राजनीति

कांग्रेसमा सदस्यता वितरण र नवीकरण ताकेता गर्न जिम्मेवारी तोकियो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति तय भएसँगै पार्टी गतिविधि बढ्न थालेको छ । कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको बैठक समितिका संयोजक केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा शनिबार बस्यो ।

बैठकले जिल्ला सभापति, क्षेत्रीय सभापति र मातहत तहको सभापतिसँग सम्पर्क गरी क्रियाशील सदस्यता वितरण र नविकरणका सम्बन्धमा जिल्लाहरुमा हालसम्म भइरहेको कार्य प्रगतिको पछिल्लो अवस्थाको जानकारी लिन आनन्द ढुंगाना, जीवन परियार, श्याम घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरीलाई जिम्मेवारी तोकेको छ ।

प्रदेश १ र २ मा ढुंगाना र परिवार, बागमति र गण्डकी प्रदेशमा घिमिरे र पौडेल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी गुरुङ र चौधरीलाई दिइएको छ ।

उनीहरुले तोकिएको मितिभित्र तोकिए बमोजिमका सम्पूर्ण कार्य अनिवार्य सम्पन्न गर्नका लागि ध्यानाकर्षण गर्ने र तत्सम्बन्धी विषय समितिको फागुन ११ गते मंगलबार बस्ने बैठकमा छलफलमा प्रस्तुत गर्नुपर्नेछ ।

यसैगरी यस समितिको सचिवमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सचिवद्वय डा. प्रदिप पराजुली (प्राविधिक तर्फ) र अधिवक्ता केशव रिजाल (प्रशासन र निर्णय प्रक्रियातर्फ) नियुक्त गरिएको छ ।

क्रियाशील सदस्यताको नामावलीको प्रमाणित सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी) र पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपी समेत क्रियाशील सदस्यतासम्बन्धी सम्पूर्ण विवरण केन्द्रमा बुझाउन बाँकी रहेका सबै जिल्ला कार्यसमितिहरु र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिहरुलाई केन्द्रीय कार्यसमितिको फाल्गुण ०६, २०७७ को बैठकको निर्णय अनुसार, तोकिएको मितिभित्र नै सम्पूर्ण कार्य तोकिएको प्रक्रिया पु¥याई सम्पन्न गर्न र क्रियाशील सदस्यताको सम्पूर्ण विवरण सहितका कागजात र नामावलीको सूची केन्द्रमा पठाउनका लागि समितिको तर्फबाट लिखित पत्राचार र प्रेस विज्ञप्ती मार्फत अनुरोध गरिने पार्टी कार्यालय सचिव केशव रिजालले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *