समाचार

नगरपालिकाले फेरिदिए खरका छाना, अब चुहिदैन पानी

बलेवा । सडकले खरबारी मासेको छ । सम्म ठाउँका खरबारीमा खोजीखोजी मूल सडक निकालिएका छन् । भीरपहरामा लहलह देखिने खर काट्नै कठिन छ । अप्ठेरा भीरपहरामा पुगेर खर काट्न अहिलेका युवा पुस्ता मान्दैनन्, वृद्धवृद्धाले सक्दैनन् ।

वर्षायाममा राम्रो वर्षा हुने र हिउँदमा खर काट्ने कामदार भेटिए मात्रै घरको छानो फेर्न पाइन्थ्यो । अझै पछिल्लो पुस्ताले त खर वा परालको छानो बनाउने सीप नै सिकेका छैनन् । सीपको अभावमा छाएको खरले के पानी छेकोस् र ।

हिउँदका महिना जसोतसो कटे पनि वर्षामा चुहिने पानीले चुलोमा पोखरी बनाउँथ्यो । खरले छाएको लामो गोठ बनाएर त्यहीँ भान्छाको प्रबन्ध गर्नुपर्ने बाध्यता छ । पानीको ओत लाग्नेसम्म हो । गोठ होस् वा घर, कठिन दिनरात कटेकै थिए ।
यस्तै समस्या जैमिनी नगरपालिका–३ का डिलबहादुर विकलाई थियो । आफैँले छानो फेर्न आर्थिक अवस्था कमजोर छ । खर, अर्थ र सीपका अभावमा वर्षाका कठिन दिन कटाइरहेका उहाँ जस्तै जैमिनीका खरको छानो भएका कसैलाई अब भने चुलामा पोखरी देख्नुपर्दैन ।

डिलबहादुरले अहिले १८ हात लामो घर बनाएका छन् । गोठमा बस्ने उनी अहिले जस्तापाताले छाएका घरमा बस्नछन् । सङ्घीय सरकारले ल्याएको घर तथा फुसका छाना विस्थापन गर्ने कार्यक्रमअन्तर्गत नगरपालिकाले धमाधम खरका छाना फेरेर जस्तापाता वितरण गरिरहेको छ । ‘सरकारले जस्ता दिने भनेपछि गोठमा बस्नेले पनि घर बनाएका छन्, घरमा खुशी छाएको देखियो’, नगरपालिका राजश्व परामर्श समितिका सदस्य विष्णु आचार्यले भने, ‘सानो तर मानव जीवनमा घरको छाना महत्वपूर्ण रहेको अनुगमनमा पायौ ।’ दमेकका खगी विक, चन्द्रकला विक, नन्दकली श्रीषलगायतले यस वर्ष घरको छानो जस्ताले मात्रै बनाएनन्, नगरले जस्तापाता दिँदा आफैले मेहनत गरेर बलियो गाह्रो पनि लगाए । नगरपालिकाका खरका छाना विस्थापन कार्यक्रमअन्तर्गत सूचीकृत कूल घरधुरी ९ सय ८७ छ । तीमध्ये चालू आर्थिक वर्षमा ७० प्रतिशत घरमा जस्ताको छानो बनाउने योजना नगरपालिकाले बनाएको थियो ।

यस वर्ष बनिसक्नुपर्ने ६ सय ९१ घरधुरीमा हालसम्म २ सय ४० घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए । नगरपालिकाबाट जस्तापाता पाएका जैमिनीवासीले घरको मर्मतसमेत गरेका छन् । वडा कार्यालयको सिफारिशमा लाभग्राहीलाई घरको आकारअनुसार प्रतिघर १८ देखि बढीमा ६६ पातासम्म जस्तापाता उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

गत वर्षदेखि सुरु भएको कार्यक्रम आगामी आवमा सबै घरमा जस्तापाता लगाएर सकिने नगरपालिकाले जनाएको छ । ‘नागरिकको सुरक्षित आवास हाम्रो दायित्व हो’, नगरप्रमुख पौडेलले भने,‘हामीले सुकुम्बासीका लागि घर बनाउने रकमसमेत दिएका छौ।’ जस्ताको नापअनुसार ५० हजारदेखि ८० हजारसम्मका जस्तापाता उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट