मनोरञ्जन

निफको चौथो संस्करणमा ६३ वटा फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करणमा देखाइने फिल्मका सूची सार्वजनिक भएको छ । महोत्सव बैशाख २३ देखि २७ गतेसम्म काठमाडौंमा हुने भएको छ । यसअघि फागुनको दोस्रो साता हुने भनिएको महोत्सव कोरोना महामारीका रोकिएको थियो ।
निफमा विश्वभरीका ६३ वटा फिल्म प्रदर्शन गरिने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ।

महोत्सवमा संसारका ५२ देशबाट सामेल हुन आएका ४५० फिल्मबाट ६३ वटा फिल्म छानिएको आयोजक संस्थाले जनाएको छ । महामारीको समयमा पनि यति धेरै फिल्म सहभागिताका लागि प्राप्त हुनु खुसीको कुरा भएको अध्यक्ष केपी पाठकले जनाएका छन् । विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ हुने महोत्सवमा यो वर्ष महामारीका विषयमा बनेका फिल्मलाई समावेश गरिने आयोजकले जनाएको छ ।

कोरोनाले पारेको प्रभावका बारेमा बनेका फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड, प्रदान गरिनेछ भने इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजका जुरीको तर्फबाट डन क्विजोट अवार्ड पनि प्रदान गरिनेछ ।

यस्तै, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलर राशिको बाग्मती अवार्ड प्रदान गरिने छ ।

नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु। १ लाख , उत्कृष्ट सर्ट फिल्मलाई नगद रु। ५० हजार र सर्ट मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *