रिबन

मोबाइल चोरीको निहुँमा प्रहरीको यातनाले जुम्लामा १३ वर्षीय बालकको मृत्यु

जुम्ला । प्रहरीको कुटाईबाट जुम्लामा १३ वर्षीय बालकको मृत्यु भएको छ । गुठिचौर गाउँपालिका–३ निवासी पदम बुढाको प्रहरीको कुटाईबाट मृत्यु भएको हो ।

गत माघ १८ गते साथीको मोबाइल चोरेको निहुँमा पदम बुढालार्ई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो । प्रहरी कार्यालयबाट घर फर्किएलगत्तै बालकको खुट्टा र शरीर सुनिएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो ।

प्रतिष्ठानमा चेकजाँचपछि पैतालामा पाइप र लाठ्ठीको कुटाइले शरीर सुनिएको विरामी पुर्जामा उल्लेख छ । पछि एकाएक श्वासप्रश्वासमा समस्या भई शरीरमा गहिरो चोटले गर्दा मुटु, फोक्सो तथा मस्तिष्कमा रगत जाम भएर फागुन ५ गते मृत्यु भएको मृतकका आफन्तले जनाएका छन् ।
प्रहरी कार्यालयबाट आएपछि एकाएक सुनिनु र उपचारमा संग्लन चिकित्सकले पाइप र लाठ्ठीले हानेको देखिएको बताएपछि प्रहरीले शारीरिक तथा मानसिक यातना दिएको खुलेको हो ।

मोबाइल चोरीको निहुँमा प्रहरीले षड्यन्त्रमुलक ढंगबाट प्रहरी कार्यालयमा बोलाएर माघ १८ गते मरणासन्न हुने गरी कुटेपछि हातखुट्टा सुनिएर बालक पदम बुढाकोे फागुन ५ गते उपचारकै क्रममा मृत्यु भएको भिनाजु नाता पर्ने दानबहादुर बुढाले बताए ।

‘नेपालको संविधान २०७२ को धारा (३९) को उपधारा (७) मा बालकलाई कुनै पनि घटनाको विषयलाई लिएर शारिक तथा मानसिक यातना दिन नमिल्ने व्यवस्था छ । तर प्रहरीलेनै मर्ने गरी बालक माथि गरेको जगन्य अपराधले समाज त्रसित भएको छ,’ उनले भने ।

मृतक बालकका बाजे धर्मसिंह बुढाले भने, ‘प्रहरीबाटै नागरिक असुरक्षित भएका छन् । प्रहरीलाई विश्वास गर्ने वाताबरण पनि छैन । कानुनी राज्यमा दिनदहाडै जगन्य अपराध भइरहेका छन् कसरी सुरक्षित महसुस गर्ने ?’ बालकलाई कुटपिट गर्ने सबै प्रहरीलाई कारबाही गर्न पीडित परिवारले माग गरेको छ ।

प्रहरी प्रशासनले पदमलाई शारीरिक तथा मानसिक यातना दिएको स्वीकार गरेको छ । माघ १८ गते मोबाइल चोरीको निहुँमा सोधीखोजी गर्न हिरासतमा ल्याएको बालकलाई प्रहरी जवानले कुटेको जिल्ला प्रशासनले स्वीकार गरेको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने, ‘घटनाको प्रकृति हेर्दा मृतक बालकलाई प्रहरीले माघ १८ गते शारीरिक तथा मानसिक यातना दिएको सत्य हो । त्यसपश्चात स्वास्थ्यमा खराबी आएर मृत्यु भयो । यस घटनाको छानविनका लागि गृह मन्त्रालयबाटै टोली आउने भएको छ ।’

बालकलाई यातना दिने प्रहरी जवान कृष्ण अधिकारीलाई बिहीबार नै निलम्बन गरेको प्रजिअ थापाले बताए । उच्चस्तरीय छानविन टोली गठन गर्ने, दोषीलाई आबश्यक कारबाही तथा पीडित परिवारलाई उचित राहतका लागि प्रदेशको कानुन मन्त्रालय र संघको गृह मन्त्रालयमा पहल गर्ने निर्णय भएको प्रजिअ थापाको भनाइ छ ।

बालकलाई कुटेर मृत्युको अबस्थामा पुराउने प्रहरीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रेका स्थानीय र प्रहरीबीच बिहीबार झडप भएको छ । नाराबाजी गरेर आइरहेका मृतकका आफन्तले एकाएक ढुंगामुडा गरेपछि झडप भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *