
काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले विद्युतीय पोलको भाडा नतिरेमा इन्टरनेट सेवाका लागि राखिएको अप्टिकल फाइबरको तार काटिदिने चेतावनी दिएको छ।
प्राधिकरणले तार हटाईदिनुका साथै उपकरणहरु समेत निकाल्ने चेतावनी दिएको हो ।
विद्युत प्राधिकरणले आफ्ना विद्युतीय संरचनाहरु प्रयोग गरी तथा ट्रान्समिसन टावरहरुमा जडित अप्टिकल फाइबर भाडामा लिएर टेलिफोन/इन्टरनेट सेवा संचालन गर्ने सेवा प्रदायकहरुलाई भाडा रकम तिर्न र सम्झौता गर्न आउनका लागि आव्हान गरेको छ।
विद्युत प्राधिकरणले सम्झौता नगरी विद्युतीय संरचनाहरु प्रयोग गरिरहेको केहि सेवा प्रदायकहरुले विद्युतीय संरचना प्रयोग गरिरहेको भन्दै २०७७ भदौ १ गतेदेखि लागू हुनेगरि परिमार्जित भाडा दरअनुसार सम्झौता गर्न भन्दै नेपाल विद्युत प्राधिकरणबाट एडिएसएस अप्टिकल फाइबर केबुल सेवा सञ्चालन निर्देशिका, २०७३ अनुसार सम्झौता गर्न, नवीकरण गर्न र हालसम्मको बाँकी बक्यौता भुक्तानी गर्न भनेको हो ।
प्राधिकरणको संचालक समितिले २०७७ भदौ ५ गते निर्णय गरेर नयाँ भाडादर लागू गरेको थियो ।
यदि नयाँ सम्झौता नगरी आफ्ना विद्युतीय संरचनाहरुमा जडान गरेको अप्टिकल फाइबर तथा अन्य उपकरणहरु हटाई नियमानुसार कारबाही गर्ने चेतावनी दिएको छ।
यसरी काटिने तार र हटाईने उपकरण कार्यबाट आउने परिणामको जिम्मेबारी सम्बन्धित सेवा प्रदायकले नै लिनुपर्ने विद्युत प्राधिकरणले बताएको छ।
यसअघि नै प्राधिकरणले सेवा प्रदायकहरुलाई बढेको पोलको भाडादरसहित नयाँ सम्झौता गर्नका लागि पत्र पठाएको थियो । सो बढेको पोलको भाडा निकै महँगो भएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले विरोध गर्दै आएका छन् ।