पत्रपत्रिकाबाट

चार किलोमिटर टाढाकि दुलहि लिन हेलिकोप्टर चार्टर्ड !

सिरहा । आइतबार सिरहाको अर्नामा गाउँपालिका–२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो। यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्। यसै गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेर आएका थिए।

भीड दुलाहा हेर्न नभई हेलिकोप्टर हेर्न जम्मा भएको थियो। उत्साहित स्थानीयले लहलहाउँदो मसुरोको परवाहै नगरी हेलिकोप्टर अवतरणको अनुमति दिए। आइतबार दुलाहा दिनेशसहित बेहुला पक्षका पाँचजना चढेको हेलिकोप्टर मसुरोको खेतमा अवतरण भयो र सोही दिन राति दिनेशसँग ब्रह्मपुरीकी सपना यादव वैवाहिक जीवनमा बाँधिइन्। वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दिनेशले दुलही सपनालाई सोमबार दिउँसो ४ बजे कैलाश हेलिकोप्टर सर्भिसेजकै हेलिकोप्टर चढाएर लट्टाटोल लगेका हुन्।

अर्नामा गाउँपालिकामा हेलिकोप्टर चार्टर्ड गर्ने दिनेश पहिलो व्यक्ति हुन्। दुलाहा दिनेश र उनका बुवा रामविलाससहित पाँचजना जन्ती हेलिकोप्टरमा आएका थिए। पेसाले किसान रामविलासका एक्ला छोरा हुन् दिनेश। उनी पेसाले मेडिकल प्रतिनिधि हुन्। किसान भए पनि एक्ला छोराको विवाह सोखले गर्ने रामविलासको रहर थियो। सोख पूरा गर्न हेलिकोप्टरबाट छोराको जन्ती ल्याएको उनले बताए। छोरासहित जन्तीलाई हेलिकोप्टरमा चार्टर्ड गरेर बेहुलीको घर पुग्दा गाउँसहरमा चर्चा व्यापक भएको छ। ‘चर्चा बढेपछि त सान पनि बढ्ने नै भयो, गाउँमा सान बढेपछि अरू के नै चाहिन्छ र। गाउँले किसानको छोराको जन्ती हेलिकोप्टरमा जानु चानचुने कुरै भएन,’ स्थानीय सञ्जीव यादव भन्छन्, ‘यस गाउँमा आएको हेलिकोप्टरका जन्तीको चर्चा फैलिँदैछ। मधेसी समाजमा सानका लागि पनि धेरै काम हुँदा रहेछन्। हैसियत प्रदर्शन गर्न मानिस रथ, महँगा कारमा जन्ती आउँछन्। रामविलासले ती सबैभन्दा एक कदमअगाडि हेलिकोप्टरमा छोराको जन्ती ल्याए।’
दुलाहा दिनेश र दुलही सपनाको घरको दूरी मुस्किलले चार किलोमिटर छ। एउटा चौरी पार गरेपछि दुलाहाको घर पुगिन्छ।

आजको नागरिक दैनिकमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट