रिबन

निर्वाचन हुने टुंगो छैन, २५ करोड बराबरको चुनावी सामग्री किन्दै निर्वाचन आयोग

काठमाडौं । सरकारले वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेको छ । तर, सत्तारुढ नेकपा विभाजित भएको अवस्था र नेकपा विवाद टुंगो लाग्न सकेको छैन ।

त्यस्तै, प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले आफ्नो फैसला सुनाइसकेको छैन । सर्वोच्चको फैसला कुरेर बसेको आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावी सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ ।

आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि मंगलबार बोलपत्र आह्वान गरेको हो । प्रधानमन्त्री केपी ओलीको दबाबमा आयोगले चुनावी सामग्री खरिद गर्न लागेको हो ।

बोलपत्रदाताहरुले आजदेखि १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *