विचार

कांग्रेसको प्रतिष्ठा पुनःस्थापना हुनसक्ला ?

नेपाली कांग्रेसले आफ्नो विधानले निर्धारण गरेको समयसीमाभित्र महाधिवेशन सम्पन्न गर्न सकेन । यस्तो घटना यो पहिलो नभए पनि पार्टीको अन्तरजीवनलाई चलयामान बनाउँदै नेतृत्व विकासका लागि महाधविेशन समयमा नै हुनुपर्ने हुन्छ । माउँ पार्टीको मात्र नभएर भ्रातृ तथा शुभेच्छुक संघ संस्थाको अधिवेशन पनि हुन सकेको छैन । आफ्नो पक्षको अनुकूलता र प्रतिकूलता हेरेर दृष्टिकोण तय गर्ने नेतृत्वको सोच, चिन्तन र दृष्टिकोणले पार्टी र भ्रातृ संस्थाहरुको अधिवेशन समयमा सम्पन्न हुन नसक्ने, गर्न नचाहने र गर्न नदिने परम्परा नै बनेको देखिन्छ । कुनै सामान्य अवस्थाले महाधिवेशन समयमा सम्पन्न गर्न बाधा व्यवधान आएको होइन । आफ्नो कार्यकाल लम्ब्याउन र अनुकूल समय खोज्न वैधानिक व्यवस्थालाई छल्दाछल्दै संवैधानिक बाध्यताको अवस्थामा नेपाली कांग्रेसले आफ्नो महाधिवेशन २०७८ साल भाद्र ७–१० लाई तय गरेको छ ।

घोषित मितिमा पनि महाधिवेशन हुने हो वा होइन भन्ने आशंका कायम नै छ । उक्त मिति पनि महाधिवेशन हुन सकेन र वर्तमान संविधान कायम नै रह्यो भने नेपाली कांग्रेसको दर्ता खारेज हुनेछ । दर्ता खारेज भएर खासै फरक नपर्ला, कांगे्रसको चारतारे झन्डा र रुख चिह्नमा अन्य पार्टीको दाबी नहोलो । तर नेतृत्वको असफलता र असक्षमता भने छताछुल्ल हुनेछ । यस पार्टीमा इमान्दारिताका साथ आबद्ध हुने ठूलो संख्याका सदस्यहरुले खल्लो महसुस गर्नेछन् । सिद्धान्त, आदर्श र निष्ठासँग आबद्ध भएका व्यक्तिहरुले दुःख मान्ने छन् ।

आफैले रक्सी खान सिकाएका साथीहरु जड्याहा कहलिन थाले तर आफू रक्सी खाएर इन्त न चिन्तु हुँदा अस्वभाविक लागेन ।

गुट र गिरोह चलाउनेहरुलाई केही फरक नपर्ला तर जीवनभर यही पार्टीमा संलग्न भएर जेलनेल बिताएका र आस्थाको राजनीति गरेकाहरुलाई, लोकतन्त्रप्रति विश्वास राख्ने ठूलो पंक्तिलाई आघात हुनेछ । कम्युनिष्ट पार्टीले दुई तिहाई नजिकको बहुमत प्राप्त गरी सरकार बनाएको र सरकार असफल भएपश्चात संसद विघटन गरिएको असहज परिस्थितिले निम्त्याउने अन्योल कायम नै रहेको क्षणमा यस्तो परिस्थितिबाट नेपाली कांग्रेस गुज्रिएको पाउनु/देख्नु सुखद होइन । आफ्नो पार्टीलाई मात्र पनि व्यवस्थित गर्न नसक्ने नेतृत्वपंक्तिसँग अरु थप के अपेक्षा गर्न सकिएला ? सिंगो राजनिित दलाल, तस्कर, माफिया, ठेकेदार र डनहरुले परिचालन गरेको अवस्थामा नेपाली कांगे्रसको भूमिका आम लोकतान्त्रवादीहरुले खोजेको थिए । तमाम कमीकमजोरीका बाबजुद प्रजातान्त्रिक शक्तिका रुपमा कांग्रेसले आफूलाई चुस्तदुरुस्त राख्नसमेत नसकेको तीतो यथार्थता यतिबेला हाम्रो सामु छ । आफ्नो विधान बमोजिमका कार्यहरु पनि समयभित्र सम्पादन गर्न नसक्ने पार्टी र नेतृत्वले मुलुकको समग्र नेतृत्व गरी जनतालाई आशा, विश्वास र भरोसा दिलाउन सक्ला ?

बिहानीले धेरै सकरात्मक संकेत गरेको छैन । जुन आशा, विश्वास र भरोसाका साथ नेपाली जनताको साथ, समर्थन र सहयोग यस बीचमा प्राप्त भयो, यसको सदुपयोग हुन सकेन । नेतादेखि कार्यकर्तासम्म लोकतन्त्रको होइन, लुटतन्त्रको यात्रामा सहभागी भए । नेताहरुका लागि डन, ठेकेदार, विचौलिया, व्यापारी, तस्कर प्रिय भए । हिजो दुःख सुखमा साथ दिने साथी, मित्र, जनता अप्रिय लाग्न थाले । भेट नै नपाउने परिस्थिति बन्यो इमान्दार मानिसले । राय बजाउनेहरुसँग नेतृत्व तर्सन मात्र थालेन, तर्किन नै लाग्यो । ब्रिफकेश बोकेर आउनेहरुलाई नेताहरुको दरबारमा भव्य स्वागत हुने, कार्यकर्तालाई प्रवेश र भेटघाट नै मुस्किल हुने दिनहरु आए । जेल, संघर्ष र आन्दोलनमा साथसाथै भएका मानिसहरु पद र प्रतिष्ठा प्राप्तिपश्चात बदलिए । आफैले रक्सी खान सिकाएका साथीहरु जड्याहा कहलिन थाले तर आफू रक्सी खाएर इन्त न चिन्तु हुँदा अस्वभाविक लागेन । त्यो योग्यता पूरा भएका व्यक्तिहरुले मात्र नेतृत्वको दरबारमा पहुँच पाउन थाल्यो, जसले नेताको गृहमन्त्रालय सम्हाल्नेसँग सम्बनध स्थापित गर्न सक्यो, अर्थात् घरकी श्रीमतिलाई विश्वास दिलाउन सक्ने स्वार्थ समूहका सदस्यहरुले पार्टी र सरकारमा स्थान पाउने वातावरण बन्दै गएको छ ।

तमाम कमीकमजोरीका बाबजुद प्रजातान्त्रिक शक्तिका रुपमा कांग्रेसले आफूलाई चुस्तदुरुस्त राख्नसमेत नसकेको तीतो यथार्थता यतिबेला हाम्रो सामु छ ।

यसै बीचमा पार्टीको टिकट बिक्री हुन थाल्यो, पैसाले जनप्रतिनिधि किन्न पाउने बोलकबोल प्रक्रिया नै चल्यो । आफै महँगो चुनाव लड्न सक्ने व्यक्ति उपयुक्त उम्मेदवार हुने देखियो । सकभर नेतृत्वमा रहेका व्यक्तिहरुलाई चुनाव खर्च उपलब्ध गराउन सक्ने, त्यसो नभए घर गाडीको सुविधा उपलब्ध गराउने, त्यो पनि भएन भने अन्य सेवा र सुविधा जुटाइदिने व्यक्तिहरु नेतृत्वको छनोटको प्राथमिकतामा पर्न थाले । त्यसपछि आफ्ना नातागोता, इस्टमित्र, वैद्य, अवैद्य सम्बन्धमा पात्रहरु देखिन थाले । बाँकी रहेकासँग निकटतम रुपमा आफूप्रति, गुटप्रति र गिरोहसँग निकटतम सम्बन्ध बनाउन सक्ने क्षमता र सिप भएका पात्रहरुको उल्लेख्य भूमिका बढ्दै गएकाले विचार सिद्धान्त र आदर्शको राजनीति लगभग समाप्त भएको छ ।

यसैले नै होला राजनीतिप्रतिको चरम वितृष्णा आम मानिसमा देखिन्छ । युवा भनाउँदाहरुको चरित्र पनि नजिकबाट देखिएको छ । यिनीहरुको व्यवहार, गतिविधि, प्रस्तुति, निकटता र सम्बन्ध थाहा पाउनेहरु पार्टीमा रहेका युवा पुस्ताका आकांक्षीहरु अघिल्लो पुस्ताभन्दा पनि ज्यादा भ्रष्ट, अयोग्य र नालायक छन् भन्छन् । विद्यार्थी राजनीतिमा रहेका र त्यहाँबाट उठेका नेतृत्वका आकांक्षीहरु विद्यालयदेखि विश्वविद्यालयको परीक्षामा अरुलाई लेखाएर, प्रमाणपत्र खरिद गरेर आफ्नो योग्यता दर्शाउने र देखाउनेहरु छन् । उनीहरुको जीवनशैली, उठबस र तामझामको श्रोत के हो ? उनीहरु पारदर्शी छैनन् । लुटेरा संस्कृति विकास गराउनमा लागेका छन् । विचार, आदर्श र सिद्धान्त नभएको अराजक र भ्रष्ट झुन्डलाई साथमा लिएर पार्टी कब्जा गर्न त सकिएला तर जनताको आस्था र विश्वास आर्जन गर्न सकिँदैन । यो तथ्यलाई आत्मसाथ नगरी हुने कर्मकाण्डीय बाध्यात्मक महाधिवेशनले कांगे्रसलाई जनमनमा स्थापित गर्न सक्दैन भन्ने तथ्यबोध अति आवश्यक छ ।

संसद विघटनपछिको राजनीति यसै अन्योलग्रस्त छ । त्यसमा पनि लोकतान्त्रिक पार्टी नेपाली कांगे्रसको साख गिरेको अवस्थामा छ । अहिलेकै नेतृत्वले पार्टीको प्रतिष्ठा उठाउने सम्भावना ज्यादै न्यून छ । अन्य आकांक्षीहरुको पृष्ठभूमि, व्यवहार र विगतको कार्यशैलीले आश्वस्त हुने अवस्था छैन । पार्टी कब्जा गरेर बोलकबोल कारोबारमा रम्ने इच्छा धेरैलाई होला । पार्टीको प्रतिष्ठा नै पनस्र्थापित गरेर नेपालको भाग्य र भरोसा बन्ने यात्रा सहज देखिँदैन । नेतृत्वका आकांक्षीहरुले आम लोकतन्त्रवादीहरुलाई कसरी विश्वास दिलाउन सक्लान ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *