लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश स्थापना दिवसको तयारी पूरा

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ देउखुरीमा मनाउने प्रदेशको तेस्रो स्थापना दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।


शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव रविलाल पन्थले फागुन २, ३ र ४ गते आयोजना गर्न लागिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा हुने मूल समारोहको कार्यक्रम देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुनेछ । सो कार्यक्रममा प्रदेश सरकारले यसअघि घोषणा गरेका ५८ वटा पदक वितरण गरिनेछ । प्रदेशका कुनै पनि संरचनाहरु नसरे पनि तेस्रो स्थापना दिवस भने देउखुरीमा मनाउन लागिएको हो ।

तर, प्रदेशको नाम र राजधानी टुंगो लागेको दिन (असोज २०) प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भौतिक पूर्वाधार तयार नहुँदासम्म बुटवलबाटै राजधानीका काम कारवाही संचालन हुने बताएका थिए।

सभामा त्यस्तो प्रतिवद्धता ब्यक्त गरे पनि राजधानीको टुङ्गो लागे लगत्तै प्रदेशका कतिपय कार्यक्रमहरु देउखुरी केन्द्रित गर्न थालेका थिए। आफ्नै प्रतिवद्धता विपरीत मुख्यमन्त्रीले प्रदेशको स्थाना दिवस पनि देउखुरीमै मनाउन लागेका हुन्।

प्रदेश पूर्वधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिसकिएको देउखुरीमा मुख्यमन्त्रीकै प्रस्तावमा फागुन २ देखि ४ गतेसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो।

प्रदेश सरकारले स्थापना दिवस मनाउनका लागि प्रदेश सरकारका आन्तारिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा स्थापना दिवस व्यवस्थापन समिति गठन गरिएको छ। मन्त्री केसीको अध्यक्षतामा बसेको बैठकले फागुन २, ३ र ४ गते देउखुरीमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशका १२ वटै जिल्लाहरुको सहभागिता हुने गरी स्थापना दिवसको तयारी गरिएको आन्तारिक मामिला तथा कानुनमन्त्री केसीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *