त्यसपछि शिक्षकले नै उनलाई बोकेर घरमा लगिदिए । अनेक औषधि उपचार गर्दा नि उनलाई ठीक भएन । अन्ततः उनको जीवनलीला नै समाप्त भयो । त्यो घटना सम्झिँदा आजसम्म पनि गहिरो दुःख लाग्छ ।
हामीले तीन कक्षा उत्तीर्ण ग¥यौं । अब चार कक्षा पढ्नका लागि च्वाडी वा त्रिशूली जानुपर्ने हुन्थ्यो । निकै ठूलो समस्या थियो । तर, हामी भाग्यमानी । बट्टारका केही शिक्षाप्रेमीहरूको पहलमा पाँच कक्षासम्म सञ्चालनको स्वीकृति पायो हाम्रो विद्यालयले । हामीले पाँच कक्षासम्म सोही विद्यालयमा पढ्ने अवसर पायौँ । कक्षा पाँचमा पढ्दै गर्दा हामी अलि बद्मास भइसकेका थियौँ । बिदाको समय आउनै नहुने । विदाको दिन आयो कि साइकल भाडामा लिएर हामी घुम्न निस्किन्थ्यौँ– ढिकुरे, देवीघाट, बेत्रावती आदि ।

त्यतिखेर टेलिभिजन भन्ने यन्त्र आएकै थिएन सायद । बट्टारभरिमा त्यो जिनिस उपलब्ध थिएन । तर, भिडियो हल भने थियो । मामा नाता पर्ने कृष्णप्रसाद श्रेष्ठको घरमा त्यो सेवा उपलब्ध थियो । पैसा तिरेर भिडियो हलमा सिनेमा हेर्न पाइन्थ्यो । सिनेमामा देखिने झैँझगडा र त्यसको कथावस्तुले हुरुक्कै पार्थ्याे । हामी एक टकले सिनेमा हेथ्र्यौं । र, सोहीअनुसार अनुशरण गर्ने प्रयत्न पनि गर्थ्याैं ।

शुक्रबारको हाफ छुट्टी र शनिबार बिदा हामीलाई दसैँ आएजस्तो हुन्थ्यो । शुक्रबार छुट्टी हुनासाथ कक्षाका साथी उदयबहादुर रानामगरले हामीलाई आफ्नो घर मदानपुर लग्थे ।

एकदिन विद्यालय छुट्टी भएपछि सिनेमाको जस्तै नक्कल गर्न हामी विद्यालय नजिकैको वनमा पस्यौँ । दुई समूहमा विभाजन भएर सिनेमामा जस्तै एकआपसमा डाइलग मार्दै भिड्न थाल्यौँ । ढुंगा हानाहान गर्न थाल्यौँ । त्यस क्रममा साथी धनबहादुरको टाउकोमा ढुंगाले लाग्यो । उसको टाउको फुटेर रगत बग्न थाल्यो । हामी त अत्तालियौँ । ला, अब के गर्ने ? हत्त न पत्त म भागेर एकै सासमा घर पुगेँ र कोठाको खाटमुनि लुकेर बसेँ । त्यस्तै तीन घण्टा जति म त्यसरी लुकेर बसेँ हुँला । डरले ३–४ दिनसम्म म विद्यालय गइनँ । अहिले पनि त्यो साथीलाई भेट्यो कि त्यही घटना ताजा भएर आउँछ र म लज्जित बन्छु ।

त्यस्तै एकदिन विद्यालय विदा भएपछि हामी घरनजिकैको गौसी पोखरीमा पौडी खेल्न गएका थियौँ । पौडी खेल्न बट्टारका साना–ठूला सबै जम्मा हुन्थे । धितमर्ने गरी हामी पौडी खेल्थ्यौँ । वर्षाको पानी जम्ने भएकाले खोला बहुत धमिलो हुन्थ्यो । हामी साना खालेलाई पौडी खेल्न त्यति आउँदैन थियो । सिकारु हामी पौडी खेल्ने क्रममा फोहोर पानी खुब पिउँथ्यौँ । गौसी पोखरीनजिकै घना जंगल थियो । वनमा आँप, थाकल, डुम्री जस्ता फलहरू हुन्थे । ती खान्थ्यौँ । रमाउँथ्यौँ । त्यसरी नै बितिरहेका थिए दिनहरू ।

हिजोआज भन्दाभन्दै कक्षा ५ को अन्तिम परीक्षा पनि आयो । हामी सबै उत्तीर्ण भयौँ । र, त्यसमाथिको कक्षा अर्थात् कक्षा ६ मा पढ्नका लागि कोही त्रिशूलीतर्फ लागे भने धेरैजसो च्वाडीतर्फ । म च्वाडी गएँ । मेरा माहिला दाजु घनश्यामले मलाई कक्षा ६ मा भर्ना गरिदिए । कक्षा ६ मा बट्टारबाट मलगायत साथीहरू नवीन्द्रमान श्रेष्ठ, सजनी श्रेष्ठ, मेनुका श्रेष्ठ, बेनुका श्रेष्ठ, जयन्ती अमात्य, दुर्गा श्रेष्ठ र गमला श्रेष्ठ थिए । अन्य विद्यालयबाट उदय रानामगर, नरेन्द्र प्रधान, गीता गजुरेल, गोमा न्यौपाने, ज्ञानकुमार श्रेष्ठ, केशव गजुरेललगायतका साथीहरू पनि मिसिए ।

विद्यालयमा स्काउट खेलाइन्थ्यो । स्काउट शिक्षक थिए सुरेन्द्र प्रधान । लिजर पिरियड अर्थात् बिदाको समयमा आफूभन्दा माथिल्ला कक्षाका विद्यार्थी स्काउट ड्रेसमा लामवद्ध भई तालिम गरेको देख्दा लोभ लाग्दथ्यो । आफूलाई पनि स्काउटमा भाग लिन मन लाग्थ्यो । घरमा पुग्नुबित्तिकै मातापितालाई आफ्नो रहर बताएँ र स्काउटमा भर्ना गरिदिन बिन्ती बिसाएँ । तर, घरमा मेरो प्रस्ताव स्वीकृत भएन । म रोएँ, कराएँ । दुःखी बनेँ । बल्ल तल्ल माहिला दाइको सल्लाहले काम र्गयो । पिताजीले मान्नु भयो । म स्काउटमा सरिक हुन पाएँ ।

त्यतिखेर राजा वीरेन्द्रको जन्मोत्सव आइरहेको थियो । सदरमुकाम विदुरमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शनीसहित सबै लामबद्ध भएर जन्मोत्सव मनाउने गरिन्थ्यो । त्यसका लागि विद्यालयबाट स्काउट टोलीको नेतृत्व गरी मैले पनि संलग्न हुने मौका पाएँ । आहा १ कत्ति रमाइलो । अहिले सम्झिँदैमा पनि आल्हादित हुन्छ मन ।

स्काउटमा सहभागी हुँदा वनभोजका लागि धेरै ठाउँमा संलग्न हुन पाएको छु । कक्षा ७ पछि भने मलाई स्काउट छोड्न घरबाटै बाध्य पारियो । पढाईलाई बाधा पार्छ त्यसले भन्ने सोँचले काम ग¥यो घरमा । मेरो पढाइ अब्बल नै मानिन्थ्यो विद्यालयमा ।

कक्षा ७ मा पूर्वव्यावसायिक शिक्षा विषय पढ्नुपथ्र्यो । उक्त विषय विद्यालयका प्रधानध्यापक लबबहादुर डंगोलले पढाउँथे । बहुत शालीन एवं भद्र व्यक्तित्व थिए डंगोल सर । उनलाई सबैले सम्मान गर्दथे । त्यसबेला पशुपालन, मत्स्यपालन, तरकारी उत्पादन तथा बोटबिरूवा उमार्ने र रोप्ने तरिका अभ्यासको रूपमा सिकाइन्थ्यो ।

शुक्रबारको हाफ छुट्टी र शनिबार बिदा हामीलाई दसैँ आएजस्तो हुन्थ्यो । शुक्रबार छुट्टी हुनासाथ कक्षाका साथी उदयबहादुर रानामगरले हामीलाई आफ्नो घर मदानपुर लग्थे । बीच बाटोमा पर्ने तादी खोला छ । हामी त्यसमा खुब पौडी खेल्थ्यौ । बालुवामा लडिबुडी गथ्र्यांै । माछा माथ्र्यौं । र, बाटोको जंगलमा सिजनका बेला बयर टिपी खान्थ्यौँ । तादी खोलामा पौडी खेल्दाको मज्जा नै बिछट्टै ।

हामी कक्षा १० मा पढ्दा २०४६ सालमा पञ्चायती व्यवस्थाविरूद्ध जनआन्दोलनको राँको बल्न थालिसकेको थियो । विद्यालयमा पनि पञ्चायतविरूद्धका गतिविधि सञ्चालन हुन्थे ।

एकदिन तादी खोलाको नारायणस्थानमा जमेको पानीमा पौडी खेल्न दीपक, जितेन्द्र, नवीन्द्र र मलगायत केही साथीहरू गएका थियौँ । प्रायः हामी सबैलाई पौडन आउँथ्यो । हामी खोलाको माथिल्लो ढिस्को करिब बीस मिटर माथिबाट खोलामा हाम फाल्थ्यौँ । तर, नवीन्द्रलाई भने पौडिन आउँदैनथ्यो । उनी खोलानजिकै नुहाउँदै थिए । त्यसैक्रममा उनी अचानक खोलामा डुबे । हाम्रो त सातै गयो । म बाँकटे हान्दै गएर उनको कपालमा च्याप्प समातेँ र खोलाबाहिर निकालेँ । बेस्मारी पानी निलेर उनी इन्तुन चिन्तु बनेका थिए । हामीले उनको पेटमा मिचेर मुखबाट बाहिर पानी निकाल्यौँ । बल्ल बल्ल उनी पूरा होसमा आए । उनी बाँचे । हाम्रो पनि सातो फर्कियो । त्यस दिनदेखि तादी खोलामा पौडी खेल्ने क्रम करिब करिब बन्द भयो ।

गीता गजुरेल हाम्रो कक्षाका तेजस्वी छात्रा थिए । साथीभाइ भनेपछि हुरूक्कै हुने । उनी अमला औधि मन पराउने । किताब बोक्ने झोलाभरि अमला ल्याउँथे । आफू पनि खान्थे र अरूलाई पनि खुवाउँथे । उनले एक दिन हाफटाइममा हामीलाई विद्यालयनजिकैको बारीमा अमला टिप्न लगे । उनी रूख चढ्न पनि सिपालु । रूखमा चढेर अमलाको बोट हल्लाउन मात्र के लागेका थिए, घरधनीले कुकुर फुकाएर छाडिदिए । हामी टाप कस्यौँ तर उनी रूखको टुप्पामा थिए । त्यहीँ बसेर रुन थाले । ‘आइन्दा अमला चोरी खान नआउने’ शर्तमा बल्ल घरधनीले छाडिदिएछ । उनले पछि हामीलाई बेलिविस्तार लगाए । हामी त अघि नै घर पुगिसकेका थियौँ भागेर ।

८ कक्षासम्म सीमित साथीभाइ थियाँै । तर, ९ कक्षामा पुग्दा धेरै साथीहरू आए अन्यतिरका विद्यालयबाट । सम्झना भएअनुसार नयाँ थपिनेमा सम्मरबहादुर आलेमगर, राजु पण्डित, नारायणलाल महर्जन, रमी विष्ट, सीता श्रेष्ठ, सन्तुमाया श्रेष्ठ, दामोदर खतिवडा, राजु श्रेष्ठ, किशोरकुमार महत, अशोक रिमाल, नारायण सिम्खडा, राजाराम सिलवाल, परिक्षित के।सी।, आशा डंगोल, धु्रव श्रेष्ठ आदि थिए । विद्यार्थीको संख्या बढी हुनाले सानो कक्षा कोठामा अट्न हम्मे हम्मे पर्दथ्यो । कक्षा कोठाको बसाई क्रम चक्रीय प्रणालीअनुसार राखिन्थ्यो ।

त्यसवर्ष वीरेन्द्र शिल्ड प्रतियोगिता नजिकिँदै थियो । आफ्नो र विद्यालयको नाम राख्न हामी सबैले मेहनतका साथ विभिन्न खेलमा सहभागिता जनाएका थियाँै । प्रायः जसो हामी भलिबलमा रुचि राख्थ्यौँ । भलिबलको सटर थिएँ म । विशेष गरेर उदय रानामगर, रामकृष्ण राजभण्डारी, नारायणलाल महर्जन, सुमन अर्याल, राजु पण्डित, ज्ञानकुमार श्रेष्ठ, सम्मरबहादुर आलेमगर र मलगायतका साथीहरू भलिबल खेलमा सहभागी हुन्थ्याैँ । वीरेन्द्र शिल्ड प्रतियोगितामा पहिलो चरणमा हामी विजयी भयौँ । तर, दोस्रो चरणमा असफल । वीरेन्द्र शिल्ड प्रतियोगितामा हामी संलग्न भइरह्यौँ ।

हामी कक्षा १० मा पढ्दा २०४६ सालमा पञ्चायती व्यवस्थाविरूद्ध जनआन्दोलनको राँको बल्न थालिसकेको थियो । विद्यालयमा पनि पञ्चायतविरूद्धका गतिविधि सञ्चालन हुन्थे । खास गरेर चन्द्रप्रसाद उप्रेती र शिवकुमार मिश्र सरले लुकीछिपी विद्यार्र्थीलाई पञ्चायतविरूद्ध लाग्न सल्लाह दिन्थे । हाम्रो बट्टारको घरमा मेरा माइला दाजु घनश्याम श्रेष्ठले पञ्चायतविरोधी बैठकहरू राख्थे लुकीछिपी । बैठकमा चोकराज शाक्य, प्रकाशचन्द्र ढुंगाना, राजु श्रेष्ठ, बिहारीलाल श्रेष्ठ आदि दाइहरू गोप्य रूपमा भेटघाट गर्दथे । पञ्चायतविरूद्धमा लेखिएका पर्चा बेलुकीपख विभिन्न ठाउँमा छर्नका लागि मलाई अराउँथे । दाइहरूले अराएको कामलाई म सहर्ष स्वीकार गर्थेँ । गंगटे, बट्टार, विदुरका विभिन्न ठाउँमा पर्चा छर्थेँ डराउँदै भए पनि ।

अझै याद छ, पञ्चायती व्यवस्था मुर्दावाद, बहुदलीय व्यवस्था जिन्दावाद ! भनेर भित्ताहरूमा लेखेको । त्यो काम हामी राति गर्दथ्यौँ । उक्त गतिविधिमा संलग्न रहँदाको समय सम्झँदा अहिलेको गणतन्त्र र नयाँ सविधान कार्यान्वयनमा त्यो प्रयास सानै भए पनि कोसेढुङ्गामा सावित भएकोमा गर्वको अनुभूति हुन्छ । कक्षा १० पढ्दै गर्दाको एक दिन । कात्तिक महिना हुनुपर्छ । मेरो टाउको अर्थात् दिमागमा समस्या देखा पर्याे । उपचारका लागि काठमाडौँको अस्पतालमा भर्ना गरियो । एक महिनाको उपचारपछि घर फर्कें म । मलाई त्यसताक उपचार गर्ने डाक्टर थिए– डा. उपेन्द्र देवकोटा । डाक्टरको सल्लाहअनुसार मैले घरमा तीन महिना जति आराम गरे ।

कक्षा १० को अन्तिम परीक्षा आउन केही समय मात्रै बाँकी थियो । पुनः कक्षा दोहोराएर पढ्ने विचारमा थिएँ म । तर, शिवकुमार मिश्र सरले परीक्षा दिन सल्लाह दिए । साथै एसएलसीको तयारी गर्न भने । मैले अन्तिम परीक्षा दिएँ । सफल पनि भएँ । एसएलसी परीक्षाको तयारीका लागि विद्यालयमा कोचिङ कक्षा चल्थ्यो । म पनि सहभागी भएँ । गणित, विज्ञान र अंग्रेजीको टुयुसन पढियो । एसएलसी परीक्षा २०४७ सालमा दियौँ ।

एसएलसी दिने विद्यार्थी साथीहरू थिए । क्रमशः धु्रव श्रेष्ठ, केशव गजुरेल, मेनुका श्रेष्ठ, राजेन्द्र चालिसे, अमला श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, राजु श्रेष्ठ, सुदर्शन आचार्य, ज्ञानकुमार डंगोल, नुरदेव खतिवडा, दामोदर खतिवडा, ठाकुर लामा, रामचन्द्र तामाङ, अवतार लामा, रमी विष्ट, सजनी श्रेष्ठ, श्यामराजा भाट, किशोरकुमार महत, राजु पण्डित, सन्तुकुमारी श्रेष्ठ, अम्बिका श्रेष्ठ, बेनुका श्रेष्ठ संगीता अर्याल, गणेशमान श्रेष्ठ, दयानिधि अधिकारी, हरिप्रसाद भट्ट, दामोदर कडेल र मिनप्रसाद दाहाल ।

त्यसैगरी, अशोक रिमाल, राजन मल्ल, जंगबहादुर कुमाल, नारायण सिग्देल, भुवन गजुरेल, तोयानाथ गजुरेल, राजाराम सिलवाल, दीपक गजुरेल, माधव गजुरेल, रामकृष्ण रिमाल, गोमा गजुरेल, कृष्ण गजुरेल, सीता श्रेष्ठ, दुर्गा डंगोल, सरस्वती श्रेष्ठ, रामप्रसाद कोइराला, हर्कबहादुर डंगोल, सीताराम रिमाल, विष्णुभक्त डंगोल, केशव गजुरेल, गोपाल गजुरेल, दामोदर नेपाल, यमनाथ भट्ट, परिक्षित केसी, जयन्ती अमात्य, आशा डंगोल, जयन्ती केसी, रामकृष्ण राजभण्डारी, सम्मरबहादुर आलेमगर, नरेन्द्र प्रधान, लेखत गजुरेल, श्रीराम श्रेष्ठ, गीता गजुरेल, दीपक सिम्खडा, रामचन्द्र आचार्य, सुमन अर्याल, सजनी श्रेष्ठ, उदय रानामगर, नारायणलाल महर्जन, बेनुका श्रेष्ठ, नवीन्द्रमान श्रेष्ठ । म सेकेण्ड डिभिजनमा पास भएँ । साथीहरू पनि सफल भए ।

अब उच्च शिक्षा हासिल गर्न हामी च्वाडी विद्यालयबाट छुटिई विभिन्न क्याम्पसतिर लाग्यौँ । अहिले त्यतिबेला एसएलसी दिएका साथीहरूसँग छुट्टिएको पनि २६ वर्ष बितिसकेछ । हिजोजस्तो लाग्थ्यो । समय बितेको पत्तै नहुँदो रहेछ । साथीहरू देश या विदेश जहाँ रहेका छन्, सबैको प्रगति होस्, शुभेच्छा ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *