
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव आज बसेकाे केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत गरिएको छ । निर्धारित समयभन्दा झन्डै ३ घन्टा ढिलो सुरु भएको बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हाे ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक सुरू भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए। पौडेल र सभापति शेरबहादुर देउवाबीच सहमतिपछि भदौमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव गरिएको छ।
छलफलपछि केन्द्रीय समितिले यो प्रस्ताव पारित गरेमा भदौमा महाधिवेशन हुनेछ। भदौमा महाधिवेशन गर्न देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्नुपर्ने हुन्छ। संविधानको व्यवस्थाअनुसार अब छ महिना म्याद थप गर्न मिल्छ। सभापति देउवाको कार्यकाल फागुन १९ गतेसम्म छ।
बैठक बस्नुअघि सभापति र वरिष्ठ नेता पक्षका केन्द्रीय सदस्य आन्तरिक छलफलमा जुटेका थिए । कांग्रेसले आजको केन्द्रीय समितिबाट महाधिवेशन कार्यतालिकासमेत सार्वजनिक गर्ने तयारी गरेको छ।