फिचर

आङ सान सू चीको प्रतिष्ठा कसरी ओरालो लाग्यो ?

सोमवार देशलाई आफ्नो नियन्त्रणमा लिनुअघि बिहान सबेरै म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेतालाई गिरफ्तार गर्‍यो। विवादित चुनावलाई लिएर सू चीको सरकार र सेनाबीच तनाव बढिरहेका बेला म्यान्मारमा सैन्य कू भएको हो।

गत वर्ष नोभेम्बरमा भएको निर्वाचनमा सू चीको न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठनका लागि पर्याप्त सीट जितेको थियो। सोमवार नवनिर्वाचित संसद्को पहिलो सत्र बस्नुअघि सेनाले ‘निर्वाचनमा धाँधली’ भएको भन्दै सत्ता सेना प्रमुखलाई सुम्पन लागेको बताएको थियो। सेनाको टीभीले सत्ता सेनाको हातमा गएको र एक वर्षका लागि देशमा सङ्कटकाल लगाइएको घोषणा गरेको थियो। आङ सान सू चीले आफ्ना समर्थकहरूलाई ‘यसलाई अस्वीकार गर्न’ र ‘कूविरुद्ध प्रदर्शन’ गर्न भनेकी छन्।

बर्मा पनि भनिने म्यान्मारमा सन् २०११ मा प्रजातान्त्रिक सुधार हुनुअघि सेनाले शासन चलाएको थियो। सन् २०१५ मा दशकौँपछि खुला प्रतिस्पर्धाको पहिलो चुनाव भएपछि त्यसमा आङ सान सू चीले उल्लेख्य मतसहित चुनाव जितिन् र सत्तामा पुगिन्। सेनाका जेनरलहरूको कठोरतालाई चुनौती दिन उनले आफ्नो स्वतन्त्रता त्यागेको भन्दै उनलाई प्रजातन्त्रकी प्रतीकको रूपमा हेरिन्थ्यो।

बौद्ध धर्मावलम्बीको बाहुल्य भएको देशमा उनी व्यापक रूपमा लोकप्रिय छिन्। तर रोहिन्ज्या सङ्कटका बेला उनको प्रतिक्रियालाई लिएर अन्तर्राष्ट्रिय रूपमा उनको छवि गुम्यो।
आङ सान सू चीले सन् १९८९ देखि सन् २०१० सम्म झन्डै १५ वर्ष नजरबन्दमा बिताइन्। सन् १९९१ मा उनलाई घरमै नजरबन्दमा रहेका बेला नोबेल शान्ति पुरस्कारले सम्मानित गरियो। उनलाई ‘शक्तिहीनहरूको शक्तिको अद्भुत उदाहरण’ मानिन्थ्यो।

त्यतिबेलाको सैन्य शासनका बेला थिचोमिचोको सामना गर्दै प्रजातन्त्र ल्याउनका लागि उनले गरेको व्यक्तिगत सङ्घर्षले उनलाई अन्तर्राष्ट्रिय रूपमा शान्तिपूर्ण प्रतिरोधको प्रतीक बनायो। सन् २०१५ मा भएको चुनावमा उनले नेतृत्व गरेको एनएलडी पार्टीले बहुमत ल्याएको थियो। उक्त चुनाव २५ वर्षमा भएको पहिलो खुल्ला प्रतिस्पर्धात्मक चुनाव थियो।

उनका सन्तान विदेशी नागरिक भएकाले म्यान्मारको संविधानअनुसार उनी राष्ट्रपति बन्न पाउँदिनन्। तर ७५ वर्षीया सू ची पदमा नरहे पनि सत्ता उनैबाट निर्देशित भएको मानिन्थ्यो। आधिकारिक रूपमा भने उनी स्टेट काउन्सलर हुन्। राष्ट्रपति विन मियन उनका निकट सहयोगी हुन्।

आङ सान सू ची म्यान्मारका स्वतन्त्रता सेनानी आङ सानकी छोरी हुन्। सन् १९४८ मा म्यान्मारले ब्रिटिशको औपनिवेशिक शासनबाट मुक्ति पाउनु केही समयअघि आङ सानको हत्या भएको थियो। त्यतिबेला सू ची जम्मा दुई वर्षकी थिइन्।

सन् १९६० मा उनी आफ्नी आमासँग भारत गइन्। उनकी आमा म्यान्मारको तर्फबाट भारतीय राजदूत नियुक्त भएर दिल्ली गएकी थिइन्। त्यसको चार वर्षपछि उनी यूकेको अक्स्फर्ड विश्वविद्यालय गइन् जहाँ उनले दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्र पढिन्। त्यहाँ उनले प्राज्ञ माइकल एरिसलाई भेटिन् जोसँग उनले पछि विवाह गरे।

थोरै समय जापान र भुटानमा काम गरेपछि दुई सन्तान एलेक्जेन्डर र किमलाई हुर्काउनका लागि उनी यूकेमै बसिन्। तर म्यान्मार उनको विचारबाट कहिल्यै पनि टाढा गएन। सन् १९८८ मा आफ्नी बिरामी आमाको रेखदेख गर्न यान्गुनमा फर्किँदा म्यान्मारमा राजनीतिक तनाव चुलिएको अवस्था थियो। प्रजातान्त्रिक सुधारको माग गर्दै हजारौँ विद्यार्थी, कर्मचारी र भिक्षुहरू सडकमा ओर्लिएका थिए।
‘जे भइरहेको थियो त्यसमा म मेरो बुवाको छोरी भएर तटस्थ रहन सक्दिनथें,’ सन् १९८८ अगस्ट २६ मा यान्गुनमा बोल्दै उनले भनिन्। जेनरल नी विनको शासनविरुद्धको विद्रोहको उनले नेतृत्व गरिन्। अमेरिकी नागरिक अधिकारका नेता मार्टिन लुथर किङ र भारतका महात्मा गान्धीको अहिंसात्मक अभियानहरूबाट प्रभावित रहेकी सू चीले देशभरि र्‍यालीको आयोजना गरिन्।

उनले ती भ्रमणहरूमा स्वतन्त्र चुनाव र शान्तिपूर्ण प्रजातान्त्रिक सुधारहरू हुनुपर्ने माग गरिन्। तर सन् १९८८ को सेप्टेम्बर १८ मा कू गरेर सत्ता हत्याएको सेनाले ती प्रदर्शनहरूलाई निर्मम तरिकाले दबाएको थियो।

सन् १९९० को मे महिनामा सैनिक सरकारले राष्ट्रिय चुनावको आह्वान गर्‍यो र त्यसमा सू चीको एनएलडीले जित्यो तर त्यतिबेला सत्ता चलाइरहेको सेनाले हस्तान्तरण गर्न अस्वीकार गर्‍यो। सू ची यान्गुनमा छ वर्षसम्म घरमै नजरबन्दमा रहिन् र सन् १९९५ को जुलाईमा उनलाई रिहा गरियो।

सन् २००० को सेप्टेम्बरमा यात्रा प्रतिबन्धको अवज्ञा गर्दै मान्डलेको यात्रामा निस्किने प्रयास गर्दा उनलाई फेरि घरमै नजरबन्दमा राखियो। उनी सन् २००२ को मे महिनामा फेरि रिहा भइन् तर त्यसको एक वर्षभन्दा बढी समयपछि उनका समर्थक र सरकार समर्थकबीच झडप भएपछि उनलाई जेलमा हालियो। पछि उनलाई घर फर्किन अनुमति दिइयो तर फेरि पनि उनी घरमा नजरबन्दमै बस्नुपर्ने भयो।

बेलाबेला एनएलडीका अधिकारीहरू र केही कूटनीतिज्ञहरूसँग उनले भेट्न पाएको भए पनि नजरबन्दमा रहेको सुरुका वर्षमा त उनी एकान्तमै थिइन्। उनले आफ्ना पति र छोराहरूलाई पनि भेट्न पाइनन्। उनका पतिको सन् १९९९ मार्च महिनामा क्यान्सरका कारण मृत्यु भयो।
पति निकै बिरामी भएका बेला सैनिक अधिकारीहरूले उनलाई यूके जानेबारे प्रस्ताव गरेका थिए तर फेरि देश फर्किन अनुमति नदिइने हो कि भन्ने भयले उनले यूके जान अस्वीकार गरिन्।

राजनीतिमा पुनः प्रवेश
दुई दशकमा पहिलोपटक भएको सन् २०१० नोभेम्बर ७ को चुनावमा सू चीलाई पाखा लगाइयो तर त्यसको छ दिनपछि घरमै बस्नुपरेको नजरबन्दबाट मुक्त गरियो। नयाँ सरकार सुधारको प्रक्रियामा रहेका बेला सू ची र उनको पार्टी पुनः राजनीतिक प्रक्रियामा जोडियो।

सन् २०१२ को एप्रिलमा भएको उपनिर्वाचनमा उनीहरूले ४५ मध्ये ४३ स्थानमा जिते। सू चीले सांसदका रूपमा शपथ लिइन् र विपक्षी दलको नेतृत्व गरिन्। त्यसलगत्तै मे महिनामा उनले २४ वर्षमा पहिलो पटक म्यान्मार छोडिन्। त्यसले त्यतिबेलाका नयाँ नेताहरूले उनलाई देश फर्किन दिनेछन् भन्ने आत्मविश्वास थियो भन्ने सङ्केत गर्छ। सन् २०१५ को नोभेम्बरमा भएको चुनावमा एनएलडी पार्टीले ठूलो विजय प्राप्त गरेको थियो ।

म्यान्मारको स्टेट काउन्सलर भएयता उनको नेतृत्वलाई उनले अल्पसङ्ख्यक रोहिन्ज्या मुस्लिमलाई कसरी व्यवहार गरिन् भन्ने कुराले व्याख्या गर्छ। सन् २०१७ मा सेनाले रखाइन प्रान्तका प्रहरी केन्द्रहरूमा घातक आक्रमण गरेपछि लाखौँ रोहिन्ज्या भागेर छिमेकी बंगलादेश छिरे। त्यतिबेलाको घटनालाई लिएर म्यान्मारविरुद्ध नरसंहारको आरोपसहित अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दर्ता भएको छ। तर फौजदारी मुद्दा हेर्ने अन्तर्राष्ट्रिय अदालतले मानवताविरुद्ध अपराध गरेको भन्दै अनुसन्धान गरिरहेको छ।

सू चीका पहिलाका अन्तर्राष्ट्रिय समर्थकहरूले उनले बलात्कार, हत्या र सम्भावित नरसंहार रोक्न केही नगरेको र अझै शक्तिशाली सेनाको निन्दा नगरेको आरोप लगाए। कठिन इतिहास भएको र धेरै जातजाति भएको देशमा शासन गर्न उनले प्रयास गरिरहेको भन्दै केहीले सुरुमा तर्क गरे।
तर गत वर्ष द हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा उनले सेनाको कदमको व्यक्तिगत रूपमा प्रतिरक्षा गरेपछि भने उनको बचेको थोरै अन्तर्राष्ट्रिय प्रतिष्ठा पनि गुम्यो। तर देशभित्र भने सू चीकी नामले परिचित उनी बौद्धबहुल समुदायमाझ निकै लोकप्रिय छिन्।

सत्तारोहण गरेपछि सू ची र उनको एनएलडी सरकारले उपनिवेशकालीन कानुनहरू प्रयोग गरेर पत्रकार र अभियानकर्मीविरुद्ध मुद्दा चलाएको आरोप लागेको छ। केही क्षेत्रमा प्रगति भए पनि सेनाले संसद्को एकचौथाइ सीट ओगटेको छ र रक्षा, गृह र सीमा मामिलासम्बन्धी महत्त्वपूर्ण मन्त्रालयहरू उसकै नियन्त्रणमा थिए। म्यान्मारको प्रजातान्त्रिक रूपान्तरण ठप्प भएको देखिएको विश्लेषकहरूले बताएका छन्।
–बीबीसीबाट साभार

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट