प्रदेश नं. १

फेरिँदैछ सीमाको तस्वीर

पाँचथर। फालेलुङ–४ मेमेङको ढकालटार पुगेको सडकको ट्र्याक स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि नेपाल–भारत सीमामा पर्ने गोर्खेपानीसम्म पुग्यो । पुनः संरचनापछि करीब १५ किलोमिटर सडकको ट्र्याक खोलेर सीमासम्म पुर्याइयो । सडक पुगेसँगै सीमामा नेपालीको उपस्थिति बढ्दै गयो । गोर्खेपानीबाट करीब एक घण्टा पैदलदूरीमा रहेको पर्यटकीय क्षेत्र तीन सीमानामा पुग्ने नेपाली पर्यटकको सङ्ख्या बढ्न थाल्यो ।

सीमाको नजिकै रहेका गोठमा सञ्चालकले पूर्वाधार थप्न थाले । कसैले चौंरी र गाई थपे त कसैले खाने बस्ने प्रवन्ध गर्न थाले । सीमाको नजिकै दीपज्योति युवा क्लबको सहयोगमा गोठबास (गोठ स्टे) निर्माणको काम थालियो । गोर्खेपानीमा निर्माण गरिएको भवनमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भयो ।

चार वर्षमा सीमा क्षेत्रको मुहार फेरियो । पहुँच र प्रयोगको शुरुआतपछि प्राकृतिक रुपमा सुन्दर सीमा क्षेत्रको तस्वीर फेरियो । कच्ची सडकले जोडिए पनि पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङमा फाट्टफुट्ट मात्रै पर्यटक पुग्थे । यहाँ न कुनै पूर्वाधार थियो, न त सुरक्षा व्यवस्था नै । ट्र्याक खोलिएको याङवरक गाउँपालिका–४ थर्पूदेखि चिवा भञ्ज्याङसम्मको ५१ किलोमिटर सडक मर्मत र कालोपत्रको चर्चासमेत हुन छोडेपछि स्थानीयवासी निराश थिए ।

जनप्रतिनिधि, सांसद् र मन्त्रीलाई रोइकराई गरिरहेका थिए । एक्कासी चिवाभञ्ज्याङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुने सुनेपछि सबै चकित परे । गाउँपालिकाले निर्माण गरेको भवनमा बीओपी स्थापना भएको दुई महिना नबित्दै सडक कालोपत्र हुने बोलपत्र आह्वान भयो । चिवाभञ्ज्याङमा भर्खरै भारतले समेत सडकले जोडेको छ । नेपालतर्फ मानवीय गतिविधि बाक्लिएका छन् । सडक कालोपत्र शुरु हुन लागेपछि स्थानीयवासी दङ्ग छन् ।

याङवरक–१ मै पर्ने लामपोखरी क्षेत्रमा साना–ठूला आधादर्जन पोखरी छन् । गाउँपालिका निर्माणअघि यहाँ सडक पुर्याउने कसैको कल्पनासमेत थिएन । तर यो वडाका वडाध्यक्ष मोहनकुमार ढुङ्गेलले गाउँपालिकामा एउटै जिद्दी गरिरहे कि– लामपोखरीमा सडक पुर्याउनै पर्छ । सडक ट्र्याक खोलियो । लामपोखरी नजिकै सुकेढापमा घरबास (होमस्टे) निर्माण गर्ने उद्देश्यसहित बन्दै गरेको १२ कोठे घरले गाउँपालिकामा जनप्रतिनिधि आएपछि पूर्णता पायो । गत मङ्सिरमा त्यहाँ सशस्त्र प्रहरीको अर्को बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भयो । प्रत्येक बीओपीमा २०/२२ जनाको सङ्ख्यामा रहेका सशस्त्र प्रहरी अब सीमासम्म दैनिक गस्ती गर्न थालेका छन् ।

गोठाला ढुक्क र खुशी छन् । हुन पनि अब न चोरी शिकारीको डर छ न त भारतीयको हप्कीदप्कीकै । सीमामा नेपालको उपस्थिति देख्दा भारतीय सुरक्षाकर्मीसमेत चकित छन् । पूर्वाधार विकास र सुरक्षा संयन्त्रको उपस्थितिसँगै अहिले सीमा क्षेत्रको तस्वीर फेरिएको छ । “गोर्खेपानीलाई अन्तर्राष्ट्रिय नाका नै बनाउन सकिने सम्भावना भए पनि भारततर्फ सिंहलीला राष्ट्रिय निकुञ्ज रहेकाले अवरोध भएको छ”, फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनले भने, “तर नाका नभए पनि भारतीय सामग्रीमा आत्मनिर्भर स्थानीयवासीले सस्तो मूल्यमा सामग्री खरीद गर्नुका साथै नेपालमा उत्पादित सामग्री बिक्री पनि सहज भएको छ ।” सडक बनेपछि फालोट क्षेत्रबाट घोडा, खच्चड आदीलाई बोकाएर सामग्री आयातनिर्यात हुने गरेको छ । बीओपी स्थापनाले सीमा र मानवीय सुरक्षा मात्रै नभइ पूर्वाधार विकासले समेत गति लिने वडाध्यक्ष सावदेनको विश्वास छ । फालेलुङ–४ बाट सीमा जोड्ने सडकको मर्मतका लागि यस वर्ष सङ्घीय सरकारले रु ५० लाख बजेट छुट्ट्याएको छ ।

सङ्घीय सरकारले यसै आर्थिक वर्षमा फालेलुङ ४ र ५ हुँदै सीमा क्षेत्र चारराते पुग्ने सडकको स्तरोन्नतिका लागि समेत रु पाँच करोड बजेट विनियोजन गरेको छ । फालेलुङ–४ भैंँसेमासमेत बीओपी स्थापना भएको छ । सीमामा भारतीय सुरक्षाकर्मी मात्रै हुँदा विगतमा नेपालीको आत्मबल नै कमजोर हुने गरेको स्थानीयवासी बताउँछन् ।

“अहिले सुरक्षाको प्रत्याभूति त भएको छ नै, आवतजावतमा पनि सहजता मिलेको छ”, सीमामा आधारित फालेलुङ क्षेत्रको पर्यटन विकास र चौंरी पालनमा सक्रिय फालेलुङ–५ का चन्द्रलाल नेपालले भने, “अहिले हामीले गर्व गर्ने अवस्था बनेको छ ।” विगतमा सीमा क्षेत्रमा सीमित गोठ सञ्चालक, भरिया, पर्यटक, स्थानीयवासी मात्रै पुग्दथे । सीमासम्मै संरचना बनाएको भारतलाई यो लाभको विषय थियो । यसैकारण भारतले सीमा परिवर्तनको प्रयास पनि गरिरहेको थियो । फालेलुङ–४ का अमृतबहादुर राईका अनुसार सीमासम्म सडक पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य रुपले वृद्धि भएको छ । “सडकमा बाह्रैमास गाडी चल्नसक्ने बनाउन पाए यहाँ कहिल्यै पर्यटकको सङ्ख्यामा कमी हुने थिएन्”, राईले भने, “सीमासम्म हाम्रो मानवीय चहलपहललाई झनै बाक्लो बनाइनुपर्छ ।”

सीमा क्षेत्रमा सरकारको ध्यान पुगेको भन्दै अब पूर्वाधार विकासले पनि गति लिने जनप्रतिनिधिको अपेक्षा छ । “पर्याप्त बजेट नहुँदा निकै दुःखले सीमासम्म सडक पुर्याउने प्रयास गरिरहेका छौँ”, याङवरक–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलले भने, “क्रमशः सीमा क्षेत्रको अवस्थामा परिवर्तन आउँदैछ ।” याङवरक–२ का मचिन्द्र बेघा गोठाला र स्थानीयवासीले सुरक्षा गरेको सीमा क्षेत्रमा सरकारी उपस्थिति हुँदा खुशी लागेको बताउँछन् । “विगतमा तीस किलोमिटर टाढा प्रहरीको सीमा सुरक्षाचौकी थियो । सीमासम्म सुरक्षाकर्मी पुग्नै सक्दैनथे”, बेघाले भने, “चोरी शिकारीदेखि हाम्रो भूमिमा भारतीयको मनपरी थियो ।” च्याङथापूका व्यवसायी गङ्गाराम गौतम चिवाभञ्ज्याङसम्म कालोपत्र सडक पुगे पर्यटकीय गन्तव्य बन्नुका साथै व्यापारिक नाकाको रुपमा विकास गर्न सकिने बताए ।

नेपाल–भारत सीमा क्षेत्रका स्थानीयवासीबीच पारिवारिक सम्बन्धसमेत रहने गरेको छ । सडक निर्माणले आवतजावतमा सघाउ पुग्ने भएकाले मध्यपहाडी लोकमार्ग कालोपत्रको काम चाँडो सम्पन्न गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।

भारतसँग सीमा जोडिएको ४४.८ किलोमिटर भू–भाग पाँचथरमा पर्छ । सन्दकपुरदेखि तिम्बुपोखरीको बीचमा पर्ने यो सबै सीमा क्षेत्र पर्यटकीय दृष्टि निकै आकर्षक छ । सीमा क्षेत्रमा चौंरीपालन फस्टाएको छ । यहाँ बहुमूल्य जडीबुटीदेखि लोपोन्मुख जीवजन्तुसमेत पाइने भए पनि भारतीय पक्षले सरकारी संयन्त्रको उपयोग गरी चोरी शिकारी गर्ने गरेको स्थानीयवासीको भनाइ छ ।

“सुरक्षाकर्मीको उपस्थितिले सीमा क्षेत्रमा रहने सबैको हौसला बढेको छ”, याङवरक–२ का दीपेन्द्र राईले भने, “अब सरकारले सीमा क्षेत्रको उपयोग गरी लाभ लिनुपर्छ ।”

यिनै क्षेत्र समेट्दै नेपालको पूर्वी सीमालाई पर्यटकीय गन्तव्य बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केचना–कञ्चनजङ्घा सडकको अवधारणा अघि बढाएको छ । झापाको कचनकवलदेखि ताप्लेजुङ कञ्चनजङ्घा बेसक्याम्पसम्म सीमा क्षेत्र हुँदै सडक निर्माण गर्ने उद्देश्यसहित सडक विभागले सर्वेको काम गरिरहेको छ । प्राविधिकका दुई वटा टोलीले इलाम र पाँचथरबाट सर्वेको काम गरिरहेका छन् ।

“मन्त्रालयकै प्रस्तावमा यो सडक अगाडि बढाएका हौँ”, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भने, “चाँडै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाई निर्माण कार्य थाल्छौँ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *