प्रदेश नं. १

कांग्रेस नेता डा.खड्काको पहलमा त्रियुगा नदी नियन्त्रण प्रक्रिया सुरु, उदयपुरवासी हर्षित

उदयपुर । बर्सेनी बितण्डा मच्चाउँदै हजारौ बिघा उर्बर जमिन र सयौं परिवार सुकुम्बासी बनाउँदै विस्थापित गर्ने त्रियुगा नदी नियन्त्रण हुने भएपछि उदयपुरवासी हर्षित बनेका छन् ।
पछिल्लो समय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट नदी नियन्त्रण आयोजनाअन्तर्गत कार्यान्वयनमा रहेको त्रियुगा नदी व्यवस्थापन आयोजनाको डिपिआरबमोजिम पहिलो चरणमा अवधि चार वर्षको र लागत एक अर्ब ९६ करोडमा सात प्याकेजमा नबढ्ने गरी खरिद प्रक्रिया सुरु भएपछि उदयपुरवासी हर्षित बनेका हुन् ।

उदयपुरका प्रतिनिधिसभा सदस्य पूर्वसहरी विकासमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्काको पहलमा त्रियुगा नदी नियन्त्रणका लागि २०७६÷७७ को सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको थियो । संशोधित लागत आठ अरब १५ करोडमा त्रियुगा नगरपालिका १६ सुकौरादेखि बेलका नगरपालिका २ र सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरबाट सप्तकोसीसम्म दुबै किनारमा ७८.७७ किलोमिटर तटबन्ध रहने र यसको चौडाइ ५ मिटरमा ३.५ मिटर ग्राभेल गरी सडक सञ्चालनमा आउने खाँडो खोला नियन्त्रण आयोजनाका इन्जिनियर रामकुमार साहले बताए । २०७५÷७६ देखि सुरु भएको यो योजना आर्थिक वर्ष ८५÷८६ मा सम्पन्न हुने छ । दुबैतर्फ चुरे पहाड र बीचमा रहेको त्रियुगा नदी र यसका २५ सहायक खोला खहरेसमेत नियन्त्रणमा आउने छन् ।

दुवैतर्फ हरित सडक निर्माण हुने र सहायक खोला मिसिने स्थलहरुमा नौ सय एमएमको ह्युमपाइप र ६ सय एमएमका ह्युमपाइपसहित ५६ वटा कल्भर्र्ट रहने त्रियुगा नदी नियन्त्रणको जिम्मा पाएको खाँडो खोला नियन्त्रण आयोजना प्रमुख रेवाकान्त यादबले जानकारी दिए । नदी पूर्ण नियन्त्रणमा आउँदा पाँच सय पचास हेक्टर जमिन उब्जाउ भूमि बन्नेसमेत उनले बताए ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारको प्रमुख सल्लाहकार हुँदा, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा सहरी विकासमन्त्री हँुदा आफूलाई सदा त्रियुगा नदीको चिन्ताले सताएको नेता डा.खडकाले बताए । उदयपुरको बिकासमा सदा चिन्तित पूर्वमन्त्री खड्काले डिपीआरबमोजिमको त्रियुगा नदी नियन्त्रण लागि आवश्यक रकम स्वीकृत गराउन राष्ट्रपति, प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पटक पटक छलफल र संवादपछि कार्यान्वयन चरणमा आएको बताए । लामो प्रयासपछि खड्काको मेहनत र परिश्रम सफल भएको छ । यो उदयपुरबासीका साथै राजनीतिक दलका लागि खुसी र सफलता भएको उनले बताए । नदी नियन्त्रणमा आएसंगै पर्यटकीय क्षेत्रको रुपसमेत उदयपुर परिचित हुनेमा सरोकारवालाको मत छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *