सम्पादकीय

नेपालको संविधान केपी ओली एक्लैले लेखेको हो ?

बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार नेपालको संविधानमा कहीँकतै लेखिएको छैन । तर, प्रधानमन्त्री केपी ओलीले आफूलाई विशेषाधिकार भएको भन्दै संविधानको धारा उल्लेख नै नगरी प्रतिनिधिसभा विघटन गरेपछि मुलुक अहिले गम्भीर संकटमा परेको छ ।

ओलीले प्रधानमन्त्रीलाई संसद् भंगको अधिकार रहेको दाबी गर्दै आएका छन् । उनले सरकारलाई कामै गर्न नदिएको दलील पेस गर्दै संसद् भंग गरेर जनतामा गएको जिकिर गरेका छन् । तर, ओली नेकपाले आयोजना गरेको आमसभामा उनले भन्ने गरेका छन्, ‘मेरो सरकारको पालामा देशमा विकासले फड्को मार्यो । सडक, बत्ती, पुल धमाधम बने । अनि एकछिनमै भन्ने गर्छन्– मलाई घेराबन्दीमा पारेर काम गर्नै दिइएन । त्यसैले संसद् भंग गरेको हुँ ।’

ओली मात्रै होइन, उनको तर्फबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गरिरहेका कानुन व्यवसायी पनि प्रधानमन्त्रीकै बोली बोलिरहेछन् । प्रधानमन्त्रीलाई कामै गर्न नदिइएपछि उहाँले विशेष अधिकार प्रयोग गर्नुपरेको हो भनेर । तर, संविधानमा प्रधानमन्त्रीलाई त्यस्तो अधिकार नभएको सबैले पढेबुझेकै कुरा हो ।

नेपालका एक से एक कानुन अध्येता, न्यायमूर्ति, बुद्धिजीवी, संविधानविद् कसैले पनि बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंगको अधिकार नरहेको बताउँदै आएका छन् । तर, प्रधानमन्त्री ओली किन आफूलाई त्यो अधिकार रहेको भनिरहेका छन् ?

नेपालका एक से एक कानुन अध्येता, न्यायमूर्ति, बुद्धिजीवी, संविधानविद् कसैले पनि बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंगको अधिकार नरहेको बताउँदै आएका छन् । सर्वोच्चमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरूले पनि यो धारणा राखेका छन् । संविधान बनाउने सभासद्हरूले पनि यही कुरा भनिरहेका छन् । तर, प्रधानमन्त्री ओली किन आफूलाई त्यो अधिकार रहेको भनिरहेका छन् ?

त्यसैले अहिले फरक ढंगले बहस सुरु भएको छ । त्यो के भने, ‘के केपी ओली एक्लैले संविधान लेखेको हो ?’ यदि ओली एक्लैले संविधान लेखेको हो भने अरुको तर्क आवश्यक नहोला । तर, ६०१ जनाले संविधान लेखेको हो भने ओलीले बलमिच्याइँ गरिरहनुको कुनै तर्क छ र ? सर्वोच्च अदालतले प्रधानमन्त्रीको त्यही लहड मानिदिनुपर्ने हो र ?

नेपालको संविधान २०७२ नेपाली कांग्रेसको नेतृत्वमा बनेको हो । त्यसबेला प्रधानमन्त्री सुशील कोइराला थिए । राष्ट्रपति डा.रामवरण यादवले जारी गरे । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ थिए । तर, अहिलेसम्म नेम्वाङले ओलीको कदम सही हो भन्न सकेका छैनन् । दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस ठूलो पार्टी थियो । अब कांग्रेसले औपचारिक रूपमै भन्नुपर्ने बेला आइसकेको छ, त्यो के भने ओली एक्लैले संविधान लेखेको होइन, कांग्रेस नेतृत्वमा संविधान जारी भएको हो भनेर ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *