धर्म/सस्कृति

“एकमात्र” पुस्तक आध्यात्मिक दर्शन र वशुधैव कुटुम्वकमा लेखिएको छ

आध्यात्मिक चिन्तन, हिन्दु सनातनी धर्म, साहित्य र परम्परागत पुर्वीय दर्शनको मान्यतालाई आफ्ना रचना/पुस्तकमा स्थापित गर्ने हरिभक्त सिग्देल ‘महेश’ले ४२ वटा कृति नेपाली धर्म साहित्यको भकारीमा भण्डारण गरिसकेका छन् । विशेषत : संस्कृतमा लेखिएका धार्मिक ग्रन्थहरुलाई नेपालीमा रुपान्तरण गरी धर्मसंस्कृतिप्रति आस्थावान पाठकहरुको मन जित्दै आएका उनी वास्तविक शान्ति, वास्तविक अध्यात्मको अर्थ खोजीमा लागेका आस्थिक व्यक्ति हुन् । जीवनबृत्तीका सिलसिलामा रिटायर्ड उमेरमा पनि राजधानीस्थित एक अस्पतालको म्यानेजमेण्ट सम्हालिरहेका उनी युवावयमा जस्तै उर्जावान र क्रियाशील छन् । उनले विभिन्न धर्मको सार एकै भएको कुरालाई प्रमाणित गर्ने हेतुले प्रकाशन गरी विमोचन गर्न लागेको एकमात्र शीर्षकको आध्यात्मिक चिन्तन संग्रहका बारे  संकल्प खबरद्वारा उनीसँग गरिएको कुराकानी : 

तपाईंको विमोचनउन्मुख आध्यात्मिक चिन्तन संग्रहको शीर्षक “एकमात्र” राखिनुले “अरुको केही छैन, अरुको अस्तित्व स्वीकारिन्न” वा “यो मात्र हो अरु केही हैन” भन्न खोज्नु भएको हो ?

बिल्कुल हैन, ठीक त्यसको विपरीत सबैको धर्महरुलाई सम्मानका साथ स्विकारिन्छ, श्रद्धा गरिन्छ, सबै धर्म धर्म, धार्मिक परम्परा र मान्यता उत्कृष्ट छन्।  सबै धर्महरुले पुर्याउने गन्तव्य सबैको लक्ष्य एकमात्र “एकमात्र’ हो भन्ने नै हो ।

साहित्य लेखनमा विविध दर्शन र चिन्तनका प्रयोग हुने गरेका छन् । तपाईको “एकमात्र” पुस्तक कुन दर्शन र चिन्तनमा आधारित छ ? यसमा समेटिएका विषयवस्तु कस्ता छन् ?

मेरो प्रकाशोन्मुख एकमात्र पुस्तक आध्यात्मिक दर्शन र वशुधैवकुटुम्वकमा लेखिएको छ । यसमा समेटिएका विषयहरुमा प्रमुखतः वुद्ध, क्रिश्चियन, इस्लाम, हिन्दु साथै विविध धर्महरु समेतले सदमार्ग निर्देशन गरेका छन् । बीचमा केही अगुवाहरुले अपव्यख्या गर्दा आएका कमी कमजोरी हटाएर धर्मसमन्वयको माध्यमले विश्व भ्रातृत्व मानव जीवन र मूल्यमान्यताको माध्यमले आपसी भाइचाराको विकास र परम् शान्ति एवं सुख प्राप्त गर्नु गराउनु नै हो ।

सबै धर्मको मर्म एकै हो भन्नु नै एकमात्रको ध्येय हो त ? धार्मिक विविधता र फरक फरक प्रकृयाबाट पुगिने लक्ष्य एकै हो भन्ने कसरी पाउनुभयो ?

सबै धर्महरुको उदेश्य एकै हो, लक्ष्य एउटै हो, त्यसैले सबैलाई एकै ठाउँमा संग्रहित गरी मानव–मानव बीचमा पारस्परिक सद्भाव र सहकार्यबाट सुख सम्वृद्धि प्राप्त गर्दै परमशान्ति, अत्याधिक सुख, अक्षय आनन्द वा मुक्त सबै धर्महरुको लक्ष्य हो । मैले वेद, उपनिषद्, गीता, पुराण, धम्मपद, त्रिपिटकहरु, कुरान, वाइवल र अन्य धर्महरुका सम्बन्धमा समेत अध्ययन गर्दा प्रथमतः आशाहरुको परिपूर्ति र त्रासको निवारण साथै सुख आनन्दको खोजीका लागि नै धर्म र देवताहरुले मान्यता पाएको देखिन्छ । यसरी ईश्वर र धर्म सम्बन्धमा अध्ययन गर्दै जाँदा निष्कर्षमा पुगेको हुँ ।

धर्म, संस्कृति, अध्यात्मा र चिन्तनप्रति नै किन रुचि राख्नुभयो ?

मानिस सामाजिक प्राणी हो ।मानिस विश्वको कुनै पनि कुनामा जन्मिएको किन नहोस्, उसलाई कुनै न कुनै धर्म र संस्कृतिले जन्मजातै प्रभाव पारेकै हुन्छ, अध्यात्म भनेको प्रत्येक प्राणीका लागि शान्तिपूर्ण अग्रगमनको मार्गदर्शक, पथप्रदर्शक सिद्धान्त हो । त्यसैमा पहिलेका दुई धर्म र संस्कृती स्वतः भोग्दै अनुभव गर्दै व्यवहारमा ल्याउँदा वुद्धि र विवेकले परिस्कृत गराउने विषय हो, साथै यो त्रिवेणी मानिसको जीवनमा अभिन्न अङ्गका रूपमा रहेता पनि सुसुप्त, जागृत र विकसित रुपमा रहेको देखिन्छ । यसैको विकसित अवस्थासम्म पुग्न व्यक्ति, समाज र राष्ट्र अनि विश्वमै परिवर्तन आउँछ । त्यसैले मेरो रुची यसप्रति जागेको हो ।

आफ्नै पेसा व्यवसायमा व्यस्त हुँदाहूँदै पनि धर्म, दर्शन अध्यात्म र साहित्यमा संलग्न रहनु भएको छ र करिब ४ दर्जन पुस्तक लेखिसक्नु भएको छ । कुन समयमा सिर्जना गर्नुहुन्छ ?

हाल, म चौबीसै घण्टा तैनाथ रहनुपर्ने स्वास्थ्य सेवामा संलग्न रहेता पनि ममा खास व्यसनहरु छैनन्, धुम्रपान गर्ने, मादक पदार्थ सेवन गर्ने, तास जुवा खेल्ने, अनि राजनितिमा पनि प्रत्यक्ष रुपले संलग्न छैन । त्यसैले गर्दा म फुर्सदको समय पठन र लेखनमा नै बिताउछु । साँझ बिहान फुर्सद भए पछि लेखि हाल्ने बानी छ । अर्को खराब पक्ष पुस्तक भेटे पछि नसकि विश्राम लिन्न र लेख्न थाले पछि नसकि छाड्दिन ।

आजकल बजारलाई हेरेर सिर्जना छापिने र लेखिने गरेको छ । अहिलेको बजारले रुचाउला त यो विषय ?

यसमा मेरो उदेश्य र विषय फरक छ । मैले मेरा जीवनमा बजारको उदेश्यले लेखेको छैन । मेरा पुस्तकहरु www.haribhaktasigdel.com मा निःशुल्क पढन, डाउनलोड गर्न मिल्ने गरी राखेको छु । मेरो उदेश्य हो :प्रतियोगितालाई यो हैन न विज्ञ बन्नलाई हो । केवल नेपाली बुझ्नेलाई अमृतै तुल्य यो बनोस् ।

तपाई आफैंलाई घत लागेका विषय के छन् एकमात्रमा ?

एकमात्रको सारांश सबै धर्ममा ईश्वर सर्वशक्तिमान छन्, अदृश्य छन्, एकमात्र छन् भन्ने नै हो । त्यसमा पनि अलिकति अहंकार मेरै धर्म ठूलो भन्ने भावना बोकेकाहरु मनले स्विकारेर पनि सार्वजनिक गर्न चाहँदैनन्, यो सास्वत सत्यलाई । कतिपय बाबा, पण्डितहरुको अपराध, तस्करी, राजनीति र दुस्कृति गर्ने हतियार पवित्र धर्म र ईश्वरलाई बनाएको हुनाले पनि यो एकमात्र र सबै धर्म सुन्दर र सत्य छन् । एकमात्र ईश्वरका नाम गाम ठाम अनुसार फरक दिइएको हो भन्ने छ । तर धर्मका माथिल्लो स्तरमा पुगी सकेकाहरुको सोचमा भने एकमत छ सत्य एकमात्र हो, एकमात्र छ । यहि सास्वत सत्यलाई विश्व जनसमुदाय समक्ष पस्कनु त्यो पनि एउटै कृति मार्फत मेरो उदेश्य हो ।

नेपाली साहित्यका पाठकले “एकमात्र’ किन पढ्ने ? यो कृतिबाट पाठकले के खुराक पाउँछ त ?

ईश्वर र धर्म दुबै कुरामा यो वा ऊ भनेर छुट्याउन नसकि अलमल्ल परेकाहरुलाई आ-आफ्ना धर्म र ईश्वरलाई मान्दै अरूले मानेका धर्म र ईश्वर प्रति पनि सम्झना गर्दै लागि पर्दा अन्तमा द्विविधा हटि एकमात्र परम सत्य स्वरूप, पाउन सकिन्छ भन्ने कुरालाई सहज बनाउने कार्यमा यो एकमात्र कृति साहायक सिद्ध हुनेछ भन्ने विश्वास लिएको छु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *