समाचार

घरबासबाट समृद्धिको अपेक्षा गर्दै ढोरपाटनवासी

गण्डकी । बढ्दो चिसोका कारण ढोरपाटनको आसपासका खोलामा पानी जमेको छ । गण्डकी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य यस स्थानमा चिसो मौसम भए पनि यतिखेर पर्यटकको आगमन भइरहेको छ । पर्यटक आउन थालेसँगै यहाँका स्थानीयवासी भने कठ्याङ्ग्रिँदो चिसोको प्रवाह नगरी पर्यटकलाई न्यानो आतिथ्यताका लागि तम्मतयार हुने गरेका छन् ।

पर्यटक नियमित आगमन भइरहने ढोरपाटनमा उनीहरूलाई खान बस्न सुविधा दिने उद्देश्यका साथ स्थानीयवासीले तीन वर्ष यता पाखाथर सामुदायिक घरबास सञ्चालनमा ल्याएका छन् । घरबास सञ्चालनसँगै पर्यटकलाई आतिथ्यता प्रदान गर्न सहज भए पनि पर्याप्त पूर्वाधार भने अझै तयार गर्न नसकिएको पाखाथर सामुदायिक घरबासका सञ्चालक पुनम बुढा मगरले बताइन् । “ढोरपाटन आउने जो कोही पर्यटकलाई व्यवस्थितरुपमा खान बस्नको सुविधा प्रदान गर्ने उद्देश्यका साथ यहाँका पाँच घरमा घरबास सञ्चालन गर्दै आएका छौँ”, उनले भनिन्, “पर्यटकको सुविधाका साथै यसैबाट स्थानीयवासीको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य पनि छ ।”

नेपालको एक मात्र शिकार आरक्ष भएकाले स्वदेशी पर्यटकका साथै विदेशी पर्यटक आउने गरेको उनले बताइन् । पर्यटकको बढ्दो आकर्षणसँगै आन्तरिक पर्यटकको पनि आगमन बढ्दै गएपछि यहाँका स्थानीयवासीको सक्रियतामा घरबास सञ्चालनमा आएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताए ।

घरबास सञ्चालनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ अघिल्लो वर्ष बागलुङको गलकोट सञ्चालित तालीममा यहाँका घरबास सञ्चालकलाई पनि सहभागी गराइएको उनले जानकारी दिए । “ढोरपाटन आउने पर्यटकलाई घरबासमार्फत सेवा सुविधा दिँदै त्यसैबाट आर्थिक समृद्धि हासिल गर्ने यहाँको स्थानीयवासीको लक्ष्य छ”, उनले भने, “उनीहरूको लक्ष्यलाई सफल बनाउन भिटोफका तर्फबाट विभिन्न तालीमका साथै प्रवर्द्धनात्मक कार्यक्रम गर्ने योजना सञ्चालन गर्दै आएका छौँ ।” घरबासको प्रवर्द्धनकै लागि गत पुसको दोस्रो साता पोखरा पर्यटन व्यवसायी, सञ्चारकर्मीसहितको टोलीले उक्त स्थानको प्रवर्द्धनात्मक भ्रमण गरिएको अधिकारीले बताए ।

धौलागिरी हिमशृङ्खलाभित्र रुकुम, म्याग्दी र बागलुङ गरी तीन जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्ष एक हजार ३ सय २५ वर्ग किलोमिटरमा फैलिएको छ । विसं २०४० (सन् १९८३) मा स्थापित यस आरक्षले विसं २०४४ (सन् १९८) मा मात्र सरकारी मान्यता प्राप्त गर्यो । उत्तरतर्फका पुथा, चुरेन र गुर्जा हिमालले ढोरपाटनको गरिमा र महत्व बढाएको उनले बताए ।

समुन्द्री सतहबाट दुई हजार ८५० मिटर (नौ हजार ३५० फिट) देखि पाँच हजार ५०० मिटर(१८,००० फिट) उचाइमा अवस्थित रहेका कारण विशेषत जाडोका समयमा यहाँ निकै चिसो हुने गरेको अर्का स्थानीयवासी एवं घरबास सञ्चालक सीता पुनले बताइन् । उनकाअनुसार यस क्षेत्रमा असोज महिनाको सुरुवातसम्म वर्षात् मौसम रहन्छ । हिउँद सुरु भएपछि अत्यन्त चिसो हुने भएकाले यहाँका स्थानीयवासी बोबाङ, कोबाङलगायतका स्थानमा आफ्ना पशुसहित तल्लो भेगमा झर्ने र तापक्रम बढ्दै गएपछि फर्कने गरेको उनले जानकारी दिए ।

हिउँदका समयमा तापक्रम माइनसमा झर्ने तथा जोडसँग हावा चल्ने गर्दछ । माघ तथा फागुन महिनातिर यहाँको तल्लो भेगसम्म नै हिउँ पर्नुका साथै खोलानालाको पानीसमेत जम्ने गर्दछ । जाडोमा पानी नै जम्ने भएकाले यहाँका स्थानीयवासी छ महिना तल्लो भेगमा झर्ने र छ महिना ढोरपाटनमा रहने गरेको स्थानीयवासीको भनाइ छ ।

बागलुङको पश्चिम भूभागमा पर्ने बुर्तिवाङ बजारबाट करिब तीन घन्टामा ढोरपाटन पुगिन्छ । नेपालको एक मात्र शिकार आरक्ष भएर पनि ढोरपाटनसम्म पुग्ने बाटो भने अझै व्यवस्थित हुन नसकेको पर्यटन व्यवसायी कृष्णकुमार श्रेष्ठले बताए । “नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन गण्डकी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो”, उनले भने, “यहाँ आउने पर्यटकले अझै पनि बाटो राम्रो नहुँदा सास्ती पाउनुपरेको छ ।” बुर्तिवाङबाट सालझण्डी सडक हुँदै ढोरपाटन पुग्न सकिन्छ । पछिल्ला वर्षमा आन्तरिक पर्यटकको पनि चहलपहल बढ्न थालेपछि ढोरपाटनसम्म पुग्नका लागि जीप तथा साना प्रकारका बस चल्ने गरेका छन् ।

पर्या–पर्यटनको आकर्षक गन्तव्य जस्तै बनेको ढोरपाटन र आसपासको जङ्गलमा गोब्रे सल्ला, सल्ला, भोजपत्र, लाली गुराँस, ठिँग्रे सल्ला, सिदुर, धुपी तथा देबदारुलगायतका विभिन्न वनस्पति पाइन्छन् । तथ्याङ्कअनुसार यस क्षेत्रमा १ सय ८५ थरीका दुर्लभ वनस्पति, ३२ थरीका स्तनधारी वन्यजन्तु, १ सय ३० प्रजातिका चराचुरुङ्गी, नाउर, झारल, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लङ्गुर आदि पाइन्छ ।

कोरोनाको कहरसँगै बन्दाबन्दी र त्यसयता लामो समयसम्म पर्यटक नआउँदा ढोरपाटन सुनसान बनेको घरबास सञ्चालक बताउँछन् । कोरोना केही मात्रामा सहज भएसँगै पर्यटक आउन थालेपछि अहिले भने आफूहरू उत्साहित बनेको उनले बताए । “पछिल्ला दिनमा देशका विभिन्न भागबाट ढोरपाटन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “चिसो मौसमका बाबजुद पनि हामीहरू पर्यटकलाई सेवा प्रवाह गरिरहेका छौँ ।” घरबास पर्यटकमैत्री पूर्वाधार बढाउने क्रम बढिरहेको उनले बताए । घरबासमा आउने पर्यटकलाई स्थानीय प्राङ्गारिक उत्पादन खुवाउने गरेको घरबास सञ्चालक बताउँछन् । यहाँ उत्पादित आलुको बजारमा राम्रो माग हुन्छ । आउने पर्यटकलाई उसिनेको आलु, टिमुरको अचार आदिका साथै मकै आदिको खाजा खुवाउने गरिएको अर्का घरबास सञ्चालक मङ्गली अदैले जानकारी दिए ।

स्थानीय रक्सीका साथै यही उत्पादन हुने सिमीको दाल, गुन्द्रकको अचार जस्ता स्थानीय परिकारको स्वाद चखाउने गरिएको उनले बताए । ढोरपाटनको बढ्दो पर्यटकीय आकर्षणसँगै पर्यटकलाई सेवा प्रवाह गरी आयआर्जनसमेत बढाउने उद्देश्यले घरबास सञ्चालनमा ल्याइएको बताउँदै उनले पूर्वाधार विकासलगायतमा राज्यको सहयोग अपरिहार्य भएको धारणा राखे ।

घरबास पर्यटनमार्फत यहाँका स्थानीयवासी आयआर्जन बढाउनेतर्फ देखिएको क्रियाशीलतालाई राज्यका तर्फबाट साथ र सहयोग हुनुपर्ने भिटोफ गण्डकीका अध्यक्ष अधिकारी बताउँछन् । बढ्दो पर्यटकीय आकर्षणसँगै ढोरपाटनका स्थानीयवासी घरबास सञ्चालनतर्फ आकर्षित बन्नु पर्यटन क्षेत्रका लागि सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले आवश्यक पूर्वाधारको विकासका लागि स्थानीय तह, प्रदेश तथा संघ सरकार सबैले साथ र सहयोग दिनुपर्ने आवश्यकता औँल्याए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *