राजनीति

कम्युनिस्टजस्तो लुरे पार्टी कांग्रेस होइनः मोहनबहादुर बस्नेत

काठमाडौं । कम्युनिष्ट जस्तो लुरे पार्टी नेपाली कांग्रेस नभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्पष्ट पारेका छन् । कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकद संघले सोमबार काठमाडौंमा आयोजना गरेको रक्तदान र खेलाडी तथा कलाकार सम्मान कार्यक्रममा पार्टी खेलकुद विभाग प्रमुखसमेत रहेका बस्नेतले भने, ‘कांग्रेसको नेतृत्वमा बनेको संविधान रक्षाका लागि कांग्रेस तयारी अवस्थामा छ । संविधानको रक्षा गर्न कांग्रेस चुनावका लागि तयारी अवस्थामा छ ।’

‘पहिलो संविधानसभामा चार वटा कम्युनिस्टका प्रधानमन्त्रीले संविधान दिन सकेनन् । दोस्रो संविधानसभामा नेपाली कांग्रेस ठूलो पार्टी बन्याे । त्यसपछि तत्कालीन पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बन्यो । उहाँको सरकारले यो संविधान बनाउन सफल भयो । त्यो संविधानमा लेख्नेमा म पनि थिएँ । संविधान लेख्ने मौका पाएँ ।’

नेपाली कांग्रेस ब्यालेट बक्समा विश्वास गर्ने पार्टी भएको हुनाले जतिखेर चुनाव भए पनि हामी निर्वाचनमा जान तयार छौं

उनले चेतावनी शैलीमा भनेका छन्, ‘त्यो संविधानलाई यो वा त्यो बहानामा धरापमा पारेको छ । प्रतिनिधिसभा भङ्ग गरेको छ । प्रतिनिधिसभा भङ्ग गर्ने काम असंवैधानिक हो । अप्रजातान्त्रिक हो । यसले अराजक गतिविधि निम्ताउन सक्ने अवस्था छ ।’

‘नेपाली कांग्रेस संवैधानिक सर्वोच्चतामा विश्वास गर्ने पार्टी, कानूनी राज्यमा विश्वास गर्ने पार्टी हो’, उनले भने, ‘यो मुद्धा सर्वोच्च अदालतमा पुगिसकेको हुनाले हामी सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसको पक्षमा व्यवहारमा लागू गर्न चाहन्छौँ ।’

पूर्वमन्त्री बस्नेतले भने, ‘सर्वोच्च अदालतले चुनाव गराउँछ भने पनि नेपाली कांग्रेस जहिले पनि जनताको मतमा विश्वास गर्ने, ब्यालेट बक्समा विश्वास गर्ने पार्टी भएको हुनाले जतिखेर पनि चुनाव हुन्छ भने, चौवीसै घण्टा कांग्रेस तयार भएर बसेको पार्टी हो । हामी चुनावमा जान्छौँ ।’

‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्छ भने हामी त्यो कुरालाई पनि स्वीकार गर्छौं’, उनले भने, ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःबहाली पनि नगर्ने, चुनावमा जाने अवस्था पनि सिर्जना नगरेर गोलमालको अवस्था सिर्जना गर्‍यो भने नेपाली कांग्रेस आन्दोलनमा जानुपर्ने अवस्था हुन सक्छ । त्यस बेला युवाहरूले अग्रपंक्तिमा लड्नुपर्छ ।’

सामाजिक गतिविधिहरू गर्दै यो देश बनाउन लागेका सबै मान्छेलाई सम्मानित गरेर भूमिका दिएर अगाडि बढ्नुपर्ने सुझाव नेता बस्नेतको थियो । ‘बुढापाकाको सल्लाह र सुझाव लिएर युवाहरूले अझ पसिना बगाउन जरुरत छ’, कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले भने ।

कार्यक्रममा पूर्वसांसद दीपक कुइँकेल, काठमाडौं क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्की, नेपाली कांग्रेस खेलकुद विभाग सचिव एवम् युवा नेता मीनकृष्ण महर्जन, कांग्रेस नेतृ प्रतिमा गौतम, नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशबिक्रम शाहलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा १४० जनाले रक्तदान गरेका थिए । विशेष गरेर युवाहरूले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरूलाई कांग्रेस नेता बस्नेतले धन्यावाद दिएका छन् । कार्यक्रम लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य राजीवजंग बस्नेतको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा खेलाडीहरू सरोज गिरी, जीवन तामाङ्, शशांक कार्की, अशोक खड्का, काजोल श्रेष्ठ, दीपेन्द्र थापा, अस्मिता जुरेली, कुमार चौलागाइँलाई सम्मान गरिएको थियो ।

कलाकारहरू रविन्द्र खड्का, शोभियत बस्नेत, ऋषिराज आचार्य, सुष्मा कार्की, सुशील पोखरेल, सुवास गौतम, पवन गिरी, शिशिर भण्डारी, दीपक आचार्य, भीमाञ्चलदरी राई, मुकुन्द थापालाई सम्मान गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *